१३ जेठ २०८३, बुधबार

राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण

२०८३ जेठ १३, बुधबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रबल शर्माले बैंकका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

बैंकको २२औं वार्षिक साधारणसभाको निर्णयअनुसार सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य पदका लागि २०८३ जेठ ९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरूले शपथ ग्रहणसँगै निर्वाचित प्रमाणपत्र समेत निर्वाचन उपसमितिका संयोजक शर्माले वितरण गर्नुभयो।

बैंकको सञ्चालकमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट डा. परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट काली बहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट सञ्चालक समितिमा चयन हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममता कुमारी शाह चयन हुनुभएको छ।

बैंकको ९ सदस्य सञ्चालक हुने व्यवस्था बमोजिम दुईजना विज्ञ सञ्चालक (एक जना सहकारी र एकजना बैंक तथा वित्तीय क्षेत्रका विज्ञ) पछि मनोनयन गरिने छ । निर्वाचित सञ्चालक मध्येबाट अध्यक्ष चयन हुने व्यवस्था रहेको छ । नवनिर्वाचित सञ्चालक समितिको कार्यकाल आगामी चार वर्षको हुने छ।

कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष महेन्द्र कुमार गिरीले नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफ्नो १८ महिनाको नेतृत्वकालमा बैंकले उल्लेखनीय गति हासिल गरेको बताउँदै आफूले नेतृत्व सम्हाल्दा बैंक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो।

सामूहिक प्रयास र सहकार्यका कारण बैंक सुधारउन्मुख बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सकारात्मक कार्यका लागि आफ्नो निरन्तर साथ, सहयोग र सुझाव रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले बैंकलाई थप सुदृढ, व्यवस्थित र पूर्ण रूपमा व्यवसायिक संस्था बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । कार्यक्रममा निवर्तमान सञ्चालकहरूलाई विदाइसमेत गरिएको थियो।

अधिवक्ता प्रबल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सल्लाहकारहरू केशव वडाल र लिलामणि पोखरेल, केन्द्रीय संघका प्रतिनिधिहरू, निवर्तमान सञ्चालकहरू ऋमृता शुब्बा, पार्वती थापा र ध्रुवराज विष्ट, लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुली, डिभिजन तथा विभागीय प्रमुखहरू, सञ्चारकर्मी एवम् पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा निर्वाचन उपसमितिका सदस्य अशोक काफ्लेले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले गर्नुभएको थियो।

अभिलेख

लोकप्रिय