२६ वैशाख २०८३, शनिवार

संगठनात्मक पुनर्संरचनाका लागि परामर्शदाता नियुक्त गर्दै राष्ट्रिय सहकारी बैंक

२०८२ भदौ ४, बुधबार
संगठनात्मक पुनर्संरचनाका लागि परामर्शदाता नियुक्त गर्दै राष्ट्रिय सहकारी बैंक

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड ले आफ्नो संगठनात्मक संरचना र व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउन संस्था वा व्यक्तिगत परामर्शदाता नियुक्त गर्न शिलबन्दी प्रस्ताव आह्वान गरेको छ ।

बैंकले मंगलबार प्रकाशित गरेको एक सूचनाअनुसार परामर्श सेवाले बैंकको विद्यमान संरचना, व्यवसाय प्रक्रिया, मानव स्रोत व्यवस्थापन र संस्थागत विकास संरचनाको समग्र मूल्याङ्कन गर्नेछ । त्यसपछि दक्षता, सुशासन र सेवा वितरण सुधार गर्न आवश्यक पुनर्संरचना सिफारिस गर्ने जिम्मेवारी परामर्शदाताले पाउनेछ ।

बैंकका सदस्य सहकारी संघ÷संस्थाहरूमार्फत संकलित निक्षेप र लगानी प्रवाहलाई सुरक्षित र प्रभावकारी बनाउन संस्थागत सुधार अपरिहार्य भएको बैंकले जनाएको छ । साथै, नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायले सुशासन र पारदर्शितामा जोड दिइरहेका बेला बैंक आफैँले संगठनात्मक पुनर्संरचना अघि सारेको हो ।

यो पहलबाट बैंकको आन्तरिक दक्षता बढ्ने, सेवाको समयमै उपलब्धता हुने र सदस्य सहकारीहरूसँगको समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । साथै, सुशासन बलियो बन्दै गएपछि सहकारी बैंकमाथिको विश्वसनीयता बढ्ने र यसले सहकारी क्षेत्रकै वित्तीय अनुशासन र दिगोपनामा टेवा पु¥याउने अनुमान गरिएको छ ।

बैंकको दीर्घकालीन रणनीति सहकारी संस्थामार्फत ग्रामीण तथा साना उद्यमीलाई वित्तीय पहुँच विस्तार गर्ने र त्यसका लागि आन्तरिक संरचना व्यवस्थित, पारदर्शी र दक्ष हुनु अपरिहार्य देखिएको कारण बाह्य परामर्श सेवामार्फत व्यवस्थापन प्रणाली पुनरावलोकन गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

सूचनाअनुसार इच्छुक परामर्शदाता वा कम्पनीहरूले प्राविधिक तथा वित्तीय प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ । प्रस्ताव बुझाउने अन्तिम मिति सूचनाको प्रकाशित मितिदेखि १५ दिनभित्र तोकिएको छ । प्राप्त प्रस्ताव सम्बन्धी सम्पूर्ण निर्णय प्रक्रियामा बैंकलाई पूर्ण अधिकार रहने र इमेलमार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंका अनुसार, बदलिँदो नियामकीय व्यवस्था, उच्च तरलता र सीमित व्यावसायिक अवसर जस्ता चुनौतीपूर्ण विषयलाई सम्बोधन गर्नका लागि संगठन तथा व्यवस्थापन अध्ययन आवश्यक भएकोले प्रस्ताव आह्वान गरिएको बताए।

अभिलेख

लोकप्रिय