५ वैशाख २०८३, शनिवार

चाइना ट्रेड सहकारीको मुनाफा एक करोड ५१ लाख

२०७५ असोज २८, आईतवार
चाइना ट्रेड सहकारीको मुनाफा एक करोड ५१ लाख

chaina trade

काठमाडौं । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्था लिमिटेडले एक वर्षको अवधिमा सेयर पुंजी करिब एक करोड वृद्धि गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा संस्थाको सेयर पुंजी ८ करोड ५४ लाख रुपैयाँं पुगेको छ । अघिल्लो आवमा यस्तो पुंजी ७ करोड ५६ लाख रुपैयाँ थियो । गत आवमा संस्थाको जगेडा कोष पनि २१ प्रतिशत वृद्धि भइ एक करोड ९१ लाख रुपैयाँ पुगेको छ । संस्थालाई आर्थिकरूपमा सबल बनाउन जगेडा कोष बृद्धि गर्न विशेष ध्यान दिँदै आएको छ । संस्थाको कुल सम्पत्ति ४१ करोड रुपैयाँ पुगेको छ । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको शनिबार काठमाडौंमा सम्पन्न ११ औं वार्षिक साधारणसभामा यो जानाकरी दिइएको हो ।

गत आवमा संस्थाको निक्षेप पनि वृद्धि भएको छ । असारसम्म संस्थाको निक्षेप २४ करोड ६८ लाख ७७ हजार पुगेको छ । यो निक्षेप अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी हो । अघिल्लो वर्ष निक्षेप २१ करोड २९ लाख ९१ हजार रुपैयाँ थियो । संस्थाले हाल विभिन्न ९ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यसमा नियमित बचत खाता, सामान्य बचत खाता, विशेष चाइना ट्रेड बचत खाता, नारी बचत खाता, बाल बचत खाता, सरप्लस बचत खाता, जम्को बचत खाता र कोसेली बचत खाता सञ्चालन गर्दै आएको छ । यसले पनि निक्षेप बढाउन सहयोग पुगेको छ ।

गत आवमा संस्थाले ३२ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा १९६ जना सेयर सदस्यले कर्जा लगेका छन् । यसले व्यावसायिक कर्जा, घरजग्गा कर्जा, सवारीसाधन कर्जा, सेयर कर्जा, कर्मचारी कर्जा र अन्य कर्जा प्रदान गर्दै आएको छ । गत आवमा संस्थाले एक करोड ५१ लाख ७५ हजार सञ्चालन मुनाफा गरेको छ । यसबाट राज्यलाई २८ लाख ८० हजार रुपैयाँं कर तिरेको छ ।

संस्थाले मोबाइल बैंकिङ, एसएमएस बैकिङ, फेसबुक पेज, वेवसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको छ । यस सहकारीको नेतृत्व वर्ग र कर्मचारीको क्षमता अभिबृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पनि विभिन्न कार्यक्रममा सहभागिता जनाउंदै आएको छ । संस्थामा असारसम्म सेयर सदस्य संख्या ९१० पुगेको छ ।

साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौंलागाईं, अध्यक्ष दुर्गाबहादुर श्रेष्ठलगायतले सहकारीले मुलुकको विकासका लागि महत्वपूण योगदान गरेको बताए । संस्थाले अन्य केही सहकारी संस्थालाई समेत एकीकरण गरी सबल संस्था निर्माण गर्ने, संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि भूमिका खेल्ने, गुणस्तरीय व्यवस्थापन प्रणाली अवलम्बन गरी उच्चस्तरीय सेवासुविधा शेयर सदस्यलाई उपलब्ध गराउनेलगायत नीति तथा कार्यक्रम पारित गरेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अभिलेख

लोकप्रिय