७ वैशाख २०८३, सोमबार

सिँचाइ कार्यक्रमका लागि किसानलाई सहकारी मार्फत अनुदान सहयोगको तयारी

२०७० माघ १४, मङ्गलबार
सिँचाइ कार्यक्रमका लागि किसानलाई सहकारी मार्फत अनुदान सहयोगको तयारी

इलाम, १४ माघ । जिल्ला कृषि विकास कार्यालय इलामले सहकारी संस्थामार्फत किसानलाई रु ४६ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

 कार्यालयले सहकारी संस्थामार्फत तरकारी बालीमा सिँचाइ कार्यक्रमका लागि किसानलाई अनुदान सहयोग उपलब्ध गराउने भएको हो । जसअन्तर्गत कार्यालयले अहिले सहकारी संस्थासँग धमाधम सम्झौता गर्न सुरु गरेको छ ।

कृषि विकासले साना सिँचाइ विशेष कार्यक्रमअन्तर्गत दानाबारी, इलाम नगरपालिका, मङ्गलबारे, नेपालटार, फिक्कललगायतका गाविसका सहकारी संस्थालाई रु २८ लाख ५० हजार अनुदान सहयोग प्रदान गर्ने कार्यालयका नायब सुब्बा नरनाथ रेग्मीले जानकारी दिनुभयो । साना सिँचाइ विशेष कार्यक्रमका लागि ४४ वटा कार्यालयमा निवेदन परेकामा ३८ वटा स्वीकृत भएका छन् ।

यसैगरी सहकारी खेतीमा आधारित साना सिँचाइ कार्यक्रमअन्तर्गत सातवटा निवेदन परेकामा तीनवटा स्वीकृत भएका छन् । बिहानी कृषि सहकारी संस्था साकफारा–४ लाई रु दुई लाख ५० हजार, माइबेनी कृषि सहकारी संस्था गोदक–४ र ओखरबोटे कृषि सहकारी संस्थालाई रु एक लाख ६० हजारका दरले रु छ लाख अनुदान दिइने भएको छ ।

यस्तै सहकारी खेती योजनाअन्तर्गत सातवटा निवेदन परेकामा पाँचवटा स्वीकृत भएका छन् । जसअन्तर्गत आठघरे कृषि सहकारी संस्था पञ्चकन्यालाई रु दुई लाख ५० हजार, सन्दकपुर कृषि सहकारी संस्था माइमझुवालाई रेन्बो ट्राउट माछापालनका लागि रु दुई लाख ७५ हजार, पञ्चमी कृषि सहकारी संस्था प्याङलाई पावरट्रिलर खरिदका लागि रु ८७ हजार ५००, लेकाली कृषि सहकारी संस्था साँखेजुङलाई जैविक मल उत्पादन परियोजनाका लागि रु दुई लाख ५२ हजार ५०० र गोर्खे कृषि सहकारी संस्थालाई प्लास्टिक टनेलमा तरकारीखेतीका लागि रु दुई लाख २५ हजार अनुदान दिइने कार्यालयले जनाएको छ ।

साना सिँचाइ विशेष कार्यक्रम र सहकारीखेतीमा आधारित साना सिँचाइअन्तर्गत कुलो तथा पानी पोखरी निर्माण गरिने छन् भने सहकारीखेती योजनाअन्तर्गत तरकारीखेती, माछापालन, जैविक मल उत्पादनजस्ता विशेष कार्यक्रम रहेका छन् । कार्यालयले प्रत्येक आवको असोज महिनामा प्रस्ताव आह्वान गर्ने गरेको छ ।

अभिलेख

लोकप्रिय