ग्रामीण अर्थतन्त्रलाई गति दिँदै सहकारी
काठमाडौं, ६ चैत
– २६ युवाले दैनिक ५० पैसा बचत गरी २२ वर्षअघि सुरु गरेको नवलपरासीस्थित बिकु बचत तथा ऋण सहकारीमा अहिले १० हजार जनाको ५० करोड बचत छ ।
– कालीमाटीमा तरकारी बेच्न ल्याउँदा व्यापारीले आफूखुसी भाउ तोकेपछि दिक्क भएका धादिङका कृषक अहिले साना किसान सहकारीमार्फत आफ्नो उत्पादनको भाउ तोक्छन् । संस्थाले – तोकेको भाउमा बढाबढ गरेरमात्र व्यापारीले किन्न पाउँछन् ।
– चितवनको गीतानगरस्थित अन्नपूर्ण नमुना दुग्ध उत्पादक सहकारीले ५ सयभन्दा बढी युवालाई व्यावसायिक गाईपालनमा सहभागी गराएको छ । आधुनिक गाई स्रोतकेन्द्र सञ्चालन गरेको सहकारीले कृषकको दूध संकलन र बिक्रीसमेत गर्दै आएको छ ।
सहरी क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरू धमाधम समस्याग्रस्त भइरहेका बेला ग्रामीण क्षेत्रका सहकारी उत्साहजनक रूपमा उदाएका छन् । बचत तथा ऋण सेवाका साथै व्यावसायिक कृषि र सामाजिक विकासका लागि समेत सहकारीको भूमिका मजबुत हुन थालेको छ । कृषि क्षेत्रका सहकारीले कृषकका लागि आवश्यक मल, उन्नत बीउबिजन सुलभ मूल्यमा उपलब्ध गराउनेदेखि स्थानीय उत्पादनको बजारीकरणमा समेत काम गर्न थालेका छन् ।
“हामीले सदस्यलाई जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने सम्पूर्ण सेवा दिइरहेका छौं,” बिकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले भने, “उनीहरूलाई सीपमूलक तालिम दिने, स्वरोजगार बनाउन ऋण दिने र उनीहरूका उत्पादनलाई बजारसँग जोड्नसमेत सहयोग गर्छौं, यही हो हाम्रो सफलताको रहस्य ।”
बिकुले वित्तीय सेवाअन्तर्गत बचत तथा ऋण र गैरवित्तीयअन्तर्गत सेयर सदस्य महिलालाई सुत्केरी खर्च १ हजार, परिवार नियोजन खर्च १ हजार दिँदै आएको छ । सदस्यको मृत्यु भएमा किरिया खर्चबापत आफन्तलाई १० हजार सहयोग गर्छ । नियमित रूपमा सहकारी शिक्षा तथा तालिम सञ्चालन गरिरहेको यो संस्थाले सदस्यका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको छ ।
बचत ऋणका अतिरिक्त कृषि क्षेत्रका विषयगत सहकारीले पनि कृषिलाई व्यवसायीकरण गर्न र कृषकको आयस्रोत बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । व्यापारीको मनोमानी र बिचौलियाका कारण आफ्नो उत्पादनको उचित मूल्य नपाएर आजित भएका कृषक सहकारीकै कारण बजारीकरण गर्न सजिलो भएको बताउँछन् ।
“पहिले कृषकको डोकोमा लात्ताले हानेर व्यापारीले भाउ निर्धारण गर्थे,” धादिङको सलाङघाटमा सञ्चालित सलाङ साना किसान सहकारीका सदस्य गोपाल सिलवाल भन्छन्, “अहिले सहकारी खुलेपछि व्यापारीले सहकारीद्वारा तोकिएको मूल्यभन्दा बढीमा मात्र किन्नुपर्छ ।”
सहकारीले दैनिक काठमाडौंको बजारका आधारमा भाउ तोक्छ, सोही भाउमा बढाएर व्यापारीले खरिद नगरे संस्था आफैंले किनेर काठमाडौं, पोखरा, नारायणगढ पठाउँछ । संस्थाले कृषकलाई उन्नत मल, बीउ, विषादी उपलब्ध गराउनका साथै आवश्यक तालिमसमेत दिँदै आएको छ । संस्थाले बजारको पहुँच सजिलो बनाएपछि त्यो क्षेत्रका कृषकले व्यावसायिक तरकारीखेती, बाख्रापालन, बंगुरपालन, माछापालन गर्न थालेका छन् ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपाने ग्रामीण क्षेत्रका सहकारीले उदाहरणीय काम गरेको स्वीकार्छन् । “सहकारीकै कारण ग्रामीण क्षेत्रमा व्यावसायिक गतिविधि फस्टाएका छन्,” उनी भन्छन्, “सरकारले पनि त्यस्ता सहकारीलाई प्राथमिकता दिँदै आएको छ ।” पशुपालन, चिया, कफी, मौरीपालन, दुग्ध व्यवसायको व्यवसायीकरण र बजारीकरणका लागि सहकारीको काम उदाहरणीय भएको उनको भनाइ छ । ग्रामीण क्षेत्रका सहकारीमा सहरका जस्ता समस्या नरहेको उनले बताए ।
पछिल्लो समय सहरी क्षेत्रमा बचत तथा ऋण सहकारीको चाप बढेपछि विभागले १ वर्षअघि नगरपालिका र जोडिएका गाविसमा बचत तथा ऋण सहकारी दर्ता बन्द गरेको छ ।
विभागले सहकारीको व्यावसायिक गतिविधिका लागि अनुदानसमेत दिँदै आएको छ । सरकारले पनि साना किसान सहकारी संस्थामार्फत सहुलियत ब्याजमा ऋण दिइरहेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकमसमेत सहकारीमार्फत परिचालन भइरहेको छ ।
अर्थशास्त्री चिरञ्चीवी नेपाल पनि सहकारीले ग्रामीण अर्थतन्त्र चलायमान गराएको बताउँछन् । “सहकारीकै कारण ग्रामीण अर्थतन्त्रले गति लिएको छ,” उनी भन्छन्, “सहरी क्षेत्रका ठूला बचत तथा ऋण सहकारीका विकृति नियन्त्रण नगर्दा सिंगो सहकारीको भूमिका छायामा परेको हो ।”
सहकारीको योगदानबारे हालसम्म कुनै औपचारिक अध्ययन नभए पनि ४५ लाख नागरिक सहकारीमा आबद्ध भएको अनुमान छ । सहकारीको योगदान वित्तीय सेवामा १८ प्रतिशत तथा कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत छ ।
यादव हुमागाईं । कारोबारबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार