२४ असोज २०८१, बिहिबार

सहकारी र कोरोना

२०७६ चैत ११, मङ्गलबार
सहकारी र कोरोना

दीपेन्द्र राउत

नेपालमा सहकारीको सुरुवात विपत्ति, महामारीबाट भएको हो । विपत्त, महामारीमा सहकारी नै उत्तम विकल्प हुने कुरा इतिहासले प्रष्ट पारिसकेको छ । शोकलाई शक्तिमा, विपत्तीलाई संयमतामा परिणत गर्नका लागि सहकारी नै उपयुक्त माध्यम हो । विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी भनेको छ ।

विश्व भर कोरोनाको प्रकोप बढ्दो छ । चिनको वुहान शहरबाट सुरु भएको यो रोगले विश्व भर फैलिएको छ । विश्वलाई त्रसित बनाएको यो कोरोनाले सहकारीलाई के गर्यो होला ?, विश्व बजारमा आर्थिक मन्दी छ । उद्याोग, कलकारखान लगायतका अनिश्चित समयको लागि बन्द भएका छन् । रोजगारीबाट बेरोजगारी हुन थालिएको छ । यी यस्ता घटनाले पनि आर्थिक मन्दी निम्तियाउँछ । नेपालमा कुल जनसंख्याको २१ प्रतिशत जनसंख्यासंग प्रत्यक्ष जोडिएर सहकारीले कारोबार गरि रहेको छ । सहकारीले ५० हजारले प्रत्यक्ष रोजगारी र ५ लाखले अप्रत्यक्ष रोजगारी पाएको तथ्यांक हामीसँग छ । कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रको पहुँचमा २० प्रतिशत योगदान सहकारी क्षेत्रको रहेको छ । वित्तीय कारोबार गर्नेमा वाणिज्य बैंकपछि सहकारी रहेको छ । सहकारी विभागको तथ्यांक अनुसार सहकारीमा ७३ अर्ब १७ करोड सेयर पुँजी, ३ खर्ब २ अर्ब बचत संकलन र २ खर्ब ७३ अर्ब ऋण लगानी भएको छ । तर यर्थाथमा सहकारीमार्फत १० खर्ब हाराहारीमा वित्तीय कारोबार हुने गरेको छ ।

यति बेला सहकारीकर्मीहरुले चिन्तन र चासो लिने बेला आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले अत्यावश्यक बाहेकका सेवाहरु चैत्र ९ गते देखि २१ गते सम्मका लागि बन्द गरेको छ । यस्तो अवस्थामा सहकारीको सेवा कसरी नियमित रुपमा संचालन गर्ने भन्ने बारेमा अन्योल सृजना छ । वित्तिय कारोवार गर्ने सहकारी संस्थाहरुले पर्याप्त तरलता नराख्ने, सदस्यको पैसा सदस्य बीचमा नै लगानी गरिने र कोरोनाको त्रासले व्यापार व्यवसायमा मन्दि सँगै सदस्यहरुलाई दैनिक, साप्ताहिक, मासिक वचत गर्न अफ्ट्यारो हुने भएको हुँदा वित्तिय कारोबारलाई निरन्तरता दिन गाह्रो हुने आम सहकारीकर्मीहरुको ठम्याई हो ।

यो आर्टिकल लेखिरहँदा नेपालमा १ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । खुला सिमा क्षेत्रले पनि नेपाल उच्च जोखिम हो भन्न सकिन्छ । देशमा रहेका ३५ हजारभन्दा बढि सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिवीधि गरि रहँदा कोरोना भाईरसको रोगथामका उपायहरुलाई पनि आफ्ना सदस्यहरु माझमा सचेतना कार्यक्रमहरु गरेका छन् । राज्यले निर्दिष्ट गरेका निर्देशनलाई सहकारीले पुर्ण पालन गदै आएका छन् । सदस्यहरु सँग प्रत्यक्ष जोडिएर कारोबार गर्ने सहकारीले सदस्यहरुलाई कोरोना भाईरसका बारेमा सुसुचित गर्दै सदस्यहरुलाई कोरोना भाईरसबाट बचांै र बचाऔं भन्ने बारेमा जानकारी गराउनु सहकारीको मुल मर्म र अहिलेको आवश्यकता हो । सदस्यहरुको आर्थिक, सामाजिक विकास नै सहकारीको मुल ध्येय बनी रहँदा कोरोनालाई न्युनिकरण गर्नु अहिले सहकारीको पनि कर्तव्य हो । महामारीबाट बाँच्न पैसा हैन, सुरक्षा अपनाउनु पर्दछ ।

आज विश्वमा फैलिएको कोरोनालाई कन्ट्रोल गरेर चिनले पुष्टी गरि सकेको छ । त्यसैले पनि आम सदस्यहरुले यो कुरा बुझ्नु पर्दछ सुरक्षा अपनाउनु भन्दा अरु विकल्प छैन । भिडभाड नगर्नु, भिडभाडमा नहिड्नु, सेल्फ क्वारेन्टाइनमा बस्नु भनेर राज्यले भनि रहँदा सहकारीकर्मीहरुले पनि यसलाई अंगाल्नै पर्छ । देश आज कोरोना भाईरसले त्रसित रहँदा पैसाको चलखेल पनि अत्याधिक हुने गरेको छ । आवश्यक भन्दा बढी सामाग्रीहरुको जोहो नगरौं, आफुले आबश्यक भन्दा वढी सामान लिई रहँदा अरुलाई नपुग्न सक्छ । बजारमा सामानहरुको अपुग हुन सक्छ । डिमान्ड धेरै हुँदा मुल्य बृद्घि समेत हुने हुँदा सचेत रहन सम्पुर्ण सदस्यहरुलाई सुसुचित गराउनु पर्दछ । विभिन्न सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई कसैले व्याज मिनाहा गरेको घोषणा गरे भने कतिले क्यासलेस कारोबारमा जोड दिएका छन् । सदस्यद्वारा नियन्त्रित सहकारी भएको हुँदा सदस्यहरुको सुरक्षा र चिन्ता सहकारी संस्थाहरुले लिनै पर्छ । सदस्यहरुले पनि सहकारी संस्थामा बचत गरेको रकमहरुलाई आवश्यकता भन्दा बढी निकाल्नु हुँदैन । विश्वभर कोरोनाले त्रसित बनाउँदा बैंक तथा वित्तीय संस्थाहरुलाई खासै प्रभाव परेको पाईएन किन होला भनेर बुझ्दा क्यासलेस विश्व बजार भएर होला भन्ने मेरो ठम्याई रह्यो ।

हाम्रो देशमा केही भई सक्दा आवश्यकता भन्दा बढी सामाग्री तथा पैसाको जोहो गर्ने परम्परा रहेको हँुदा पनि बैंक वित्तीय संस्था तथा खाद्यान्नको अपुग हुने गरेको पाईन्छ । यदि क्यासलेस भएर कार्य गर्ने हो भने नगद पैसा बोक्नै पर्दैन त्यसैले जति आवश्यक छ त्यति नै मात्र खपत हुने हुँदा तरलताले खासै प्रभाव पार्दैन । बैंक तथा वित्तीय संस्था दुर्घटनाको जोखिमबाट बच्न सक्छन् । कोरोनाको त्रास सँगै सहकारीले डिजिटल कारोबार बढाउनु पर्ने भन्ने बारेमा पनि बहस र चर्चा चली रहेको छ । विपत्तीले मानिसलाई जोड्छ । आवश्यकता महसुस गराउँछ । सोही अनुरुप आजको आवश्यकता भनेको कोरोना भाईरसको रोकथाम नै मुख्य रहेको हुँदा सहकारी क्षेत्रले राज्यसँग हातेमालो गर्दै अगाडी बढनु पर्दछ । देशको सुरक्षा, सदस्यहरुको सुरक्षा गर्नका लागि समग्र सहकारी क्षेत्र एक ढिक्का भएर कोरोना भाईरसको विरुद्घमा लडन अगाडि बढनु आजको आवश्यकता हो । जसरी सहकारीको इतिहास भनेको छ त्यसरी नै विपत्ति, महामारीको विरुद्घमा लड्न सहकारी क्षेत्र सफल बन्न सकोस् । एकका लागि सबै सबैका लागि एक भन्ने सहकारीको मुल मर्मलाई कोरोना विरुद्घमा लगाई सहकारी क्षेत्रलाई अझ स्थापित गर्नुपर्छ । आम मानिसमा सहकारीको मर्म र भावना अझ उच्च बनाउनु आजको आवश्यकता हो । अन्तमा, कोरोना भाईरसबाट आफु पनि बाचौं अरुलाई पनि बचाऔं ।

जय सहकारी ।

(लेखक शिखर साकोस, बिर्तामोड झापाका अध्यक्ष हुनुहुन्छ)

अभिलेख

लोकप्रिय