२१ कात्तिक २०८३, शनिवार

सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा

२०८३ कात्तिक २१, शनिवार
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा

काठमाडौं : अब सहकारीका सदस्यले मुद्दती निक्षेप (Fixed Deposit–FD) धितो राखेर ऋण लिन सहकारी संस्थाको कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ। मोबाइल एपबाटै मुद्दती निक्षेप धितोमा ऋणका लागि आवेदन दिन सकिने डिजिटल सुविधा सहकारी क्षेत्रमा पहिलो पटक सुरु भएको छ।

नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रमा एक दशकदेखि सक्रिय मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ले यो सेवा सञ्चालनमा ल्याएको हो। एम बैंक मोबाइल बैंकिङ एपको DigitalSewa मार्फत सहकारीका सदस्यले घरमै बसेर केही क्लिकमै मुद्दती निक्षेप धितोमा ऋणका लागि आवेदन दिन सक्नेछन्।

यस सुविधामार्फत सदस्यले आफ्नो मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म ऋण लिन सक्नेछन्। यसअघि ऋणका लागि सहकारी संस्थामै पुग्नुपर्ने, आवश्यक कागजात बुझाउनुपर्ने र प्रक्रियाका लागि समय खर्चिनुपर्ने अवस्था रहेकामा अब मोबाइलबाटै आवेदन दिन सकिने भएपछि सदस्यलाई थप सहज हुने अपेक्षा गरिएको छ।

सदस्यले mBank मोबाइल एपमा रहेको DigitalSewa ब्यानरमा क्लिक गरी ‘Apply Loan Against FD’ विकल्प छनोट गरेर ऋण प्रक्रिया अघि बढाउन सक्नेछन्। त्यसपछि आफ्नो मुद्दती निक्षेप खाता छनोट गरी आवश्यक ऋण रकम र अवधि प्रविष्ट गर्नुपर्छ। एपमै उपलब्ध ईएमआई (EMI) तथा किस्ताको विवरण हेरेर ऋणको उद्देश्य छनोट गरी आवेदन बुझाउन सकिने व्यवस्था छ।

आवेदन बुझाएपछि सदस्यले आफ्नो ऋण आवेदनको अवस्था (Applied, Under Review र Approved) समेत मोबाइल एपबाटै हेर्न तथा ट्र्याक गर्न सक्नेछन्। यसले ऋण प्रक्रियाबारे जानकारी लिन पटक–पटक संस्था पुग्नुपर्ने अवस्थासमेत अन्त्य गर्नेछ।

एम बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठका अनुसार यो सेवाले सदस्यलाई २४सै घण्टा र जुनसुकै स्थानबाट ऋणका लागि आवेदन दिन सक्ने सुविधा प्रदान गर्छ। मुद्दती निक्षेप धितोमा ऋण प्राप्त गर्ने प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सुरु गरिएको उनले जानकारी दिनुभयो।

DigitalSewa मार्फत ऋण आवेदनका अतिरिक्त केवाईसी (KYC) अद्यावधिकका लागि आवश्यक कागजातसमेत मोबाइलबाटै अपलोड गर्न सकिने व्यवस्था गरिएको छ। सदस्यले राष्ट्रिय परिचयपत्र, नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी तथा फोटो लगायतका कागजात एपमार्फत अपलोड गर्न सक्ने महासेठले बताउनुभयो।

यो सेवा सञ्चालनमा आएको तीन दिनमै ३०० भन्दा बढी सदस्यले आवश्यक कागजात अपलोड गरिसकेको उनले जानकारी दिनुभयो। छोटो समयमै उल्लेख्य संख्यामा सदस्यले डिजिटल माध्यमबाट कागजात अपलोड गर्नुले यस्तो सेवाप्रति सदस्यको आकर्षण बढ्दै गएको संकेत गर्छ।

एम बैंकले विगत एक दशकदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, क्यूआर भुक्तानी तथा डिजिटल कर्जालगायतका वित्तीय प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

देशभरका ६ सयभन्दा बढी सहकारी संस्थाका ४ लाखभन्दा बढी सदस्यले एम बैंकका डिजिटल वित्तीय सेवाहरू उपयोग गर्दै आएका छन्।

अभिलेख

लोकप्रिय