७ वैशाख २०८३, सोमबार

ओरेन्टल, गुण र हाम्रो को-अपरेटिभको बचत फिर्ता गराउन उपसमिति

२०७० माघ २७, सोमबार
ओरेन्टल, गुण र हाम्रो को-अपरेटिभको बचत फिर्ता गराउन उपसमिति

काजी श्रेष्ठ

काठमाडौं, २७ माघ । जांचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित बचत तथा ऋणको कारोवार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जांचबुझ आयोग, २०७० ले बर्षौंदेखि निर्माण कार्य रोकिएको भेगासिटी सहित अरु हाउजिङहरुको थप निर्माण कार्य शुरु गराइएको छ ।

भेगासिटी हाउजिङको निर्माण कार्यमा उपसमिति गठन गरी कार्य गराउंदा काममा गति आउने र ओरेन्टल सहकारी संस्था लिमिटेडका बचतकर्ताहरु तथा त्यस कोषको कर्जा असूलीमा समेत सहयोग पुग्ने भएकाले उपसमिति गठन गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए ।

उपसमितिले भवन निर्माणको काम अनुगमन गर्ने, काममा तीव्रता ल्याउने कार्य गर्ने, काममा आइपरेका बाधाहरु सकेसम्म हटाउन प्रयास गर्ने, संयोजक मार्फत १५/१५ दिनमा कार्य प्रगति पेश गर्ने, उपसमितिले बैठक गर्दा भेगासिटी हाउजिङ कम्पनीको अध्यक्ष सुधिर बस्नेतलाई पनि संलग्न गराउने काम गर्ने जनाएको छ । यस उपसमितिमा सहकारी विभागका उपरजिष्ट्रार उपेन्द्र ढुंगानाको संयोजक रहेका छ । त्यस्तै प्रतिनिधीहरमा कर्मचारी संचयकोष, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक लि. तेजबहादुर गुरु, मोहन भटृराई र आमूदा श्रेष्ठ रहेका छन् ।

त्यस्तै आयोगको माघ २१ गतेको निर्णय अनुसार राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण मल्टिपरपोज कोअपरेटिभ लि, पुल्चोकका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्यमा सहयोग तथा अनुगमन गर्नका लागि उपसमिति गठन गरेको छ । यस उपसमितिले बचतकर्ताको रकम फिर्ता गर्ने तर्फ योजना बनाउने, बचत रकम फिर्ता गर्ने कार्यको अनुगमन गर्ने, रकम फिर्ता गर्ने कार्यमा ढिलासुस्ती भएमा त्यसको कारण पत्ता लगाई निराकरण गर्ने उपाय अवलम्बन गर्ने, बचत फिर्ता गरेको निस्सा÷प्रमाणको प्रतिलिपी संयोजक मार्फत हरेक महिनाको १५ गते र मसान्तका दिन दिनमा आयोगमा कार्य प्रगति पेश गर्ने कार्य गर्ने आयोगले जनाएको छ ।

उपसमितिमा अधिकृत प्रतिनिधी सहकारी बिभाग, संयोजक रहने गरी सदस्यहरुमा महेश बैद्य, गौतमबीर बज्राचार्य, बिष्णु बहादुर श्रेष्ठ, हिराभाइ शाक्य, र राजेन्द्र शाक्य, सदस्य (अध्यक्ष, गुण मल्टिपरपोज कोअपरेटिभ लि.) रहेको छ ।

त्यस्तै आयोगको सोही दिनको निर्णय अनुसार राजेन्द्र शाक्य अध्यक्ष रहेको हाम्रो कोअपरेटिभ लि., भेडासिं, काठमाडौंका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्यमा सहयोग तथा अनुगमन गर्नका लागि उपसमिति गठन गरेको छ । यस उपसमितिमा अधिकृत प्रतिनिधी सहकारी बिभाग, संयोजक रहने गरी नारायण बहादुर नकर्मी, रत्नकाजी तुलाधर, पुष्परत्न शाक्य, राजेन्द्र शाक्य, सदस्य (अध्यक्ष, हाम्रो कोअपरेटिभ लि.) रहेको आयोगका अध्यक्ष कार्कीले बताए ।

अभिलेख

लोकप्रिय