२२ जेठ २०८३, शुक्रबार

नेफ्स्कूनको चुनावी चर्चा: यी हुन् सम्भावित अनुहारहरु

२०८० कात्तिक १७, शुक्रबार
नेफ्स्कूनको चुनावी चर्चा: यी हुन् सम्भावित अनुहारहरु

काठमाडौं : आजको ठीक ४९ दिनपछि नेफ्स्कूनले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति पाउनेछ । बचत ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनमा नयाँ सञ्चालक समितिको लागि आगामी पुस ५ गते र ६ गते निर्वाचनसहितको ३२औं वार्षिक साधारण सभा हुँदैछ ।

निर्वाचनको मिति जति नजिकिदैछ, चुनावी चहलपहल त्यति बढ्दो छ । शक्तिशाली केन्द्रीय संघको सञ्चालक समितिमा अटाउन बचत ऋण सहकारी अभियन्ताहरुको कसरत शुरु भैसकेको छ । कोठे बैठक, शक्तिकेन्द्र भेट, कर्मचारी सम्मेलनदेखि दबाब, प्रभाव र प्रभुत्व प्रदर्शनका कामहरु बाक्लिन थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत पनि आफ्ना चुनाव लक्षित गतिविधि र सामाग्रीहरु पस्कन थालेका छन् । हुनत् थोरैले मात्र सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । नेफ्स्कून निर्वाचनमा पार्टीको निर्णय महत्वपूर्ण हुने भएकाले पनि धेरैजना बालकोट, सानेपा, बाट ग्रीन सिग्नलको पर्खाइमा व्याकुल देखिन्छन् । तर, आकांक्षीहरु धेरै देखिएका छन् । निर्वाचन सहितको साधारण सभा भएका कारण नेफ्स्कूनमा चुनावी सरगर्मी बढेको हो । आफ्नो पक्षमा नेतृत्व हत्याउन शक्ति केन्द्र धाउने, सदस्यसँग राय सुझाव दिने, चुनावको लागि आवश्यक खर्चको चाँजोपाँजो मिलाउन उनीहरु व्यस्त छन् ।

नेफ्स्कूनको हालकै सञ्चालक समितिका अगुवाहरु मात्र नभइ निवर्तमान र नयाँ अनुहारहरु समितिमा आउन इच्छुक देखिएका छन् । बाह्यरुपमा चुनाव लक्षित चटारो देखिएझै नेफ्स्कूनका आन्तरिक क्रियाकलापहरु पनि निर्वाचनमुखी हुँदै गएका छन् । कर्मचारीको जिम्मेवारी हेरफेर, आफू निकट कर्मचारीलाई चुनाव केन्द्रीत गतिविधिका लागि परिचालन गर्ने, व्यवस्थापकी निर्णयहरु सोही अनुरुप गर्ने लगायतका स्पष्ट संकेतहरु देखिएका छन् ।

व्यावसायिक सहकारीकर्मीहरु भने नेफ्स्कूनको गिर्दो शाखप्रति चिन्तित छन् । हालको नेतृत्व माथि नेफ्स्कून भित्र र बाहिरबाट समेत प्रश्न चिन्ह खडा भएको छ । खासमा वर्तमान नेतृत्वको धरातलमाथि उनीहरुको गम्भीर प्रश्न छ । प्रारम्भिक संस्था बनाएको व्यक्ति नेतृत्वका लागि आवश्यक छ भन्ने विषय वर्तमान नेतृत्व इतर एउटा पक्षको आवाज रहेको छ । त्यसैले, नेफ्स्कूनको निर्वाचनमा यसपटक फरक स्वाद आउने आकलन सहकारीर्मीहरुले गरेका छन् । त्यसैकारण पनि उनीहरु, विगतको जस्तो राजनीतिक दल हाबी नहोला कि भन्ने विश्वासमा छन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव दामोदर अधिकारी दावेदार देखिएका छन् । त्यस्तै निवर्तमान अध्यक्ष डिबी बस्नेतको चर्चा पनि सहकारीवृत्तमा छ । नेफ्स्कूनको गिर्दो शाख जोगाउन नेतृत्वमा बस्नेत आवश्यक रहेको र पुनः एकपटक उनलाई नै अध्यक्ष बनाउनु पर्ने आवाज एउटा समूहको छ । खासगरी नेफ्स्कूनको अघिल्लो निर्वाचनमा उनलाई धोका भएको र सोही विषयमा आफूहरुले गलत निर्णय गरेको भन्दै बस्नेतलाई पुनः अध्यक्ष बन्न उनीहरुले घच्घच्याइरहेका छन् ।

अर्कोतर्फ, वर्तमान सञ्चालक समितिभित्रैबाट नेतृत्व लिन तयार भएको र अवसर पाउनुपर्ने स्पष्ट सन्देशसहितको खरो धारणा पनि मुखरित भएको छ । परितोष पौड्याल एक पटक दोहोर्याउने पक्षमा रहँदा वरिष्ठ उपाध्यक्ष ढकालले नेतृत्वका लागि पूर्णत तयार रहेको भन्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले संघको इतिहास हेर्ने हो भने पनि सबै बरिष्ठ उपाध्यक्ष अध्यक्ष बनेको भन्दै आफू अब तयार रहेको विचार अभिव्यक्त गरेका छन् । अन्य आकांक्षीहरुले भने भित्र भित्रै दाबेदारी प्रस्तुत गरेका छन् । घोषणा गरिसकेका छैनन् । पाए ठीक नपाए अन्य पदमा भएपनि चित्त बुझाउने पक्षमा उनीहरु छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष दीपक पनेरुको चर्चा छ । त्यस्तै महिला उपाध्यक्षमा गोमा नेपालको चर्चा छ । त्यस्तै महासचिवमा वर्तमान लेखा समिति संयोजक नवराज सापकोटा र पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलको चर्चा छ । त्यस्तै कोषाध्यक्षमा जिवसराज खड्का, चण्डीप्रसाद शर्मा पौडेल र माधवप्रसाद जोशीको चर्चा रहेको छ । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा हाल लेखा समिति सदस्य शुसिलकुमार बस्न्यातको चर्चा चलेको छ ।

यस्तै, सञ्चालकका लागि शिव अधिकारीले आफ्नो उम्मेदवारी घोषणा समेत गरिसकेका छन् । २ दशक नेफ्स्कूनको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालिसकेका अधिकारी जनसम्पर्कका धनी हुन् । त्यही जनसम्पर्क नै आगामी निर्वाचनमा उनको विजयी शक्ति हुने धेरै साकोस अभियानकर्मीहरुको भनाइ छ । त्यसैले उनी शसक्त दाबेदार हुन् र उनले आफू उम्मेदवार बन्ने घोषणा सहकारी खबरसँगको अन्तर्वार्तामार्फत नै गरिसकेका छन् ।

यस्तै चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख सल्लाहकार विकास बादे पनि सञ्चालक पदका उम्मेदवार रहेको बताएका छन् । झण्डै ३० वर्ष सहकारी अभियानमा बिताएका बादे अध्यक्ष हुँदा संस्थाले एक्सेस ब्राण्ड पाएको थियो । गत वर्ष चण्डेश्वरी साकोसले मात्रै एक्सेस ब्राण्ड पाएको थियो भने यस वर्ष चण्डेश्वरी र जनउत्थान साकोसले ब्राण्ड पाएको थियो ।

अहिलेको संकटपूर्ण अवस्था र सहकारी अभियानको खस्कदो शाखलाई सम्हाल्न यवस्थित नेफ्स्कून बनाउन एक पटक पुनः नेतृत्वमा आउन अभियानकर्मीको ठूलो आवाज आएको संघका निवर्तमान अध्यक्ष बस्नेत बताउँछन् । ‘अभियानको माग व्यापक छ तर मैले सल्लाह गर्नै बाँकी छ । साथीहरु चाहना र मागका विषयमा मैले कुनै प्रतिक्रिया दिएको छैन’, बस्नेतले सहकारीखबरसँग भने, ‘म आफैले म अध्यक्ष बन्छु भनेर कतै भनेको छैन । म हुँदा नेफ्स्कून व्यवस्थित हुन्छ भने सल्लाह गर्छु भनेको छु । तिहारपछि सल्लाह गर्ने सोंच बनाएको छु ।’ अहिलेको नेतृत्वले नेफ्स्कून कमजोर बनाएको र नेफ्स्कून बिग्रदा अभियान बिग्रने समेत उनले बताए ।

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल यसपटक पूर्ण रुपमा तयार देखिन्छन् । विगतका केही महिना देखिनै आफ्नो उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् । देशभर रहेका सदस्य संस्था भेटघाटदेखि नेफ्स्कूनलाई व्यवस्थित बनाउने सवालमा डटेर लागिरहेका छन् । आफ्नो उर्जाशिल समय बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनमा बिताएको भन्दै यो पटक आफू अध्यक्ष बन्ने दाबी गरेका छन् । ढकाल भन्छन्, ‘म सहकारी अभियानमा मात्रै छु । मेरो उर्जाशिल समय सहकारीमा बिताएको छ । बाँकी जीवन पनि सहकारीमै बिताउने छु ।’ ढकालले आफूलाई सबैको साझा उम्मेदवारको रुपमा लिएका छन् । वरिष्ठ उपाध्यक्ष भएको नाताले आफू सबैको साझा उम्मेदवार रहेको दाबी गर्छन् ।

अभिलेख

लोकप्रिय