७ कार्तिक २०७८, आईतवार

सहकारीमा कोभिड–१९ ले पारेका प्रभावहरु

३ भाद्र २०७७, बुधबार
सहकारीमा कोभिड–१९ ले पारेका प्रभावहरु

मोहनबहादुर कडेल

सहकारी शब्द यति लोकप्रिय भैसकेको छ कि यो हरेक व्यक्ति र उसको जीवन पद्धतिसँग गाँसिएको छ । तर यसको अवधारणा र परिभाषा सम्बन्धी ज्ञानको तहमा भने व्यापकता पाइदैन् । सामान्य अर्थमा सदस्यको हैसियत बनाएका व्यक्ति तथा समुदायको विकाससँग सम्बन्धित संस्थालाई सहकारी भनिन्छ । सहकारी भनेको के हो ? भन्ने सन्दर्भमा विद्धान् हेनरी क्यालभर्टले समान आर्थिक चाहनाको प्रवद्र्धनका लागि व्यक्तिहरु स्वैच्छिक रुपमा मानवीय हिसावले एक आपसमा सम्बन्धित भएको सङ्गठनलाई नै सहकारी मानेका छन् । त्यसैगरी अर्का विद्धान् सी.एफ्.स्ट्रिकलेन्डले सहकारीले इमान्दारितापूर्वक व्यक्तिहरुले साझा आर्थिक उद्देश्य प्राप्तिका लागि तयार गरिएको सङ्गठन जनाउने धारणा व्यक्त गरेका छन् । सहकारी स्वच्छ सामूहिक भावनाबाट संगठित संस्था हो । यसमा समान उद्देश्य, चाहना, आवश्यकता तथा इच्छा भएका मानिसहरु सदस्यको रुपमा रहन्छन् । सहकारीको सदस्यता प्राप्त गर्नका लागि धार्मिक, राजनैतिक, जातिगत र भाषिक आदि कुनै पनि प्रकारको विविधताले असर पार्दैन । आफ्नो दैनिक जीवनमा आइपर्ने आवश्यकताहरुको परिपूर्ति एक्लैले पूरा गर्न कठिनाई पर्ने भएकाले समूहमा रही क्रियाशिल रहन्छन् र आफ्नो समस्या समाधान गर्दछन् । यो समान आर्थिक तथा सामाजिक उद्देश्यहरु भएका व्यक्तिहरुको सहकार्यबाट स्थापित साझा संस्था हो । सहकारी संस्थाको उद्देश्यहरुमा समानता र विविधता दुवै पाइन्छ ।

वी.पी. कोइरालाका अनुसार असजिला परिस्थितिहरुमा कतैबाट पनि सहयोग नपाएको खण्डमा एक्लै निर्णय लिनुपर्ने हुन्छ । सहकारीमा भने सबै सदस्यहरुलाई निर्णय निर्माण प्रक्रियामा आफ्नो विचार, भावना तथा सुझाव राख्ने अधिकार रहन्छ । सहकारी संस्थामा प्रजातान्त्रिक मूल्य मान्यता, व्यवहार र आचरणको भरपुर अभ्यास गरिने भएकाले सामाजिक न्याय सुरक्षित रहन्छ । सहकारी ऐन, नियमावली, विनियम र आधारभूत प्रचलित सिद्धान्तहरुको सीमाभित्र रही सदस्यहरु पारस्परिक सहकार्यका लागि एकजुट हुन्छन् । यसले विशेष गरेर सदस्यहरुको आर्थिक, सामाजिक तथा मानसिक सक्षमतामा वृद्धि तथा सुधार गर्ने उद्देश्य राखेको हुन्छ । साथै यसले सामुदायिक उत्तरदायित्व अन्तर्गत समाज कल्याण र विकासका कार्यमा पनि महत्वपूर्ण योगदान पु–याउन सक्दछ । व्यक्तिगत रुपमा आफ्नो आवश्यकता पूरा गर्न नसक्ने, विभिन्न किसिमका शोषणबाट मुक्त हुन चाहने र आफ्नो जीवनस्तर सहकारिताको माध्यमबाट उकास्न इच्छुक व्यक्तिहरुका लागि सहकारी उपयोगी सिद्ध छ ।

नेपाल कृषिप्रधान देश हो । किसानहरु जीवनलाई प्रभाव पार्ने र त्यससँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने आवश्यकताहरु आफँै पूरा गर्न सक्ने अवस्थामा छैनन् । वर्तमानमा उनीहरुले आफ्नो आर्थिक तथा सामाजिक समस्याहरुको समाधान गर्न सक्ने सीप, क्षमता, दक्षता र हैसियत स्वयंले बढाउन नसकेको स्थिति देखिन्छ । त्यसैगरी समाजका अन्य मानिसहरु पनि विभिन्न पेशा, व्यवसाय र रोजगारमा क्रियाशिल छन् । तर उनीहरु पनि आफ्नो पेशा तथा व्यवसायबाट सन्तुष्टि लिन सकेका छैनन् । यसको अर्थ उनीहरुको पनि आफ्नै किसिमको आवश्यकता, चाहना र साझा उद्देश्यहरु रहेका छन्, जुन पूरा भै राखेको अवस्था छैन् । कूल वित्तिय क्षेत्रमा सहकारीको हिस्सा करिब २० प्रतिशत रहेको छ । यस्तो परिवेशमा सहकारी उनीहरुको जीवन धान्नको लागि महत्वपूर्ण आधारको रुपमा रहन सक्दछ । सहकारीको उक्त योगदानलाई नै ख्याल गरेर नेपालको संविधान २०७२ को भाग ४, धारा ५० को निर्देशक सिद्धान्त अन्तर्गत उपधारा ३ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिकतम परिचालनद्धारा तीब्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने उल्लेख गरिएको छ ।

सर्वप्रथम बेलायतबाट सुरु भएको सहकारी अभियान अहिले विश्वव्यापी बनिसकेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख देशका लागि यो वरदान सावित भएको छ । तथ्याङ्क अनुसार हाल नेपालमा ३५ हजार ७ सय प्रारम्भिक सहकारी संस्था रहेका छन् । विश्वका हरेक देशले आफ्नो परिवेश अनुसार सहकारी ऐन नियमको निर्माण गरी कार्यान्वयन गर्ने गरेको पाइन्छ । नेपालमा पनि सहकारी ऐन नियमावली तर्जुमा गरिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन र सहकारीकोे महत्वबोध ग्रामीण क्षेत्रका मानिसहरु सम्म अझै व्यापक रुपमा पु–याउन र बुझाउन सकिएको छैन् ।

सहकारी क्षेत्रमा एकातिर सदस्यहरुमा तालिम र सहकारी शिक्षाको अभाव, सहकारी संस्थाबीचको देखावटी सम्बन्ध, सहकारी ऐन र नीतिको फितलो कार्यावयन, चुस्त नेत्तृत्व र व्यवस्थापनमा समस्या, व्यावसायिक कार्यमा लगानी कम, वित्तिय जोखिमका लागि कोषको व्यवस्था नहुनु, सञ्चालकले प्रर्याप्त समय दिन नसक्नु र सहकारीमा अनुसन्धानको अभाव जस्ता सहकारी विकासमा थुप्रै समस्याहरु श्रृजना भएका छन् भने अर्कातिर सहकारी क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी रुपमा पारेका प्रभावबाट समाजको अन्य पक्ष जस्तै सहकारी संस्थाहरु पनि अछुतो रहन सकेको छैन् । कोरोना नियन्त्रण, स्वास्थ्य सुरक्षा र सतर्कताका लागि लामो समयदेखि भएको लकडाउनको कारण सहकारी संस्थाहरु पनि बन्द भएको छ । सदस्यहरुलाई अपेक्षित रुपमा सेवा प्रदान गर्न सकिएको अवस्था छैन् । यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव सहकारीका सदस्यहरुलाई मात्र नभई सम्पूर्ण व्यक्ति, समाज र राष्ट्रका सबै पक्षलाई परेको छ । जसले गर्दा मनो–सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा अझ समस्यालाई बढाएको छ ।

अहिले सदस्यहरुको आर्थिक क्रियाकलाप र आयश्रोतको बाटो रोकिएको छ । उनीहरुको आफ्नो कृषि, उघोगधन्दा, व्यवसाय, पेशा, व्यापार र रोजगार कोराना संक्रमणकोे कारण बन्द भएको छ । कुनै पनि सहकारी संस्थाको आम्दानीको स्रोत भनेको सदस्यहरुको नियमित बचत हो । नियमित बचत नै रोकिएको अवस्था छ । सहकारी संस्था सधैँ आम सदस्यहरुको सामाजिक तथा आर्थिक सुधार र विकासका लागि वित्तिय र अन्य आवश्यकतानुसारको परामर्श सेवा प्रदान गर्न क्रियाशिल हुन्छ र छ पनि । तर हाम्रो जस्तो देशमा बसोवास गर्ने अधिकाँश मानिसहरुको आर्थिक अवस्था कमजोर छ । त्यसैले पनि यो संक्रमणमा सदस्यहरुबाट सहकारीमा आवश्यकता बमोजिम पुँजी निर्माण गर्नको सट्टा बचत फिर्ता वा क्रृणको माग बढेको छ । संकटजन्य परिस्थितिमा यो स्वाभाविक पनि हो । यो विषम परिस्थिति र प्राकृतिक विपत्तिमा आफ्ना सदस्यहरुको सेवा गर्नु संस्थाको मुख्य दायित्व हो । तापनि यसले संस्थाको आर्थिक कारोवार नियमित र त्यसको वैज्ञानिक व्यवस्थापन सन्तुलित रुपले गर्न कठिन भएको छ । पुँजीको अभावले सदस्यहरुको चाहना अनुसार आर्थिक लगानी वृद्धि गर्न कठिनाइ रहेकोे स्थिति छ ।
बन्दाबन्दीको यो अवस्थामा सहकारीले आफ्नो नियमित कार्यक्रम सुचारु रुपले सञ्चालनमा ल्याउन सकिराखेको छैन् । यसले सहकारी संस्थाको निर्धारित लक्ष्य तथा उद्देश्यहरु प्राप्ति गर्न अवरोध श्रृजना गरेको छ । संक्रमणको मात्रा दिनप्रति दिन बढ्दा सहकारी व्यवस्थापनमा आएको जटिलताले सदस्यहरुलाई दैनिक कारोवारमा सेवा दिन अप्ठयारो परेको छ । स्वास्थ्य सुरक्षाको कारण दैनिक कार्यालय सञ्चालनमा कर्मचारीको मनोबल खस्कदो छ । सदस्यहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको बजारीकरणमा समस्या छ । कतिपय संस्थाले लगानी गरेको ऋणको साँवा व्याज निर्धारित समयभित्र उठ्न सकिराखेको छैन् । केही संस्थाहरुको गैर जिम्मेवारीपूर्ण भूमिकाले समग्र सहकारी संस्थाको विश्वसनियता माथि प्रश्न चिन्ह खडा भएको छ । संस्थामा तरलता व्यवस्थापन गर्न नसक्दा संस्था बन्द गर्नुपर्ने अन्यौलताको स्थिति सृजना भएको छ । संस्थागत सुशासन स्थापित गर्न सकिएको छैन् । सहकारी संस्थाहरुबीच बारम्बार समन्वय नहुँदा समान प्रकृतिका समस्याहरु समाधान गर्न र आवश्यक सहकार्य र सूचना आदानप्रदानमा अभाव महसुस भएको छ । यत्तिखेर विश्व मानव जगत् नै कोरोना संक्रमण विरुद्ध लडिरहेको छ । हरेक व्यक्तिले आफुलाई पिडितको रुपमा लिनु भन्दा नि कोरोनामुक्त विश्वको महा अभियानमा जुट्नु नै बुद्धिमानी देखिन्छ । कष्ट सहँदा नै हामीलाई अनुभव हुन्छ र अझ बढी पीडा भयो भने तब म अझ बढी सिक्न ज्ञान हासिल गर्न सक्छु भन्ने महात्मा गान्धीको विचारलाई आत्मसाथ गरी आफैँलाई हौसला र आत्मबल बढाउन जरुरी छ । वेदव्यासले भने झैं विपत्ति आएको बेलामा आफ्नो रक्षाको लागि मानिसले आफ्नो छिमेकी शत्रु नै भए पनि मेलमिलाप गर्नुपर्छ ।

निष्कर्षमा कोरोना महामारीको यस अवस्थामा संयमतापूर्वक सबैले स्वास्थ्य सावधानी अपनाउनु र आ–आफ्नो कर्तव्य निर्वाह गर्नु बाहेक अर्को विकल्प छैन् । साथै यो दुःख र स्वास्थ्य संकटमा हाम्रा भूमिकाहरुलाई सृजनशील र परिणाममुखी बनाउनु जरुरी छ । सेवालाई नै मानवीय दायित्व ठानी सकारात्मक रुपले अगाडी बढ्नुपर्दछ । जसले गर्दा वर्तमान स्वास्थ्य संकट, प्राकृतिक प्रकोप (वाढी, पहिरो, डुवान) आदि विपत्तिबाट बच्न आत्मबल प्राप्त गर्न सकिन्छ । संस्था र सदस्यहरुले समझदारीपूर्ण रुपले आफ्नो उत्तरदायित्व वहन गर्नु नै उत्तम उपाय हो । यस समय सहकारीहरुले आफ्ना सदस्यहरुमा रहेको डर, भय, त्रास र तनाव हटाउन र स्वास्थ्य सुरक्षाको उपायहरु अवलम्बन गर्न सदस्यहरुको मनोबल उच्च बनाउन सहयोग गर्न सक्नुपर्दछ । यसका लागि विभिन्न माध्यम (टेलिफोन संपर्क, सन्देश/सूचना प्रवाह, मनोसामाजिक परामर्श, पत्राचार) हरुको सहयोग लिन सकिन्छ । यो संक्रमणमा संस्था र सदस्यहरुबीचको आपसी सहकार्य र समन्वयबाट नै व्यक्तिगत तथा सामूहिक समस्या समाधान गर्ने प्रयास गर्नु सकारात्मक चिन्तनमा आधारित कार्य हो । सहकारिताको भावनाले व्यक्ति र समुदायमा खुशी, शान्ति, समृद्धि र सबै खालको सम्पन्नता अनुभूति गर्न पाउनु नै सहकारीको सुन्दर पक्ष हो । खुशी रहँदा नै कोरोना विरुद्ध लड्न सक्ने क्षमता प्राप्त गर्न सकिन्छ । सहकारीमा देखिएको प्रभावलाई न्यूनीकरण गर्न वर्तमानमा देखिएका चुनौतिलाई अवसरको रुपमा ग्रहण गरी सहकारी अभियानमा निरन्तर अगाडि बढ्नु पर्दछ । तर यसका निमित्त सहकारी संस्था, सञ्चालक, सहकारीकर्मी, सेयर सदस्य र सम्बन्धित सरोकारवाला संघ-संस्थाहरुको सकारात्मक सोच, जिम्मेवारीपूर्ण व्यवहार र सामुदायिक उत्तरदायित्वको खाँचो देखिन्छ ।

अभिलेख

लोकप्रिय