१४ भदौ २०८३, आईतवार

बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग

२०८३ भदौ १३, शनिवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग

काठमाडौं : सहकारीको मूल मर्म सदस्यसँगै समुदाय र समाजको सुख-दुःखमा सहकार्य गर्नु हो। यही मानवीय भावना र सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै धादिङको नीलकण्ठ-३ स्थित श्रोतपरिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाको निर्णयअनुसार उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइनेछ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति, विस्थापन तथा दैनिक जीवनयापनमा उत्पन्न कठिनाइप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ।

साथै, बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको संस्थाले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले श्रोतपरिचालन सहकारी बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायमा विभिन्न सामाजिक कार्यक्रममार्फत सक्रिय हुँदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सहकारी भनेको बचत संकलन र ऋण लगानीमा मात्र सीमित हुने संस्था होइन। सदस्यसँगै समुदाय र समाजको सुख–दुःखमा सहकार्य गर्नु पनि सहकारीको महत्वपूर्ण दायित्व हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु हाम्रो मानवीय तथा सामाजिक जिम्मेवारी हो।’

बाढी तथा प्राकृतिक विपद्का समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने सीईओ नेपालले बताउनुभयो।

अभिलेख

लोकप्रिय