१५ चैत्र २०७९, बुधबार

सहकारीमा मेरो एक दशक

२१ आश्विन २०७७, बुधबार
सहकारीमा मेरो एक दशक

 

दीपेन्द्र राउत

सहकारी संस्था स्थापना गर्न मनमा जोश र जागर थियो । सहकारी स्थापना गर्न २५ जना स्थानिय व्यक्ती चाहिन्छ भनेर साथिहरु खोज्दै थिए । कति साथीहरुले मेरो प्रस्तावलाई स्वीकार गरी नागरिकता र फोटो दिनु भयो । कति साथीले पत्याउनु भएन । पाँच गाविस कार्य क्षेत्र बनाएर संस्था स्थापनाको लागि ४४ भएछौं । ४४ हजार शेयर पुँजीबाट संस्था दर्ता भयो । संस्था दर्ता भए पनि हामीलाई संस्था संचालनको ज्ञान थिएन । तसर्थ, स्थापनाको तीन महिना संचालन विधि जान्न र बुझ्न साथीहरुसँग सम्पर्कमा रहें । नियामक निकायसँग जान्न र बुझ्न खोजे । सहकारी अभियान्ताहरुको साथले केही जानेपछि २०६७ साल असोज २२ गते औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेर सहकारी खोलियो । इच्छा शक्ति गरेपछि के जान्न सकिँदैन र भन्ने ज्वलन्त उदाहरण सहकारी बन्यो । समितिका साथीहरुको साथ, कर्मचारीको मिहेनत र सदस्यहरुको विश्वासले सहकारी दिन प्रति दिन बढ्दै गएको थियो । एक जना बजार प्रतिनिधी, एक जना टेलर कर्मचारी र एक जना व्यवस्थापकबाट संचालनमा आएको संस्था केही समयपछि नै कर्मचारी थप गरियो ।

स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुको आर्थिक सहभागिता, शिक्षा तालिम र सूचना, समुदाय प्रति चासो, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, स्वायत्तता र स्वतन्त्रता, सहकारीहरु बीच पारस्परिक सहयोग यी सहकारीका सात सिद्धान्तले सहकारीको मुल मर्म दर्साउँछ । आजको समाज हेर्दा मानिस म र मेरो लागि मात्र भन्ने र सोच्ने बेलामा सहकारी यस्तो क्षेत्र रहेछ जसले आफ्नो लागि भन्दा अरुका लागि गर्नु पर्ने रहेछ । दैनिक जसो सदस्यहरुसँगको प्रत्यक्ष भेटले सदस्यहरु प्रतिको आफ्नो जिम्वेवारी बढदो रहने रहेछ । सामुहिक निर्णय, समुदायमा छलफल र समुदायको हित नै सहकारीको उच्चतम प्रतिफल रहेछ । सहकारी सदस्यहरुको बीचको सहकार्यबाट चल्ने रहेछ । सहकारीको एक मात्र लक्ष्य सदस्यहरुको हित हो ।

एकका लागि सबै, सबैका लागि एक सहकारीको मुल भाव भएको हुँदा सहकारीमा सदस्यहरुले सोही भाव अनुरुप अगाडि बढनु पर्ने रहेछ । शिप नहुनेलाई शिपसँग जोड्नु, पुँजी नहुनेलाई पुँजी उपलब्ध गराउनु, व्यक्तित्व विकास, नेतृत्व विकास सहकारीले सिकाउने रहेछ । हरेक गतिविधी सामुहिक निर्णयबाट हुने हुँदा समुह सहकार्य नै सहकारीले सिकाउने रहेछ । सहकारीको थालनी गरी रहँदा, सदस्य बीचमा काम गरी रहँदा सय, हजार हुँदै सदस्यको वृद्धि हुँदै जाँदा संस्थामा नेतृत्वले गर्दा एक प्रकारको नेतृत्वको विकास पनि हुने रहेछ । मलाई मासमा बोल्न धेरै अफ्ट्यारो लागेर आउँथ्यो, माईक देख्दा डर लाग्थ्यो, के बोल्ने होला भनेर शरिर नै काम्थ्यो तर आज त्यो अवस्था रहेन । समयको अन्तराल सँगै यसमा कन्फिडेन्स बढ्दै गयो । समुहको नेतृत्व गरी रहँदा कति क्षण विभिन्न अवरोधहरु पनि नआएका हैनन् तर साथीहरुको साथ र हौसलाले ती अवरोधहरुलाई चिर्दै आफ्नो गन्तव्य तिर लम्किई रहे ।

साथीहरु भन्ने गर्नु हुन्थ्यो दीपेन भिड लिएर हिँडेको छौं दुई चार जना भिडमा नकारात्मक सोचका व्यक्तिहरु हुन्छन् नै त्यस्ता साथीहरु नै हाम्रो सफलताको सिढी हुनुहुन्छ । हामी सचेत रहेर आफ्नो लक्ष्यमा लाग्नु नै उत्तम विकल्प हुन्छ भन्दै मलाई राय सल्लाह दिनु हुन्थ्यो । सहकारीको क्षेत्र भनेको भिन्न रहेछ जहाँ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । समाज र समुदायको हित नै सर्वोत्तम विकल्प हुन्छ । मानिस जन्मेपछि उसको पछाडि धेरै जिम्मेवारी रहन्छ । अझ हामी कुनै न कुनै पेशा, व्यवसायसँग अवद्घ रहनै पर्ने । नामको पछाडि तपाई के गर्नु हुन्छ भनेर प्रश्न तेर्सी हाल्छ । के, कहाँ, के गर्नु हुन्छ ?, भनेर नसोध्ने सायदै कम भेटिन्छन् ।

१० बर्षसम्म बहुराष्ट्रिय कम्पनीमा काम गरेँ । जन्म गाउँमा जागिर छोडेर आउँदा नयाँ काम भएको थियो । मलाई केही मानिसले मात्र चिन्ने गरेका थिए । मलाईभन्दा बढी मेरो भाईलाई चिन्थे । सबैले मलाई उमेशको दाजु भनेर चिने । मलाई पनि राम्रै लाग्यो भाईको नाम राम्रै थियो । जागिरको क्रममा म वर्षमा ६ दिन मात्र घरमा रहन्थे । त्यसैले पनि मलाई खासै चिन्दैन थिए । भाईको साथी अनि साथीहरुको साथ नै मेरो सहकारीको प्रगतिको सिँढी रह्यो । जब सहकारीको सुरुवात भयो मेरा स्कुल पढ्दाको साथीहरु, बालापनको साथीहरु व्यवसायिक साथीहरु सबैसँग मेरो निरन्तर भेटले थप सम्बन्ध गाढा बन्दै गयो । स्थानिय उद्यमशिल युवामा हामीलाई हेरिन थाल्यो । नियामक निकाय, सहकारी संघ, उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको पनि हामी अभिन्न अंग बनी सकेका थियौं । विर्तामोड धेरै विकास भै सकेको रहेछ । नयाँ नयाँ अनुहारहरु यहाँ छाई सकेको रहेछ । व्यवसायिक प्रतिष्ठानहरु ठुला ठुला खुली सकेका थिए । शिखर साकोसबाट पचास हजार ऋण माग्ने व्यवसायीहरु पचास लाख माग्न थाली सकेका छन् । प्रत्यक्ष सहकारीसँग आवद्घ रहँदा र व्यवसायी सदस्यहरुको व्यवसाय हेर्दा भेलीका व्यवसायिक कुल घराना बन्ने व्यवसायीहरु यिनै हुन भन्ने मलाई लाग्थ्यो । धेरै व्यवसायीहरु शिखरको प्रगति सँगै उहाँहरुको पनि आर्थिक प्रगति हुँदै थियो । शिखर साकोसको प्रगतिमा ती आम सदस्यहरुको साथ सहयोग रहेको छ । जसले प्रत्यक्ष कारोबार गरी दिनुभयो । अनि विश्वास र भरोसा शिखरलाई बनाई दिनुभयो । वित्तीय संस्था भनेको विश्वासमा चल्ने रहेछ । जति पुरानो भयो त्यति नै विश्वास बढेर जाँदो रहेछ । संस्थामा रहेको पैसा पनि समय बढे सँगै बढेर जाने रहेछ । वित्तीय कारोबार गर्ने संस्था आज राम्रो छ भनेर सधै राम्रो नरहन पनि सक्छ किनकी तरलता ले र बजारको आर्थिक गतिविधीले संस्थालाई असर गर्न सक्छ । त्यसैले हरेक दिन संस्था प्रति सचेत र सुरक्षित कसरी रहन सकिन्छ भनेर चिन्तित् रहनु पर्दछ ।

आज (असोज २२) बाट शिखर साकोस १० वर्ष पुरा भएको छ । शिखर साकोस मात्र १० वर्ष भएको छैन मेरो पनि सहकारीमा दश वर्ष पुरा हुँदैछ । सहकारीमा आवद्घ भएर अध्यक्ष भएको पनि मेरो पहिलो अनुभव हो । २०६७ सालमा संस्थाको परिकल्पना गर्दा नाम जुराउने, विनियम बनाउने र संस्थामा अध्यक्षको बन्ने भन्ने पनि निकै चर्चा रहेको थियो । त्यो समय मैलै आदरणिय दाजु नरेन्द्र बराललाई अध्यक्ष प्रस्ताव गरेको थिए । तर, दाजुले उल्टै दीपेन तँ आफै अध्यक्ष बस् । बरु म उपाध्यक्ष बस्छु, किनकी यसमा सम्पूर्ण देन तेरै छ भनेर प्रस्ताव राखेको दिनदेखि म निरन्तर अध्यक्ष रहेको छु । दाजुको साथ सहयोग निरन्तर रह्यो । मेरा स्थापना कालका केही साथीहरु आज हुनु हुन्न तर पनि उहाँहरुको योगदानको उच्च सम्मान गर्दछु । आज संस्थालाई हेर्दा कति स्मुथ र कति सिस्टमा चलेको छ भन्ने लाग्छ तर यो देन संस्थापकहरुको हो । त्यो बेला समितीका साथीहरुलाई हरेकले मासिक २० वटा राम्रो कारोबार गर्ने सदस्य बनाउनु पर्ने भन्ने थियो सोही अनुरुप साथीहरुले सदस्य बनाउनु भएको थियो । न सहकारीको कुनै ज्ञान, न कुनै स्कुलमा पढियो तर पनि शिखर साकोसलाई समितीका साथीहरुको मिहेनतले बिर्तामोडमा अब्बल संस्थामा उभ्याउनु भयो ।

हरेक बिहानीसंँगै जिम्मेवारी पनि बढी रहेको छ । हिजो ४४ हजारबाट सुरुवात भएको संस्था आज ६० करोड पुगेको छ । सदस्यहरुको दिन प्रति दिनको विश्वासले हामीलाई झन् बढी जिम्मेवारी बन्नु पर्ने भएको छ । सदस्यहरुको विश्वास र भरोसालाई अझ विश्वस्त बनाउँदै लैजानु पर्ने भएको छ । एक दिनको कुरा हो हामी काठमाडाैैंमा क्याम्पस पढ्दाका साथीहरु भेला भएका थियाैैं । जुन बेला अभाव थियो । हाम्रो जीवनमा दुःख थियो । गोजीमा पैसा थिएन । जागिर थिएन तर पनि हामी दुःख गर्दै थियौं । सोही बेलाका साथीहरु भेला भएर गफ गर्दै गर्दा एक जना साथीले भन्यो हेर दीपेन जो मान्छेले एउटै व्यवसायमा दश वर्ष बिताउँछ उसले काठमाडौंमा घर बनाउँछ भनेर भन्दा सबैले हिसाब गरेका थिए । आज सबैको आफ्नो घर काठमाडौंमा थियो । हेरेक क्षेत्रमा निरन्तरता, इमान्दारिता र लगनशिलता भयो भने सफलता प्राप्त गर्न सकिन्छ । त्यो हाम्रो साथीहरुको ठम्याई थियो ।

आज मलाई खुसी लागेको छ, शिखर साकोस पनि १० वर्ष पार गरिरहँदा उसले आफ्नो घर पाएको छ । हामी आफुले पाएकोमा खुसी गर्छौ तर सहकारी भनेको अरुले पाएकोमा खुसी मान्नुपर्छ । दश वर्षमा मैले सहकारीबाट इज्जत पाए सम्मान पाए अनि आम सदस्यहरुको विश्वास पाएको छु । जसलाई मैले मेरो जीवनको कमाई सम्झन्छु । हरेक सदस्यहरुको दुःखमा पुग्ने गरेका छाैैं । सदस्यहरुको दुःखलाई आफ्नो दुख सम्झेका छाैैं । आज मलाई देख्दा शिखर भनेर सम्बोधन गर्ने व्यक्तिहरु पनि पाउँछु । जुन मेरो लागि ठुलो इज्जत रहेको छ । आम सदस्यहरुको रोजाई शिखर साकोस भई रहँदा म मन, वचन र कर्मले पनि सदस्यहरुको विश्वास र भरोसालाई कहिल्यै विचलित हुन दिने छैन । मेरो जीवन नै आम सदस्यहरुको सर्वपरी हितमा रहने प्रण गर्दछु । हिजो म आम मानिसका लागि दीपेन थिए तर आज शिखर साकोसको अध्यक्ष भई रहँदा मेरो काम कर्तव्य र अधिकारबाट सदस्यहरुमा विभेद रहने छैन । एक दशकको मेरो सहकारी प्रतिको भावना र सिकाई निरन्तर रहने छ । म अझै पनि पुर्ण भएको छैन मेरो हरेक दिन सिकाई रहेको छ । बुझाई रहेको छ । जीवनमा यो दश वर्षमा जे सिके आगामी दिनमा अझ उत्कृष्ठ र अब्बल बन्ने मेरो प्रयास रहने छ ।

अन्तमा मेरो यो दश वर्षमा समितीको साथ कर्मचारीको मिहेनत र सदस्यहरुको विश्वास र भरोसा नै मेरो लागि मार्ग दर्शक रहने छ । नियामक निकायको निरन्तर साथ सहयोग र छाता संगठनहरुको खबरदारी नै मेरो सिकाई रहने छ । हालसम्म साथ सहयोग गर्नु हुने मेरा शुभचिन्तक, शुभेच्छुक, पत्रकार साथीहरु तथा मान्यवरहरुमा हार्दिक आभार प्रकट गर्दछु र आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा गर्दछु ।

जय सहकारी । जय शिखर ।

(राउत शिखर साकोस, बिर्तामोडका अध्यक्ष हुनुहुन्छ)

अभिलेख

लोकप्रिय