२४ वैशाख २०८३, बिहिबार

स्थापनाको १९औँ वर्षमा नेचुरल सहकारी, सदस्य विश्वासलाई प्राथमिकता

२०८३ वैशाख २४, बिहिबार
स्थापनाको १९औँ वर्षमा नेचुरल सहकारी, सदस्य विश्वासलाई प्राथमिकता

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल बैशाख २४ गते स्थापना भएको संस्थाले स्थापना दिवसको अवसरमा आभार तथा प्रतिबद्धता व्यक्त गर्दै सदस्यहरूको बचत सुरक्षा, पारदर्शी सेवा र प्रविधिमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

संस्थाले स्थापना कालदेखि हालसम्म साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, अग्रज नेतृत्व, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरू, कर्मचारी तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेको छ । सहकारी क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको वर्तमान परिस्थितिमा पनि सदस्यहरूको भरोसाका कारण संस्था सुदृढ वित्तीय अवस्थासहित गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको उल्लेख गरिएको छ ।

संस्थाका अनुसार हाल कुल १५ हजार ३४० सदस्य आबद्ध छन् । संस्थाको शेयर पुँजी १६ करोड ५६ लाख, जगेडा कोष १२ करोड ८० लाख, अन्य कोष १३ करोड ३३ लाख, कुल बचत २ अर्ब ४१ करोड, लगानीमा रहेको ऋण २ अर्ब २२ करोड तथा कुल सम्पत्ति ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

संस्थाले सदस्यता विस्तार, बचत अभिवृद्धि, सदस्य शिक्षा, विस्तारित सेवा मञ्च सञ्चालन तथा सामाजिक–आर्थिक उन्नतिका कार्यक्रममार्फत सदस्य–केन्द्रित सेवा विस्तार गर्दै आएको जनाएको छ । साथै स्वनियमन, सुशासन, पारदर्शिता र उत्तरदायी व्यवस्थापन प्रणालीलाई संस्थागत रूपमा आत्मसात गर्दै देशकै उत्कृष्ट सहकारी संस्थामध्ये एक बन्ने लक्ष्य लिएको संस्थाकी अध्यक्ष शर्मिला अमात्यले बताउनुभयो ।

नेचुरल सहकारी बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघद्वारा सञ्चालन गरिएको संगठनात्मक दीगोपना तथा संस्थागत सेवाका लागि स्वनियमन कार्यक्रम (कोसिस) मा समेत आबद्ध भएको छ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य उपचार, सुरक्षित मातृत्व, जन्म संस्कार तथा मृत्यु संस्कार राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०८२ चैत मसान्तसम्म ३८५ सदस्यलाई स्वास्थ्य उपचार सुविधा, ५६ सदस्यलाई सुरक्षित मातृत्व सेवा, ३५५ सदस्यलाई जन्म संस्कार राहत तथा १० सदस्यका परिवारलाई मृत्यु संस्कार राहत प्रदान गरिएको संस्थाका सचिव विकल्प पाठकलले जानकारी दिनुभयो।

संस्थाकी अध्यक्ष शर्मिला अमात्य र सचिव विकल्प पाठकद्वारा जारी संयुक्त सन्देशमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यहरूको बचत तथा लगानी सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय, पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अभिलेख

लोकप्रिय