८ वैशाख २०८३, मङ्गलबार

प्रकाशकीय: सहकारी अभियानको सारथी ‘सहकारीखबर’ १४ औँ वर्षमा

२०८२ चैत २०, शुक्रबार
प्रकाशकीय: सहकारी अभियानको सारथी ‘सहकारीखबर’ १४ औँ वर्षमा

रुपान्तरणको उत्कट चाहना अनुरुप देशले थुप्रै नयाँ अनुहारसहितको उर्जाशील बहुमतको सरकार पाएको छ । जसले नागरिकका साना र मसिना विषयहरु समेटेर आफ्नो कार्यसूची सार्वजनिक समेत गरिसकेको छ ।

व्यवस्थासँगै थुप्रै सरकार परिवर्तन भइसक्दा पनि नेपालीको अवस्था नफेरिएको गुनासो पुरानै हो । सामान्य नागरिकसँग सामान्य गुनासाहरु छन् । उनीहरुका चाहना र अपेक्षा धेरै ठूला छैनन् । जसको परिणाम आज जताततै परिवर्तनको बिगुल बजिरहेको छ ।

तर देशको कायालपट सरकार एक्लोको चाहनाले मात्र सम्भव हुँदैन । त्यसका लागि हरेक नागरिक, पेशाकर्मी समाजका प्रत्यक अंगहरुले आफूलाई बदल्न जरुरी छ । सरकारको अभियानमा साथ र खबरदारी दुबै आवश्यक छ । मान्छेले दुनियालाई ढाँट्न सक्छ, तर आफैलाई होइन । एउटा विद्यार्थीका काम र कर्तव्य अभिभावकले गरेको लगानी सम्झेर आफूलाई नढाँटी पढिदिनु हो । एउटा शिक्षकले इमान्दारिपूर्वक अध्यापन गराएर, व्यापारीले कालोबजारी नगरेर, कर्मचारीले इमानदारी, जिम्मेवारी र वफादारिकाबोध गरेर कर्तव्यपालना गरिदियो भने देश बन्न टाढा छैन ।

परिवर्तनको अर्थ नवीन सोचसहितको सरकार, राजनीतिक स्थिरतासँगै सबल र आत्मनिर्भर अर्थतन्त्र पनि हो । सुदृढ अर्थतन्त्र विना समृद्धि केवल सपना हुन्छ । त्यसका लागि अर्थतन्त्रका सूचकहरु सकारात्मक हुनु वाञ्छनीय छ । वित्तीय क्षेत्रमै गलत नियत भयो भने अर्थतन्त्र धराशायी हुने खतरा रहन्छ । त्यसैले वित्तीय क्षेत्र सजग भएर सारथी बनिदियो भने, सुरक्षा निकाय कर्तव्यनिष्ठ भइदियो भने, न्यायालयले सही न्याय गरिदियो भने, एउटा पत्रकारले सँधै इमानको कलम चलाइदियो भने, कवि, गीतकार वा साहित्यकारले दुःखको सिर्जना गर्ने दिन रहीरहने छैन । अरुलाई सुधारको दर्शन पढाएर होइन, आफैबाट सुधार गर्ने कदम हामीले चालेछौँ भने देशबन्न दिन लाग्दैन ।

अब कुरा गरौं, सहकारी क्षेत्रको । यसमा पनि थुप्रै परिवर्तन र सुदृढीकरण आवश्यक छ । सरकारको गतिलाई यसले पनि समाउनुपर्छ अनि मात्र प्रतिबद्धताहरु पूरा हुन्छन् । खबरदारी गर्ने काममा सहकारी खबर सधैं लागिपर्नेनै छ ।
सहकारी क्षेत्रलाई नै सुदृढ बनाउँदै अर्थतन्त्रमा सकारात्मक योगदान दिने काममा पत्रकारिताको माध्यमबाट सहयोगी बन्ने दृष्टिकोणले २०६९ चैत्र २० गतेदेखि ‘पहिलो सहकारी डिजिटल पत्रिका’ को रुपमा यसको प्रकाशन आरम्भ गरेका थियौँ । यसको उद्देश्य अर्थतन्त्रका तीन आधारस्तम्भ मध्ये एक सहकारी क्षेत्रको खबरदारी, साझेदारी र सकारात्मक कदममा हिस्सेदार बन्ने थियो । अनि, सधैं रहिरहनेछ ।

सहकारी अभियानको सारथी सहकारीखबर आज १४ औँ वर्षमा प्रवेश गरेको छ । यस गौरवपूर्ण अवसरमा हामी हाम्रा आदरणीय पाठकवर्ग, सूचना तथा विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यो साथ यस्तै रहीरहनेछ भन्ने अपेक्षा उस्तै छ ।

सहकारी क्षेत्रमा निष्पक्ष, तथ्यपरक र व्यावसायिक पत्रकारितालाई स्थापित गर्ने उद्देश्यसहित सुरु गरिएको सहकारीखबरले प्रारम्भदेखि नै सहकारी अभियानका गतिविधिहरूलाई व्यापक रूपमा उजागर गर्दै आएको छ । यस क्षेत्रका कमीकमजोरीलाई समयमै उजागर गरेर सुधारका लागि खबरदारी गर्ने कार्यमा पनि सहकारीखबर सदैव सचेत रहँदै आएको छ । पाठकहरूले हामीमाथि राख्नुभएको विश्वासलाई हामीले उर्जा र प्रेरणाका रूपमा लिएका छौं ।

संविधानले मान्यता दिएको सहकारी क्षेत्रभित्र देखिएका विकृति, विसंगति, नीतिगत कमजोरी, पारदर्शिता र सुशासनका चुनौतीहरूमाथि सहकारीखबरले खबरदारी मात्र गर्दै आएको छैन, यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, रोजगारी र सामाजिक विकासमा पु¥याएको योगदान, सफल अभ्यास र सकारात्मक प्रयासहरूलाई उजागर गर्नुलाई पनि हामीले आफ्नो धर्म ठानेका छौँ ।

तर, अर्थतन्त्र संकुचित हुँदै गएको र विज्ञापन बजार समेत साँघुरिँदै गएको वर्तमान अवस्थामा सञ्चार माध्यम सञ्चालन गर्नु सजिलो भने छैन । यद्यपि, कठिन परिस्थितिमा पनि सहकारीखबर आफ्नो दायित्वबाट कहिल्यै विचलित भने नहुने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

अभिलेख

लोकप्रिय