२२ कात्तिक २०८३, आईतवार

सहकारी विधेयक संशोधनकालागि साझा संशोधन प्रस्ताव पेश गर्ने तयारी

२०७३ असोज ११, मङ्गलबार
सहकारी विधेयक संशोधनकालागि साझा संशोधन प्रस्ताव पेश गर्ने तयारी

ncf

काठमाडौं । सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा प्रमुख तीन दलबाट साझा संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

राष्ट्रिय सहकारी संघले सोमबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सांसदहरुसँग तीन दलको साझा संशोधन प्रस्ताव लैजाने विषयमा छलफल गरेको हो । राष्ट्रिय सहकारी संघले विधेयकको १ सय ४२ धारामध्ये ७० धारामा संशोधन गर्नुपर्ने औल्याएको संघका अध्यक्ष तथा सांसद केशव बडालले बताए ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले महत्वपूर्ण धाराहरुलाई मात्र फोकस गरेर संशोधन प्रस्ताव तयार गरेको खन्डमा साझा धारणा बन्न सहज हुने बताए । उनले तिन दलको एकै स्प्रिट बनाएका लागि धेरै धारामा संशोधन प्रस्ताव लैजादा गाह्रो हुने भएकाले संघलाई महत्वपूर्ण कुरामा साझा धाराणा बनाउन आग्रह गरे । पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले तीनै दल मिल्न सक्ने विषयमा साझा धारण बनाएर संशोधनमा लैजानका लागि आफ्नो दल तयार रहेको बताए ।
त्यसैगरि नेपाली कांग्रेसका सांसद उदयसम्शेर राणाले पनि धेरै धारामा संशोधन ल्याउँदा सरकारको ९ महिना आयु सकिदासमेत ऐनमा नै छलफल भइरहने देखिने भएकाले महत्वपूर्ण प्रभाव पार्नेलाई मात्र समेट्न आग्रह गरे । उनले एक भन्दा बढि सहकारी बैंक खोल्न सकिने गरि संशोधन प्रस्ताव ल्याउन आग्रह पनि गरे । त्यसैगरि माओवादी केन्द्रका प्रमुख सचेतक टेबबहादुर बस्नेतले विधेयकले गणतान्त्रिक स्प्रिष्ट नसमातेकाले संशोधन आवश्यक रहेको बताए । कार्यक्षेत्र खुम्चाउने र सहकारीलाई फैलन नदिने हिसाबले विधेयक आएकाले संशोधनका लागि माओवादी केन्द्रको सहमति हुने बताए । त्यसैगरि कांग्रेसका सांसद भिनसेन दास प्रधानले तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई संकुचित गर्न खोजिएकाले संशोधन प्रस्ताव साझा रुपमा पेश गर्न सहमति रहेको बताए ।

एमालेका सांसद पशुपति चौलागाईले अतिआवश्यक कुरामा साझा संशोधन दिने र आवश्यकता अनुसार सांसदले व्यक्तिगत रुपमा पनि संशोधन प्रस्ताव दिन सक्ने धारणा राखे । छलफलमा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक बास्कोटा, संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, संचालक रविन्द्र केसी, चन्द्र ढकाल, सुरेन्द्र भण्डारी, दक्ष पौडेल, केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकलगायतको उपस्थिति थियो ।

अभिलेख

लोकप्रिय