
दीपेन्द्र राउत
आज एक जना साथीले एउटा कुरा म सँग सेयर गर्नु भयो । बैंकबाट ऋण लिएको छु, फोन गरेर किस्ता तिर्न आउनु होला भन्यो । तीन वटा सहकारीमा थोरै थोरै सेयर राखेको छु । सानो तिनो बचत पनि गरेको छु भने एउटामा त ऋण समेत लिएको छु । दुई वटाले फोन गरेर केही अफ्ट्यारो छ की हजुरलाई भन्यो । एउटाले ऋणको ब्याजमा लकडाउन सुरु भएको मितिदेखि १० प्रतिशत छुट दिएका छौं र हर्जना ब्याज लाग्दैन यो समयमा घरमा नै बस्नुहोला । सुरक्षित रहनु होला । यदि अफ्ट्यारो परेमा कार्यालयमा वा सम्पर्क व्यक्तिलाई सम्पर्क गर्नु होला भनेर फोन नम्बर समेत दिनुभयो । संस्थाले एसएमएस समेत गर्यो । सहकारीमा भन्दा बढि बचत बैंकमा नै रहेछ, ऋण नै लिएको भएता पनि हिसाब हेरेको त । किन यस्तो बेलामा सहकारीले जस्तो व्यबहार बैंकले गर्न नसकेको होला सर ?, बल्ल सहकारीको सहकार्य बुझें । मैले उहाँलाई भने तपाईको सुख दुःखको साथी सहकारी नै हो बैंक त सुखको साथी मात्र हो । बरु तिन वटामा नभै एउटा सहकारीमा मात्र सदस्य रहनु होला मेरो अनुरोध । हुन पनि हो हाम्रो संस्थाका दुई दर्जन भन्दा बढी बैंकमा खाता छ । सधै निक्षेप दिनु पर्यो भनेर माकेर्टिङ गर्ने बैंकले हजुरहरुको संस्थालाई रकम चाहिएको छ की ?, भनेर एक कल समेत फोन गरेको छैन । बरु हजुरको निक्षेपमामा ब्याज १, २, ३, ३.५ प्रतिशत भयो भनेर फोन आएको छ । यो मेरो पनि अनुभव हो । यहि नै छ फरक सहकारी र बैंकमा । बैंक नचाहिने हैन चाहिन्छ तर नाफा कमाउन मात्र लाग्नु भएन हो । देख्नु भएन क्याहो पैसाले केही गर्दैन भन्ने कुरा । जसरी बचतमा ब्याज घटाउनु भएको छ त्यसरी नै ऋणको ब्याज समेत छिटै घटाई दिनु होस् मेरो अनुरोध ।
यी माथिका हरफहरु पोखरामा रहनु हुने सहकारीकर्मी मित्र मीलन ढकालले आफ्नो फेसबुकको स्टाटसमा लेख्नुभएको हो । मलाई मार्मिक लाग्यो, अनि एउटा सहकारीका सदस्यहरुको यर्थाथ चित्रण गरिएको पाँए । बैंकले आफ्ना ग्राहकलाई गर्ने व्यवहार र सहकारीले आफ्ना सदस्यहरुलाई गर्ने व्यवहारको यथार्थ वार्तालापका अंश मीलन सरले हुवहु लेखेर सबैलाई सेयर गर्नु भएको छ ।
मानिस कसैसँग प्रत्यक्ष भेट नभए पनि उहाँको विचार, व्यवहार र गरिने क्रियाकलापबाट प्रभावित भएको हुन्छ । मैले पनि मीलन सरलाई प्रत्यक्ष भेटेको छैन फोनमा दुई पटक गफ गरेको छु । उहाँसँगको फोनको गफ र उहाँले सहकारीको बृद्धि विकासमा गरेका गतिवीधिले म प्रभावित भएको छु । उहाँको अनुमति लिदैं यी माथिका भनाईबाट मैले यो लेखको थालनी गरेको हुँ ।
हामी सहकारीकर्मीले गर्व गर्ने संस्था पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्कीको मुख्य व्यवस्थापक भएर सहकारीको वृद्धि विकासमा विगत २ दशकभन्दा बढी समयदेिख उहाँको योगदान निरन्तर रहेको छ । उहाँको त्यो स्टाटसमा धेरै कमेन्ट आएको छ । प्रसंसनिय कमेन्टहरुले पनि सहकारीको मर्मलाई सार्थक बनाएको छ । एउटा संस्थाको जिम्मेवारी पदमा बसेर सदस्यहरुको यो अवस्थामा के स्थिती रहेको छ भनेर उहाँहरुको वार्तालापले पनि प्रष्ट पारेको छ । मलाई लाग्छ उहाँको त्यो वार्तालापका कुराहरु धेरै मानिससँग मिल्छ होला । यो विषम परिस्थितीमा मानिस कसरी बाँच्ने भन्ने अवस्थामा बैंकबाट बारम्बार फोन आएर तनाव नै बनाएको होला । व्यवसायीहरुको व्यवसाय सञ्चालनको कुनै टुङ्गो छैन । आफ्नो उधारो बेचिएको पैसा उठने छाँटकाँट छैन तर बैंकको बारम्बारको फोनले व्यवसायी त्रसित भएका छन् । लकडाउन अगाडी सहकारी संस्थामा बचत लिनको लागि बारम्बार फोन गर्ने बैंक, ब्याजको प्रलोभन देखाउने बैंक, निरन्तर सम्पर्कमा रहने बैंक आज यो विषम परिस्थीतिमा चुप छन् । भरसक सहकारीहरुले बचतमा रहेका पैसा नझिकिदिउ न भनेर बसेका छन् । बचत फिर्ता जाने पो हो कि भन्ने चिन्तामा छन् । अनि थाहै नदिई ब्याज घटाएका छन् । सहकारी र बैंक एक अर्काका परिपुरक संस्था हुन् । दुबै संस्था वित्तिय कारोबार गर्छन् । बैंकहरुले धितोमा कारोबार गर्छन भने सहकारीहरुले विना धितोमा पनि कारोबार गर्छन । बैंकको पहुँच नभएको ठाँउमा सहकारी पुगेका छन् । वित्तीय साक्षरता गराएका छन् । अनि थोरै थोरै गर्दै बचतको बानीको विकास गराएका छन् । जहाँ बैंकले ग्राहाक पत्याउँदैन । जहाँ असुरक्षित लगानी सम्झन्छ । ती बैंकका ग्राहक बन्न सक्दैनन् त्यस्ता मानिसलाई सदस्य बनाएर थोरै थोरै विना धितो लगानी गर्दै व्यवसायमा थप पुँजीको बृद्घि गराउँदै धितो नहुनेलाई धितो हुने बनाउँछ । घर नहुनेलाई घरहुने बनाउँछ । र अनि बैंकको लायक ग्राहक सहकारीले आफ्ना सदस्यलाई बनाउँछ ।
मीलन सरले भनेको बैंक भनेको सुखमा मात्र हो भने जस्तै हो की हैन बैंक ?, त्यो त आजको यो अवस्थामा बैंकले गरेको ब्यवहारले आम मानिसले बुझ्नु भयो होला ! अनि सहकारी संस्थाले यो अवस्थामा तपाईलाई गरेको ब्यवहार पनि सदस्यहरुले महसुस गर्नु भयो होला । यो अवस्थामा आफ्ना सदस्यहरुको अवस्था कस्तो छ ?, सदस्यहरुलाई अफ्ट्यारो परेको खण्डमा सहयोग गर्न तयार रहेको धेरै सहकारीहरुले बताएका छन् । सामाजिक उत्तरदायित्वमा पनि सहकारी अगाडी रहेका छन् एउटा जिल्ला कार्यक्षेत्र रहेर कारोबार गर्ने संस्थाले यो विषम परिस्थीतिमा सरकारलाई ५ लाखभन्दा माथि आर्थिक सहयोग गरेका छन् भने एउटा प्रदेश भन्दाबढी कार्यक्षेत्र रहेका बैंकहरुले पनि ५ लाख नै आर्थिक सहयोग गरेका छन् यसले पनि सहकारी संस्था र बैंकको सोचाई उजागर गरेको छ । सहकारी संस्थाहरु आफ्ना सदस्य प्रति र सामाजिक उत्तरदायित्वप्रति सचेत छन् । सरकारलाई सहयोग गर्न अग्र पंक्तिमा रहेका छन् । यसको ज्वलन्त उदाहरण झापाका सहकारीहरुलाई लिन सकिन्छ । जसले राहातको नाममा होस् कि अन्य कुनै पनि सामाजिक गतिविधिमा सहकारी संस्था अग्र पंक्तिमा रहने गर्दछ । सहकारी संस्था पनि बचत तथा ऋणकै कारोबार गर्ने भएको हुँदा सदस्यहरुलाई लगानी गरिएको ऋणले सदस्यहरुलाई बोझ नबनोस् । ऋण भनेको भारी हैन यो त आफ्नो व्यवसायलाई वृद्घी गर्न थप पुँजी हो । जसले व्यवसाय वृद्धि विकासमा ठुलो भूमिका खेल्छ । आय आर्जनमा बढोत्तरी गराउँछ । सदस्यहरुको बचत सदस्यहरु मै लगानी गरेर सदस्यहरुको वृद्घि विकासमा योगदान पुर्याउने सहकारीको उद्देश्य रहेको हुन्छ । सदस्यहरुको सुखमा मात्र हैन दुःखमा पनि सहयोगी सहकारीहरु बनेका छन् ।
बैंकले ग्राहकलाई ऋण दिन्छ अरु सबै लिन्छ । तर, सहकारीले सदस्यहरुलाई सेयर दिन्छ । सेयरमा लाभांस दिन्छ । बचतमा व्याज दिन्छ । तिरेको ब्याजर आर्जन गरेको ब्याजको आधारमा संरक्षित पुँजी फिर्ता कोष दिन्छ । मृत्यु राहात दिन्छ । उपचार खर्च दिन्छ । महामारीमा ब्याज छुट दिन्छ । विषम परिस्थीतिमा ऋण मिनाहा दिन्छ । हर्जना छुट दिन्छ । बिमा गरी दिन्छ । रोजगारी दिन्छ । सिप तालिम दिन्छ । नेतृत्व विकास, व्यक्तित्व विकास गराउँछ । पहिचान दिन्छ । समाजमा स्थापित गराउँछ । करमा योगदान दिएको छ । आर्थिक सहयोग गरेको छ । स्थानिय सरकारसँग हातेमालो गरेको छ । बैंकिङ ज्ञान दिएको छ । पुरस्कार, सम्मान दिएको छ । क्षमता अभिवृद्घि गराएको छ । जन्मदेखि मृत्युसम्म आर्थिक सहयोग गरेको छ । सुखमा त साथ सबैले दिएका छन् तर दुःखमा साथ सहकारीले दिएको छ । त्यसैले पनि हामीले सहकारीको महत्व बुझाउनु पर्छ ।
वित्तीय कारोबार मात्र नभएर हरेक गतिविधिमा सहकारीको योगदान रहने छ । सहकारी ऐनले पनि २०७७ साल असोज मसान्तसम्म एक व्यक्ति एक सहकारी भनि सकेको अवस्थामा हामीले पनि आजैबाट एउटा सहकारीको मात्र सदस्य बनौं । कानुनमा दण्ड जरिवानाको पनि व्यवस्था भएको हुँदा अब हामी धेरै सहकारीमा सदस्य बन्ने भन्दा आफुलाई राम्रो लागेको संस्थाको सदस्य बनौं । सेवा सुविधा एउटाबाट लियौं धेरै सहकारीमा सदस्य बन्दा सबैबाट सेवा सुविधा लिन पाईने छैन । दण्ड जरिवानको भागिदार बनिनु पर्ने हुन सक्छ तसर्थ आजै प्रण गरौं ‘एक व्यक्ति एक सहकारी’ । र यो विषम परिस्थीतिमा सहकारीको महत्वलाई उच्च बनाऔं । सहकारीलाई सुरक्षित बनाऔं ।
(लेखक शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड झापाका अध्यक्ष हुनुहुन्छ)
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार