१६ जेष्ठ २०७७, शुक्रबार

सहकारीमार्फत दिगो समाज निर्माण (गोपीनाथ मैनालीको लेख)

११ फाल्गुन २०७६, आईतवार
सहकारीमार्फत दिगो समाज निर्माण (गोपीनाथ मैनालीको लेख)
- गोपीनाथ मैनाली

विषय प्रवेश

गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस (जुलाई ७) विश्वका सहकारीकर्मी तथा सरोकारवालाहरूले ‘सहकारी मार्फत दिगो समाज’ को नारासाथ मनाए । दिवसले सहकारीले दिगो समाज निर्माणमा दिइरहेको योगदान र अब खेल्नुपर्ने भूमिकाका विषयमा व्यापक बहस एवम् विवेचना भयो । सहकारीले तेस्रो क्षेत्रका रूपमा आर्थिक, सामाजिक र सांस्कृतिक भूमिका निर्वाह गर्दै आएको छ ।

यस क्षेत्रले खेलिरहेको भूमिका र सम्भावनाका आधारमा अझै महत्वूर्ण भूमिका खेल्न सक्छ, त्यो पनि राज्यको जस्तो भयशक्ति र निजी क्षेत्रको जस्तो नाफामूलकतामा होइन, ‘सामाजिक उर्जाको परिचालनबाट अपनत्वसहितको सामाजिक अभियान’ भन्ने साझा अभिमत स्थानीयदेखि विश्व तहसम्म भएको संकेत पनि हो । हुनतः यस अघि सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रसंघले गरेको आह्वानमा सहकारीले यी क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने निष्कर्ष निकालिएको थियो

– सहकारी मार्फत समावेशी विकास
– सहकारी मार्फत महिला सशक्तीकरण
– सहकारी मार्फत युवा स्वरोजगार
– सहकारी मार्फत व्यावसायिक क्षमता विकास
– सहकारीको व्यावसायिक ढाँचाबाट गरिबी निवारण
– बचत तथा ऋण मार्फत वित्तीय सेवा
– सहकारी र सामूहिकताबाट सामाजिक सुरक्षा
– सहकारीबाट कृषिक्षेत्रमा सशक्तीकरण ।

यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारी कांग्रेस तथा सम्मेलनहरूमा सहकारी दिगो विकासको माध्यम हुनसक्छ भन्ने निष्कर्ष निकालिएको छ । यस प्रकारका प्रतिबद्धता तथा घोषणाले सहकारी अभियानको भूमिका अझै विस्तार भएको र आउदा दिनमा सहकारी अभियान अरू व्यापक र गतिशील हुनुपर्ने दायित्व थपिएको छ । दिगो समाजको अवधारणा दिगो समाज के हो र कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा समान अवधारणा छैन । दिगो विकास र दिगो समाज एकै हो भन्ने बुझाइ पनि रहनसक्छ । तर दिगो समाज दिगो विकासभन्दा बृहत विषय हो । समाजलाई सुरक्षित, सुव्यवस्थित र प्रत्येक व्यक्ति प्रत्येकप्रति जिम्मेवार एवम् जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ दिगो समाजको अवधारणा आएको हो । यसलाई बृहद रूपमा लिुनुपर्ने हुन्छ । दिगो समाजका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरण, नैतिक र आत्मिक आयाम रहन्छन् । सामान्यतः यी अवस्था भएको समाज दिगो समाज हो भन्ने सामान्य निष्कर्ष निकाल्न सकिन्छ :

– समुदायका सबै सदस्यहरूको आधारभूत आवश्यकता पूरा भै सबैमा स्वस्थ्य, सुरक्षित र सुखी अनुभूति भएको अवस्था ।

– प्राकृतिक स्रोत, साधन सुरक्षित, सम्वद्र्धित र प्रवद्र्धित भएको अवस्था ।

– अर्थतन्त्र गतिशील भै रोजगारी, लगानीका अवसर उपलव्ध भै जीवनस्तर सुधार भएको अवस्था ।

– सामाजिक सहभाव, सांस्कृतिक समावेशिता र सहभागिता भएको अवस्था ।

– सरल निर्वाह प्रणाली (उपभोग, खानपान, आनीबानी), न्यून कार्वन उत्सर्जन भएको (Carbon footprint) अवस्था ।

– सामाजिक जीवनका लागि आवश्यक चेतना, ज्ञान, सीप र स्वभाव अनुकूल भै प्रत्येक व्यक्ति अर्कोप्रति सहनशील, जिम्मेवार र इमान्दार भएको अवस्था ।

समाजमा देखिएको असमानता, असहिष्णुता र अस्थिरताका कारण दिगो समाजसम्बन्धी अवधारणा विकासको पृष्ठभूमि तयार भएको हो भने सन् १९८० को दशकबाट सैद्धान्तिक रूपमा अघि सारिएको अवधारणा हो । यसका प्रणेता लेस्टर ब्राउन हुन् । ब्राउनका अनुसार दिगो समाज त्यस्तो समाज हो जहा आफ्नो आवश्यकता आउदो पुस्ताको आवश्यकता नघटाइ पूरा गर्न सकिन्छ । उनको परिभाषा अनुसार दिगो समाज सूचकाङ्कमा तीन सूचक रहन्छन्, पहिलो मानव समृद्धि (Human Well being), दोस्रो वातावरणीय समृद्धि (Environmental well being) र तेस्रो आर्थिक समृद्धि (Economic well being) । मानव समृद्धि सूचकाङ्कमा आधारभूत आवश्यकता (पर्याप्त खानपान, खानेपानी, सरसफाइ र स्वच्छता एव्म उपयुक्त आवास), व्यक्तिगत विकास (स्वास्थ्य, शिक्षा र लैगिक विकास) र व्यवस्थितपना (सुशासन, आय वितरण र जनसंख्या व्यवस्थापन) पर्दछ । आर्थिक समृद्धिमा भविष्यमुखी सोच (कच्चा पदार्थको किफायती प्रयोग, प्राङ्गारिक खेत तथा बचत एवम् लगानी) र आर्थिक विकास (आर्थिक वृद्धि, रोजगारी, स्रोत साधन विनियोजन दक्षता र उचित तहको सार्वजनिक ऋण) पर्दछन् ।

त्यस्तै वातावरणीय समृद्धिमा स्वच्छ वातावरण (स्वच्छ वायु, स्वच्छ नदीनाला), जलवायु तथा उर्जा व्यवस्थापन (नवीकरणीय उर्जा, न्यून हरितगृह ग्यास उत्सर्जन र विद्युत उपयोग), प्राकृतिक स्रोत व्यवस्थापन (नवीकरणीय पानी, वन तथा वनस्पति एवम् जैविक विविधता) पर्दछन् । यी सूचकाङ्कका आधारमा समष्टिगत मानव सुरक्षा र समृद्धि नै दिगो समाज हो भन्न सकिन्छ । यसले आदर्श र जिम्मेवार समाजको आशय राख्दछ । दिगो समाज निर्माणको प्रक्रिया दिगो समाज निर्माण व्यवस्थित समाजको उद्देश्य हो । समस्त राज्य संरचनाको क्रियाशीलता दिगो समाज निर्माण गर्नमा केन्द्रित हुन्छ । राज्य संरचना बाहिरका पात्रहरूलाई यसै प्रक्रियामा परिचालन गर्नु पनि राज्यको दायित्व हो । किनकी दिगो समाज निर्माण निरन्तर र बहुआयामिक प्रक्रिया हो र यसले समाजको विवेकपूर्ण पुननिर्माण (conscious social reproduction) लाई गतिशील बनाएको हुन्छ । मानव सभ्यता यहाँसम्म यही प्रक्रियाबाट आइपुगेको हो । सामान्यतः दिगो समाज निर्माणका लागि कार्यहरूलाई यसरी वर्गिकरण गर्न सकिन्छ :

क) सामाजिक आवश्यकता पूर्ति

– सुरक्षित, सम्वद्र्धित र सौन्दर्ययुक्त निर्माण

– बसोबासको मानवीकरण

– सामाजिक र सांस्कृतिक विविधताको सम्मान र संरक्षण
– सरसफाइ, स्वास्थ्य र सेवा मार्फत मानव स्वास्थ्य
– जनस्वास्थ्य चेतना (Prevention & cure)
– आधारभूत आवश्यकतामा सहज पहुँच
– शिक्षा र सीपको सहज अवसर
– सर्वसाधारणको सशक्तीकरण
– सामाजिक सम्वन्ध (relational dimension)

ख) आर्थिक गतिशीलता

– स्थानीय अर्थतन्त्रको मजवुतीकरण्
– आर्थिक सेवा तथा अवसरहरूको सहजता
– काम र मनोरञ्जनबीच सन्तुलन
– अभिलेखिक कार्य (unpaid work) प्रति सम्मान

ग) वातावरणीय सुरक्षा र सम्वद्र्धन

– प्राकृतिक स्रोत र पूँजीको विवेकशील उपयोग (पानी, खानी, भूमि, उर्जा आदि) ।

– खेरजाने वस्तुहरूको न्यूनीकरण (Reuse, recover, recycle)
– प्रदूषण नियन्त्रण र न्यूनीकरण ।
– जैविक विविधताको सम्मान र संरक्षण ।

घ) नैतिक आचरण तथा आत्मिक चेतना : केही सामान्य मान्यता

– प्रत्येकलाई उसको अंश अनुसारको व्यवहार (To each person an equal share)

– प्रत्येकलाई उसको आवश्यकता अनुसारको व्यवहार (To each person according to need)

– प्रत्येकलाई उसको प्रयास अनुसारको व्यबहार (To each person according to effort)

– प्रत्येकलाई योगदान अनुसारको व्यवहार (To each person according to contribution)

– प्रत्येकलाई उसको क्षमताको आधारमा व्यवहार (To each person according to merit)

– प्रत्येकलाई विनिमयको आधारमा व्यवहार (To each person according to market)

– सबैलाई मानवीय व्यवहार (To each person for humane behavior) समुदायको एक सदस्य खुसी भयो भने समूहका सबै नै आनन्दको अनुभूति गर्दछन् (If one part suffers, all the part suffer with it, if one part is honored, all the part share the joy. Do not do to other what you do not want done to yourself.) मायाले काम र आत्मलाई एकत्वीभूत गर्छ । सहकारी मार्फत समूह हित र सकरात्मक सोच र मानवीय मूल्य विस्तार गर्न सकिन्छ ।

 

दिगो समाजका लागि सहकारीको भूमिका

समाज व्यक्तिहरूको सामूहिक भावना र क्रियाशीलताको पुञ्ज हो । सहकारी समुदायका सदस्यहरूको आफ्नो इच्छाको संस्था, आफ्नो क्षमताको व्यवसाय र आफ्नो भावनाको अभियान हो, जहाँ उनीहरू आफ्नो भावना, सामथ्र्य र चाहनामा आफूहरूको सामूहिक लाभका लागि स्वयं परिचालित हुन्छन् । परिचालनको क्षेत्र आर्थिक, सामाजिक, वातावरणीय र सांस्कृतिक सबै हुने भएकोले दिगो समाज निर्माणका सबै आयाममा यसले भूमिका खेल्न सक्छ । कतिपय क्षेत्रमा उदाहरणीय भूमिका देखाइसकेको पनि छ । तर यस प्रकारको भूमिका निर्वाहका लागि सार्वजनिक नीति संयन्त्रबाट प्रोत्साहन र संरक्षण भने प्राप्त हुनुपर्दछ । सहकारीले खेल्न सक्ने भूमिकालाई बुदागत रूपमा यस प्रकार उल्लेख गर्न सकिन्छ :

 

क) आर्थिक भूमिका

–              स्थानीय बचत परिचालन

–              स्थानीय सीप परिचालन

–              समावेशी आर्थिक वृद्धि

–              रोजगारी र सीप विकास

–              अर्थतन्त्रको स्थानीयकरण

–              आर्थिक अन्तरसम्बन्ध विकास

–              शहर–गाउ, सदरमुकाम–मोफसल सम्बन्ध स्थापना

–              विश्वव्यापीकरणको स्थानीयकरण

–              आर्थिक संरचना र उत्पादन संगठन परिवर्तन

–              आर्थिक दक्षता र स्रोत साधनको विवेकशील प्रयोग

 

ख) सामाजिक भूमिका

–              सामाजिक समावेशिता

–              सांस्कृतिक अन्तरघुलन

–              सामाजिक पूजी निर्माण

–              सामाजिक पदसोपानको न्यूनीकरण

–              सहकारी संस्कृति निर्माण

–              सामाजिक नेतृत्व विकास

–              लैङ्गिक न्याय र सशक्तीकरण

–              सामाजिक द्वन्द्व समाधान

–              सबै मूल्यवान छन् भन्ने अनुभूति

–            Together we better को अनुभूति

ग) वातावरणीय विनाशको नियन्त्रण

–              मानव जीवन सुरक्षाको सुनिश्चितता

–              नवीन तथा वैकल्पिक प्रविधिको विकासमार्फत स्रोत संरक्षण

–              प्राकृतिक साधनहरूको अतिउपयोगको नियन्त्रण

–              नवीकरणीय उर्जाको विकास

–              जैविक विविधता संरक्षण

–              जलाधार संरक्षण, नयाँ पानीको उपयोग

–              स्वच्छ विकास संयन्त्र र रैथाने प्रविधि प्रयोग

–              स्थानीय अनुकूलन कार्यक्रम

 

घ) नैतिक र आत्मिक आयाम

–              ज्ञान, सीप, क्षमता र चरित्र निर्माण

–              सभ्यता, संस्कृति र सामाजिकीकरण

–              सकारात्मक सोच र असल संस्कृति विकास

–              समाजको विवेकपूर्ण पुननिर्माण

–              असल बुझाई, असल चाहना र असल कार्य थालनी

–              नकारात्मक सामाजिक मूल्य विगठन

–              नागरिक शिक्षा र अभिमुखीकरण

–              साना स्वार्थको समपर्ण र साझा मूल्य स्थापना

–              आत्मचेतना र स्वयं अनुशासन कायम

–              संसारलाई सरल बनाउने काम नै ईश्वर हो भन्ने बोध ।

 

दिगो विकास लक्ष्य र सहकारी

दिगो समाजका लागि दिगो विकास एक महत्वपूर्ण अवयव हो । यसै कुरालाई हृदयंगम गरेर दिगो विकासमा जोड दिने अन्तर्राष्ट्रिय एजेण्डा तयार भएको छ जसले ‘हामीले चाहेजस्तो विश्व’ (The future we want) को मानव चाहना पूरा गर्न सघाउछ । दिगो विकास लक्ष्य सन् २०१६ देखि २०३० सम्मका लागि विकासको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मार्गचित्र हो । यस डेढ दशकको अवधिमा राष्ट्रिय नीति कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहयोगलाई यसले निर्दिष्ट गर्दछ ।

आगामी डेढदशकभित्र विश्वमा देखिएको भोक, रोग, अशिक्षा, असमानता, वञ्चिती, कुशासनबाट विश्वलाई मुक्त गरी समृद्ध मानव समाज निर्माणका लागि यसले बृहद मार्गदर्शक खाका दिएको छ । यस खाकामा परिवार, समुदाय, राष्ट्रिय तथा विश्वतहमा गरिने सबै विकासमूलक कार्यलाई समेटेको छ । त्यसैले यसका १७ लक्ष्य, १६९ परिणामात्मक लक्ष्य र २३२ मापनयोग्य सूचक पूरा गर्न सहकारी महत्वपूर्ण संयन्त्र बन्न सक्दछ । किनकी दिगो विकासको स्थानीयकरण एवम् साझेदारी कार्यमा यसको महत्वपूर्ण योगदान रहन सक्दछ । विश्वका करिब सवा अर्व सहकारी सदस्यको परिचालनले दिगो विकासका लक्ष्यलाई प्रत्यक्ष सहयोग पु¥याउने हैसियत राख्दछन् । सारमा भन्दा सहकारीले यी तीन सन्दर्भमा दिगो विकास लक्ष्य पूरा गर्न महत्वपूर्ण भमिका निर्वाह गर्न सक्दछन् :

– सहकारी आफै आर्थिक संगठन हो (बचत तथा लगानीमार्फत आर्थिक सहभागिता, रोजगारी सिर्जना, आपूर्ति सम्बन्ध र सीप विकास मार्फत दिगो विकासमा परिचालित हुन सदछन्) ।

– सहकारी सामाजिक संगठन हो (सुरक्षा, सहयोग, योगदान, सामाजिक हेरचाह, न्याय र समावेशिता मार्फत सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण काम गर्न सक्दछन्) ।

– सहकारी वातावरणीय पात्र हो (प्राकृतिक स्रोत साधन व्यवस्थापन र उपयोगमा दिगोपना प्रवद्र्धन गर्न सक्दछन्) ।

 

उपसंहार

नेपालको सन्दर्भमा कुरा गर्दा कलिलो लोकतन्त्र, असीमित जनआकांक्षा, कमजोर संस्थागत क्षमता र न्यून स्रोत परिचालनको अवस्थामा त्यो अभाव पूरा गर्न सहकारीले महत्वपूर्ण योगदान गर्न सक्दछ । गरिबी न्यूनीकरण होस् वा कृषिको उत्पादकत्व विस्तार मार्फत भोकमरी नियन्त्रण गर्न, समावेशी संस्कृति निर्माण गर्न होस वा उत्पादन र उपभोग प्रवृत्तिको सुधारमार्फत स्रोतसाधनको कार्यकुशलता प्रवद्र्धन गर्न सहकारी स्वयम परिचालनको नागरिक क्षेत्र हो । सहकारी अभियानमा प्रत्यक्ष संलग्न ६३ लाख सदस्यले दिगो समाजका लागि आवश्यक सोच, शैली, साधन, कार्य सवै क्षेत्रमा आशातित उपलव्धि दिन सक्दछ ।

त्यसैले सहकारी दिगो विकास र दिगो समाज निर्माणको महत्वपूर्ण अभियान हो । स्व.इन्दिरा गान्धीले भने झै सहकारी आन्दोलनजस्तो सम्पूर्ण रूपले सामाजिक उद्देश्यको शक्तिशाली औजार अरू कुनै छैन । किनकी यसले आफ्नो र समुदायको साझा हितका लागि निस्वार्थ कार्य गर्दछ । तर त्यहा सामूहिकता, जवाफदेहिता र सशक्तीकरण, लोकतन्त्र एवम् रणनीतिक नेतृत्व प्रोत्साहित हुनुपर्दछ ।

(यो लेख सहकारी विभागको प्रकाशन ‘सहकारी दर्पण’बाट साभार गरिएको हो । सं.)

अभिलेख

लोकप्रिय