२२ वैशाख २०८३, मङ्गलबार

सहकारी संघ/संस्थाहरुमा खुद बचत बितरण मापदण्ड

२०७२ असार ४, शुक्रबार
सहकारी संघ/संस्थाहरुमा खुद बचत बितरण मापदण्ड

प्रत्येक सहकारी संघ संस्थाहरुले सम्बन्धित आर्थिक वर्षमा आर्जन गरेको खुद बचत (शुद्ध मुनाफा) रकमलाई सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन साधारण सभाबाट अनुमोदन भईसकेपछि सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ को अधिनमा रही तोकिए बमोजिमको दरका आधारमा तोकिएका कोषहरुमा बाँडफाँड गरी कोषको उद्येश्य अनुसार उपयोग गर्नु पर्दछ ।
सहकारी ऐन, २०४८ को दफा २७ (१) बमोजिम खुद बचत रकमको बितरण गर्दा संस्था वा संघको कुनै वर्षको खुद बचतको घटीमा एक चौथाई रकम जगेडा कोषमा जम्मा गरेपछि बाँकी रहन गएको रकम मध्येबाट तोकिए बमोजिमका कोषहरु खडा गर्न सकिन्छ । जगेडा कोष बाहेकका अरु कोषहरुमध्येबाट ती कोषको बमोजिम संघ वा संस्थाको विनियममा उल्लेख भए बमोजिमको लाभांश वा वोनस बितरण गर्न सकिन्छ, तर एक आर्थिक वर्षको शेयर लाभांश वापतको रकम कुल शेयर पूँजी (व्यक्तिगत शेयर पूँजी समेत ) को १५ प्रतिशत भन्दा बढी बितरण गर्न पाइंदैन । शेयर पूँजीको पन्ध्र प्रतिशत भन्दा बढी शेयर लाभांश बितरण गर्न मिल्दैन भन्नुको अर्थ खुद नाफा÷बचतको पन्ध्र प्रतिशत मात्र लाभांश वितरण गर्नु कदापि होइन ।
प्रत्येक सहकारी संघ संस्थाहरुले सहकारी नियमावलीको नियम १९ बमोजिम देहाय अनुसार खुद बचत (शुद्ध मुनाफा) बितरण गर्नु पर्दछ ः सहकारी संस्था वा संघको कुनै वर्षको खुद बचतबाट सहकारी ऐन, २०४८ को दफा (२७) को उपदफा (१) बमोजिमको रकम जगेडा कोषमा लगी बाँकी रहन गएको रकम मध्येबाट देहायका कोषहरु खडा गर्नु पर्नेछ ः १ शेयर लाभांश कोष २ संरक्षित पूँजी कोष ३ कर्मचारी बोनस कोष ४ सहकारी शिक्षा कोष ५ सहकारी विकास कोष ६ घाटापूर्ति कोष ।
यसरी खडा गरिएका कोषहरुमा जम्मा हुने रकमको हद समय समयमा सम्बन्धित सहकारी संस्था वा संघले विनियममा व्यवस्था गरे बमोजिम हुनेछ । तर सहकारी ऐन तथा सहकारी नियमावलीमा उल्लेख भएकोमा सोही बमोजिम हुनेछ ।
सहकारी संघ संस्थाहरुले सहकारी ऐन वा नियममा व्यवस्था भएकोमा सोही बमोजिम र अन्य कोषहरुमा खुद बचत बितरण गर्दा जगेडा कोषमा कम्तिमा २५ प्रतिशत छुट्याई बाँकी रहेको रकमलाई १०० प्रतिशत कायम गरी देहाय बमोजिम बितरण व्यवस्थालाई आधार मानि सम्बन्धित संस्थाको विनियममा उल्लेख गर्नु सहकारीको सिद्धान्त एवं मूल्य मान्यता बमोजिम हुने देखिन्छ । विभिन्न कोषहरुमा मुनाफा वितरण व्यवस्था १ शेयर लाभांश कोष २५ प्रतिशत, २ संरक्षित पूँजी कोष ४० प्रतिशत, ३ कर्मचारी बोनस कोष ५ प्रतिशत, ४ सहकारी शिक्षा कोष १० प्रतिशत, ५ सहकारी विकास कोष १० प्रतिशत ६ घाटापूर्ति कोष १० प्रतिशत ।

यसप्रकार खडा गरिएका कोषहरुमा जाने रकम कलमहरुको लेखा अलग अलग सहायक खाता खोली राख्नु पर्दछ । सहकारी संघ संस्थाका सम्बन्धित संचालक समितिले जगेडा कोष लगायत यी कोषहरुको संचालन कोषहरुको उद्येश्य बमोजिम सहकारी ऐन, नियम र सिद्धान्त बमोजिम गर्नु पर्दछ । सहकारी लेखा प्रणाली बमोजिम लेखा अभिलेख राख्नु पर्दछ ।
खुद बचत (शुद्ध मुनाफा) बाट सर्वप्रथम २५ प्रतिशत रकम जगेडा कोषमा लगी बाँकी रहन जाने रकमलाई माथि उल्लेख भए बमोजिम १०० प्रतिशत मानी अरु कोषहरुमा माथि उल्लेख भए बमोजिम सहकारी संघ वा संस्थाको विनियममा तोकिए बमोजिमको दरले बितरण गर्नु पर्दछ ।

सहकारी संघ वा संस्थाको बृद्धि विकास वा सदस्यहरुलाई प्रदान गरिने सेवा कार्यको विस्तारको सन्दर्भमा आवश्यक पर्ने आर्थिक साधनको व्यवस्था गर्न कुनै आर्थिक वर्षको खुद बचत (शुद्ध मुनाफा) रकमको कम्तिमा २५ प्रतिशत भन्दा बढी वा पूरै अंश समेत सहकारी संघ वा संस्थाको साधारण सभाको निर्णय बमोजिम जगेडा कोषमा लान सकिनेछ ।

शेयर लाभांश कोषमा हरेक आर्थिक वर्षको खुद बचत (शुद्ध मुनाफा) बितरण गर्ने प्रक्रिया : शेयर लाभांश कोष सहकारी संघ वा संस्थाहरुले शेयर लाभांश बितरण गर्दा शेयर लाभांश कोषमा खुद बचत (शुद्ध मुनाफा) को विनियममा तोकिए बमोजिमको प्रतिशतले जम्मा भएको रकमबाट प्रति शेयर रकम रु १००।– भएमा सो को १५ प्रतिशत ( कुल शेयर पूँजी रकमको १५ प्रतिशत) भन्दा बढी नहुने गरी सम्बन्धित सदस्यहरुलाई उनीहरुले खरीद गरेको शेयर रकमको आधारमा शेयर लाभांश बितरण गर्नु पर्दछ ।

कुनै आर्थिक वर्षमा शेयर लाभांश कोषमा खुद बचत (शुद्ध मुनाफा) बाट विनियममा उल्लेख भए बमोजिम जम्मा भएकोरकम सो आर्थिक वर्षमा कायम रहेको कुल शेयर पूंजीको १५ प्रतिशत भन्दा बढी हुन गएमा त्यसरी बढी हुन जति रकम वा सो आर्थिक वर्षमा सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश बितरण गरी शेयर लाभांश कोषमा बाँकी रहेको कुनैरकम भएमा त्यस्तो सबैरकम तत्काल जगेडा कोषमा लग्नु पर्दछ । शेयर लाभांश बितरण पछि पनि शेयर लाभांश कोषमा नै सोरकम यथावत् बाँकी राखी अर्को आर्थिक वर्षको लाभांश बितरण गर्ने कार्यका लागि प्रयोग गर्नु हुँदैन ।

कुनै आर्थिक वर्षमा सदस्यहरुलाई बितरण गरिने शेयर लाभांश वापतकोरकम खुद बचत (शुद्ध मुनाफा) कम भएका कारणले प्रति शेयर रु. ५।– भन्दा कम हुन गएको खण्डमा त्यस्तो लाभांश रकम कम्तिमा रु. ५।– प्रति शेयरका दरले बितरण गर्न पर्याप्त नभए सम्मको आर्थिक वर्षहरुको शेयर लाभांश वापतकोरकम सो कोषमा जम्मा गर्दै जानु पर्दछ र रु. पाँच वा सो भन्दा बढी हुने गरी शेयर लाभांश कोषमा खुद बचत (शुद्ध मुनाफा) बाट रकम प्राप्त भए पछि सम्बन्धित सदस्यहरुलाई बितरण गर्नु पर्दछ ।

सहकारी संघ संस्थाहरुले शेयर लाभांश बितरण गर्दा सर्वप्रथम देहायको सूत्र प्रयोग गरी खुद बचत (शुद्ध मुनाफा) बाट जगेडा कोषमा कम्तिमा २५ प्रतिशत रकम छुट्याई बाँकी रहन गएकोरकमलाई १०० प्रतिशत मानी विनियममा व्यवस्था भए बमोजिमको रकम शेयर लाभांश कोषमा लैजानु पर्दछ । यसरी शेयर लाभांश कोषमा रकम लगी सकेपछि सो रकमलाई सूत्र प्रयोग गरी प्रति शेयर लाभांश रकमको यकिन गरी सम्बन्धित सदस्यले खरीद गरेको शेयर संख्यालाई प्रति शेयर लाभांश रकमले गुणन गरी हुन आउनेरकम शेयर लाभांशवापत बितरण गर्नु पर्दछ । प्रतिशेयर लाभंश रकम निश्चित भइसकेपछि सम्बन्धित सदस्यले खरीद गरेको शेयर संख्यालाई प्रतिशेयर लाभांश रकमले गुणन गरी सम्बन्धित सदस्यले प्राप्त गर्ने शेयर लाभांश रकमको निश्चित गर्नु पर्दछ ।

शेयर लाभांश बितरण गर्दा सोही आर्थिक वर्षमा सदस्य वनेको वा सदस्यता त्यागेको भएमा प्रति शेयर लाभांश वापत वार्षिक रकम यकिन गरी वर्षलाई ३६५ दिनमा परिणत गरी जति रकम जति दिनसम्म शेयर पूँजी वापत रहेको हो सो को दिनगन्तिले हुन आउने बराबरकोरकम शेयर लाभांशवापत सम्बन्धित सदस्यलाई दिनु पर्दछ ।
सहकारी संघ संस्थाहरुले सदस्यको शेयर पूंजी वापतकोरकम परिचालन गरेवापत जहिलेसम्म सम्बन्धित सदस्यहरुलाई शेयर पूंजी फिर्ता हुँदैन सो अवधिसम्मको लाभांश वापतकोरकम समेत भुक्तान गर्नु पर्दछ । कुनै सदस्य कार्यक्षेत्र भित्र नरहेको वा अन्यत्र सहकारी लेखा तथा लेखापरीक्षण दिग्दर्शनरद्दठ गएको कारणबाट उसको शेयर पूँजी संस्थामा रहिरहेको वा फिर्ता गर्न नसकिएको अवस्थामा सो वापतको लाभांश नदिई शेयर रकम संस्थामा परिचालन गर्दा आर्थिक शोषण हुन जाने भएकाले शेयर पूँजी फिर्ता नगरुन्जेल सम्मको अवधिको शेयर लाभांश दिनुपर्दछ । तर त्यस्तो सदस्यबाट संस्थाले कुनैरकम प्राप्त गर्न बांकी रहेको रहेछ भने शेयर लाभांशवापतकोरकमलाई हिसाव मिलान गर्न सकिनेछ ।

संरक्षित पूँजिकोष संरक्षित पूँजिकोषमा खुद बचत (शुद्ध मुनाफा) बितरण गर्ने प्रक्रियाः य सहकारी संघ संस्थाहरुले प्रत्येक आर्थिक वर्षमा संरक्षित पूँजि कोष वापतकोरकम संघ संस्थामा सदस्यले गरेको वार्षिक आर्थिक कारोवारको आधारमा सम्बन्धित सदस्यहरुलाई अनिवार्य रुपमा बितरण गर्नु पर्दछ । संरक्षित पूँजिकोषको रकम सदस्यहरुलाई वितरण नगरे सम्म सहकारीमा समन्याय स्थापित गर्न सकिदैन । संरक्षित पूँजि कोष बितरणका लागि संघ संस्थाले प्रत्येक सदस्य तथा गैर सदस्यहरुले संस्थामा गरेको आर्थिक कारोवारको व्यक्तिगत अभिलेख राख्नु पर्दछ । यसरी राखिएको व्यक्तिगत वार्षिक कारोवारको कुल योग नै संस्थाको आर्थिक कारोवारको कुल योग हुन जान्छ । यही कारोवारको कुल योगको आधारमा संरक्षक कोषमा आएको सबै रकम बितरण गर्नु पर्दछ । एक भन्दा बढी प्रकारका सेवाहरु आफ्ना सदस्यहरुलाई प्रदान गर्ने सहकारी संघ संस्थाहरुले ती प्रत्येक सेवा प्रदान गर्दा सदस्यबाट प्राप्त हुन आउने वा सदस्यलाई प्रदान गरिने शुल्क वा रकमको प्रष्ट बिबरण राख्नु पर्दछ । यसरी प्रत्येक सेवावापत सदस्यले भुक्तान गरेको वा प्राप्त गरेकोरकमको वार्षिक कुल योग निकाली प्रत्येक सदस्यको वार्षिक कारोवार रकम निश्चित गर्नु पर्दछ । य गैर सदस्यको आर्थिक कारोवारको अंशवापत संरक्षित कोषमा रहनेरकम संस्थाले सदस्यलाई बितरण गर्ने वा संस्थाको जगेडा कोष वा अन्य कोषमा राखी प्रयोग गर्नु हुँदैन । यस्तो रकम गैर सदस्यहरुलाई नै उनीहरु बसोवास गरेको कार्यक्षेत्रमा उनीहरुकै हित वा प्रवद्र्धनका शिक्षा, तालिम, सूचनामूलक कार्य वा सामाजिक कार्यमा लगानी गर्नु पर्दछ, ताकी ती गैर सदस्यहरुलाई सहकारीको महत्वका सम्बन्धमा आवश्यक ज्ञान दिई सदस्य बन्न वा सहकारी अभियानमा संलग्न हुन डर अभिपे्ररित गर्न सकियोस् । यदि गैर सदस्यहरु रहेको क्षेत्र संस्थाको कार्यक्षेत्र भन्दा बाहिर पर्दछ वा गैर सदस्यहरु पहिचान गर्न नसकिने क्षेत्र वा स्थानका वासिन्दा हुन् भने त्यस्तो अवस्थामा उक्त रकम गैर सदस्यहरुद्वारा प्रयोग गरिने सार्वजनिक उपयोगिताका वस्तु तथा सेवा कार्यमा कार्यक्रम बनाई खर्च गर्नु पर्दछ । यस सन्दर्भमा बाटो हिंड्ने बटुवाहरु गैर सदस्य भएकोमा तिनले बाटो हिंड्दा उपयोगमा आउन सक्ने बाटोको मर्मत सुधार, पिउने पानीको व्यवस्था, आकष्मिक वा प्राथमिक स्वास्थ्य सेवा, पाटी पौवा वा चौतारी निर्माण, आदि कार्यहरुमा लगानी गर्नु पर्दछ ।
गैर सदस्यको संरक्षित पूंजीकोरकम यस वाहेक संस्थाले आफ्नो प्रयोजनका लागि उपयोग गरेमा आर्थिक शोषण हुन जाने, परनिर्भरता बढ्ने, इमान्दारिताको अन्त्य हुनेर समुदायप्रतिको जिम्मेवारीबाट पर हट्ने अवस्था हुन जान्छ र सहकारिताको मूल्यको कुनै अर्थ रहँदैन । सहकारी संघ वा संस्थाहरुले आफ्ना सदस्यहरु तथा गैर सदस्यहरुसंगको आर्थिक कारोवारहरुको अभिलेख गर्दा निम्नानुसारका कारोवारहरु समेतका आधारमा व्यक्तिगत कारोवारको अभिलेख राखी कुल कारोवार रकम कायम गर्नेः १ सदस्यले संस्थालाई विक्रि गरेको बस्तु तथा सेवाको परिमाण वा रकम, २ सदस्यले संस्थाबाट खरीद गरेको उपभोग्य सामाग्री र अन्य सामग्रीहरुको रकम, ३ सदस्यले संस्थाबाट कुनै सेवा लिंदा गरेको सो वापतको शुल्क वा भुक्तानी रकम, ४ संस्थासंग अन्य कुनै आर्थिक कारोवार गरेको भएमा सो वापत लेनदेन भएको रकम ५ बचत तथा ऋणको समेत कारोवार गर्ने सहकारी संघ संस्थाहरुले सदस्यले संस्थामा जम्मा गरेको बचत रकम र ऋण लिएवापत तिरेको व्याज एवं हर्जना रकमलाई समेत जोडी कुल कारोवार रकम यकिन गर्ने, ६ सदस्यले संस्थाबाट प्राप्त गरेको आर्थिक, सामाजिक एवं सांस्कृतिक सेवाहरु वा कार्यहरु वापत शुल्क प्राप्त वा भुक्तानी गरेकोमा सो सम्बन्धी रकमहरु, आदि ।

सहकारी संघ संस्थाहरुमा संरक्षित कोषको व्यवस्था गरिनुको उद्देश्य पूंजीलाई भन्दा सदस्य परिचालनलाई जोड दिनु, पूँजी लगानी मात्र गरी कारोवार नगर्ने र अरुले गरेको कारोवारबाट मुनाफा लिने उद्येश्यले धेरै शेयर किनी सदस्य बन्ने व्यक्तिहरुलाई निरुत्साहित गर्नु, कारोवार धेरै गर्ने सदस्यको कारण संस्थाको खुद बचत बृद्धिमा उसको योगदान बढी हुने भएकाले त्यस्तो सदस्यहरुलाई प्रोत्साहन र व्यवशायीकरण गर्न संरक्षित पूँजीकोषमा खुद बचतको ५० प्रतिशत वा सो भन्दा बढी हिस्सा (जगेडा कोषको व्यवस्था पछि ) को व्यवस्था गर्नु, धेरै कारोवार गर्ने सदस्यको पशिनाको प्रतिफल कम कारोवार गर्नेले लिन नपाउने व्यवस्था कायम गर्नु तथा श्रम शोषणको व्यवस्थाको अन्त्य गर्नु र सदस्यहरुलाई आर्थिक शोषणबाट मुक्त गर्नु, एकको प्रतिफल अर्कोले नलिई इमान्दारिता र स्वावलम्बनलाई जीवन पद्धतिमा अंगाल्नु, सदस्यको कारोवारमार्फत उसको आर्थिक, सामाजिक एवं सांस्कृतिक हितका कार्यहरु गर्नु अन्य व्यवशाय भन्दा सहकारी व्यवशायलाई आदर्शवान एव एक विशिष्ट प्रकृतिको व्यवशायको रुपमा छुट्टै पहिचान दिलाउनु ।

यी उद्येश्यहरुलाई कार्यान्वयन गर्न सहकारी संघ संस्थाहरुले आफ्नो विनियममा संशोधन गरी खुद बचत रकमको कम्तिमा पनि ४० प्रतिशत हिस्सा संरक्षित पूँजिकोषमा लैजाने व्यवस्था गर्नु पर्दछ, जसबाट सदस्यको आर्थिक हित गर्ने संस्थाको पूरा हुन्छ ।

(सहकारी लेखा तथा लेखापरीक्षण दिग्दर्शनबाट सम्पादित अंश)

अभिलेख

लोकप्रिय