१६ जेठ २०८३, शनिवार

कार्यक्षेत्र भित्र रहेका घरको धुरीबाट धुवाँ आएको छ की छैन हेर्ने मुख्य काम सहकारी कै हो

२०७७ चैत १६, सोमबार
कार्यक्षेत्र भित्र रहेका घरको धुरीबाट धुवाँ आएको छ की छैन हेर्ने मुख्य काम सहकारी कै हो

शिव अधिकारी

अलि पुरानो कुरा स्मरण गर्न चाहन्छु । विषय हो, एशियाली ऋण महासंघ बैंकक, थाईल्याण्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रन्जित हिताराचीले केही वर्ष अघि एशियालाई गरिबको घर भनिन्छ भनेर आफ्नो प्रस्तुती गर्नु भएको अहिले जस्तो लाग्छ । अव हामी त्यही भनेर बस्नेभन्दा पनि ति गरिबको घर, टहरामा चुल्हो बालेर ति घर, टहराका धुरीबाट धुवाँ निकाल्ने काममा लाग्नुपर्दछ । त्यो काम सहकारीले नै गर्नुपर्दछ । यदी सहकारीले त्यो काम गर्न सकेन् भने सरकारी निकाय वा अन्य कुनै संघ/संस्थाले कुनै हालतमा पनि गर्न सक्दैन भन्ने बिषयमा दुईमत नै छैन ।

नेपालको परिप्रेक्ष्यमा भन्नु पर्दा करिब ४५ लाख घरधुरी रहेकोमा जसमध्ये १५ लाख जति गरिबको घरधुरी रहेको छ । अब त्यो गरिब र दुःखी घर परिवारलाई खुशी र सुखी परिवार बनाउने काम पनि सहकारी कै हो । सहकारीले नै गर्दै आईरहेको छ र अझै सहकारी संघ/संस्थाले बिशेष कार्यक्रम र अटुट अभियानका साथ यस महान् कार्यमा लाग्नुपर्दछ ।

भनिन्छ, गरिबको लागि महिना मर्दैन । वास्तवमा हो पनि । महिना ती व्याक्तिको मर्दछ जसको मासिक आयश्रोत वा कुनै बन्द व्यापार र उद्मम व्यवसाय छ । जसको नियमित आयश्रोत केही पनि छैन भने त्यो तह तप्कालाई १ गते आएपनि के ?, १५ गते आए पनि के ?, ३० गते आए पनि के ?, कौवालाई बेल पाकेर हर्ष न बिस्मात भनेको जस्ताो । त्यही भएर हामी सहकारीका सञ्चालक एवं व्यवस्थापनले आफ्नो कार्यक्षेत्रमा त्यस्ता तह र तप्काका व्यक्तिहरुको पहिचान गर्नुपर्दछ । अर्थात् यसलाई यसरी पनि बुझ्दा राम्रो हुन्छ । उदाहरणको लागिः हाम्रो कार्यक्षेत्रको एकजना श्रमिकले एउटा पसलमा लगेर दाऊरा बेचेर रु २ सय हातमा पार्यो भने तत्कालै रु २० भएपनि छिमेकी संस्थामा लगेर बचत गराई हाल्ने वातावरण तय गर्नुपर्दछ । किनभने उहाँको हातमा परेको त्यो रकम भोलीको लागि रहन एकदमै मुस्किल हुन्छ । त्यही पैसाले साँझ घर, परिवार बाल बच्चालाई खाद्यान्न लगायत किनमेल गरेर खुवाऊनु उहाँको मुख्य कर्तव्य हुन्छ । फेरी भोली बिहान उठ्यो कामको चक्कर त्यहीनै हुन्छ । गरिब न्यून आय र विपन्न वर्गमा सेवा पु¥याऊन धेरै सहकारी संस्थाले आफ्नै किसिमको रणनीति तय गरी अगाडी बढेका छन् र सो किसिमको नीति नबनाएको संस्थाले पनि बनाऊनु पर्दछ । गरिब न्यून आय र विपन्न वर्गका लागि आर्थिक सशक्तिकरण लगायतका कार्यक्रमहरुलाई जोड नदिई, हुने खाने माँझमा मात्र सेवा विस्तार गर्न वा फैलाउन थालियो भने सहकारीलाई साहुकारी मात्र होईन त्यस किसिमका धेरै आक्षेप आउँछन् । त्यस्ता आक्षेपका कारण समग्र सहकारी अभियानमा नै कालो बादलको मुस्लोले घेरेको अनुभुत हुन्छ । तसर्थ त्यस बखत यति कार्यक्षेत्र विस्तार गरियो, यतिवटा सेवाकेन्द्र पुर्याईयो, संस्थाको यस्तो घर छ, यतिवटा संस्थाहरु एकिकरण गरेर यति पुँजी र सदस्य बनाईयो, संस्थामा यस्तो प्रविधि विकास गरिएको छ, यतिजना कर्मचारी छन् भनेर कुरा गर्नुको अर्थ हुने छैन ।

केही समय अघिको प्रकाशित लेखमा बिदेशको कुनै एक देशमा पहिला ऋण दिएर तत्पश्चात सदस्य बनाएको बिषय उत्खनन गरेको थिँए । त्यस बिषयमा मलाई मेरो ईमेल र फोनमार्फत पनि धेरै जिज्ञासा राखियो । ज–जसले जिज्ञासा राख्नुभयो उहाँहरु प्रति आभार व्यक्त गर्दै यस विषयमा असल अभ्यास के थियो भन्दा सहकारी संस्थाहरु गरिब वस्तिमा पुग्ने अनि उनहिरुलाई शसक्तिकरणको पाठ लगायत उद्ममी विकास सम्बन्धी तालिम सञ्चालन गर्ने कसले के काम गर्न सक्दछ, त्यो विषयमा तालिम, दक्षता र अनुभव साथै उत्पादित सामानकोे बजार व्यवस्थापन के छ ?, त्यो सबै बुझ्ने तत्पश्चात संस्थाले परामर्श पनि दिने अनि संस्थाले उहाँको नाममा संस्थाबाट नै ऋण स्वीकृती गराउने, तत्पश्चात एक थान शेयर खरिद गराई एक, दुई महिनाको नियमित बचत पनि जम्मा गराउन लगाउने र बाँकी रकम निजले गर्न खोजेको उद्यम व्यवसायको लागि लगानी गरी ती सदस्यहरुको आर्थिक, सामाजिक लगायतको सशक्तिकरणमा मुख्य टेवा पुर्याएको पाईएको थियो । हुनत हाम्रो देशमा सहकारीले गैह्र सदस्यसँग कुनैपनि आर्थिक कारोबार गर्न पाईदैन भन्ने नै छ । तथापी गरिब, न्यूनआय र विपन्न वर्गलाई अत्यन्तै न्यून शुल्क र रकममा सदस्यता प्रदान गर्ने बचत गर्न सिकाउने, ऋणको सही सदुपयोग गरी आय आर्जन गर्ने तरिका सिकाउने, सदस्य बिमा कार्यक्रममा सहभागीता गराउने विभिन्न तालिमहरुमा सहभागिता गराई सशक्तिकरणको विकास लगायतका वातावरण तय गर्नुपर्ने हुन्छ ।

सहकारी लघुवित्तको सार पनि यही नै हो कि ‘गरिबले पनि बचत गर्न सक्दछ, अवसर पाएको छैनन् त्यो अवसर सहकारी संस्थाले दिनु पर्दछ ।’

अब अर्को समस्या सहकारीमा नै दक्ष जनशक्ति र सञ्चालकहरु नभएको अवस्थामा त्यसतर्फ विभिन्न सम्बन्धीत निकायहरुबाट उक्त संस्थालाई सक्षम संस्था बनाउन आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ ।

बि.सं २०६० सालमा मैले निलकण्ठ, धादिङमा चेपाङहरु सदस्य रहेको चेपाङ साकोसका कोषाध्यक्ष जुठे प्रजालाई भेटेको थिँए । उहाँको संस्था धादिङको दुर्गम गाँऊमा थियो । उहाँ किनमेल गर्न आएको बेला भेट्ने अवसर मिल्यो । जुठे दाईसँग सहकारीकै विषयलाई लिएर कुराकानी गरेर बिहान बिताँए । उहाँले भन्नुभएको थियो, ‘हामीले बचत गरेका छौं सर ।’, अनि मैले सोधे किन बचत जम्मा गर्नु भएको ?, उहाँको थप भन्नुभयो, ‘बचत भनेको बढ्दै जाने धन र घट्दै जाने उमेर हो । त्यही भएर बचत गर्न सुरु गरियो ।’ तसर्थ जुठे दाई जस्ताको भावना बुझ्नु सहकारी अभियान्ताहरुको मुख्य कर्तव्य भित्र पर्दछ ।

उक्त संस्थामा सबैभन्दा बढी पढेको जुठे दाईनै हुनुहुन्छ । उहाँको शैक्षिक योग्यता थियो कक्षा ५ उर्तिण । मैले १—२ वर्ष उक्त संस्थालाई स्टेशनरी सहयोग पनि गरेको ताजा स्मरण छ । त्यति मात्र नभई काठमाडौंको न्यूरोडमा नाम्लो बोकेर सामान ओसार पसार गर्ने भरियाहरुको भरिया बचत तथा ऋण सहकारी संस्था छ । काठमाडौंकै मिनभवनमा ट्याक्सी चालकहरुको बचत तथा ऋण सहकारी संस्था पनि छ । काठमाडौं उपत्यकामा यी र यस्ता संस्थाहरु कसरी चलिरहेका छन् भनेर सम्बन्धित निकायको नजर पुग्न सकेको छैन भने देशका विकट र दुर्गम भेगमा रहेको संस्थाको अवस्था के होला ?, अहिले ती संस्थाहरु के–कस्तो हालतमा सञ्चालनमा रहेका होलान् ?, यस विषयको चासो सम्बन्धित संघहरुले राख्नुपर्ने आवश्यक देखिन्छ । जुठे दाईले मलाई भने अनुसार तत् बखत पनि उहाँको संस्थाका केही शेयर सदस्यहरु ओडारमै बस्ने र गिठा भ्याकूर खाने अवस्थामा छन् भन्नु भएको थियो । त्यो संस्थाको गतिविधि सम्बन्धित निकायबाट हामीले पाउने अपेक्षा पनि गर्दछौं । त्यस्ता संस्था र सदस्यको हितका लागि सहकारीको उपल्लो निकायहरु, स्थानिय निकायहरु लगायतबाट आवश्यक सहयोग गर्ने हो भने वास्तवमै सहकारीको भावना र मर्म अनुसारको काम भएको हामी सबैलाई आभाष हुनेछ । ती संस्थाहरुलाई सक्षम बनाउँदै गईयो र त्यही किसिमका पाठ सिकाउँदै गईयो भने अवश्य नै समुदायको हित हुनेछ ।

समुदायको मुहार फेर्ने भने कै सहकारीले हो । सहकारीलाई सहकारीकै रुप र पहिचानबाट सञ्चालन गर्नका लागि सहकारी क्षेत्रका अग्रजहरु, असल अभ्यासकर्ताहरु, स्थानियदेखि केन्द्रीय निकायहरुको अभिन्न भूमिका रहनेछ । सहकारी संस्थाले समुदायमा आधारित र सदस्यमा केन्द्रित रहनु पर्दछ भनेको मनासय पनि समुदायको हरेक गतिविधिहरुमा सहकारीको अहम भूमिका रहनु पर्ने र सदस्यहरुको हितको खातिर सधै दत्त, चित्त रहनु भन्न खोजिएको नै हो ।
अन्तमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित ६४औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सबैमा शुभकामनना व्यक्त गर्न चाहान्छु

(लेखक हाल सिटिजन लाईफ ईन्स्योरेन्स कंम्पनि लि. मा लघुवित्त विज्ञको रुपमा कार्यरत हुनुहुन्छ । विगतमा सहकारी अभियानमा २५ वर्षभन्दा बढी कर्मचारीको रुपमा साथै नेफ्स्कूनको उच्च व्यवस्थापनमा लामो समय रहनु भएको थियो ।)

shivaadhikari207@gmail.com

अभिलेख

लोकप्रिय