१९ कात्तिक २०८३, बिहिबार

प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु

२०८३ कात्तिक १९, बिहिबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु

बुटवल : प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–१२, तामनगरले आफ्नै नवनिर्मित कार्यालय भवनको समुद्घाटन तथा गृहप्रवेश समारोह सम्पन्न गरेको छ। बिहीबार आयोजित समारोहसँगै सहकारीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने अवसर प्राप्त गरेको हो।

संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न समारोहमा ८९ वर्षीय ज्येष्ठ शेयर सदस्य गनबहादुर सुस्लिङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक सूर्यबहादुर राना तथा ज्येष्ठ महिला सदस्य यमकुमारी पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

भवनको गृहप्रवेश कार्यक्रम वडा अध्यक्ष आचार्यले रिबन काटेर शुभारम्भ गर्नुभएको थियो। त्यस अवसरमा सहकारीका जन्मदाता स्वर्गीय बखानसिंह गुरुङको तस्बिरमा पूर्वअध्यक्ष रानाले माल्यार्पण गर्नुभएको थियो। त्यसैगरी, संस्थाको नाम अङ्कित शिलालेख प्रमुख अतिथि सुस्लिङ र विशिष्ट अतिथि पौडेलले संयुक्त रूपमा अनावरण गर्नुभएसँगै भवनको औपचारिक समुद्घाटन गरिएको थियो।

समारोहमा अध्यक्ष थापाले भवन निर्माणसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना र विकास यात्राबारे जानकारी गराउनुभयो। उहाँका अनुसार २०६० सालमा स्थानीय शिक्षित युवाहरूको पहलमा स्थापना भएको संस्था २०६५ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। हाल संस्थामा १ हजार ६३० शेयर सदस्य आबद्ध छन्।

दुई दशकभन्दा लामो सहकारी यात्रामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याउनुलाई संस्थाले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको अध्यक्ष थापाले बताउनुभयो। आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सदस्यलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

भवन निर्माणले संस्थाको पहिचान र संस्थागत विकासलाई थप मजबुत बनाउनुका साथै दीर्घकालीन स्थायित्वमा समेत योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। निर्माण कार्यमा गुणस्तर, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको पनि उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाशमणि खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव तीर्थराज काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको समग्र जानकारी सञ्चालक झबिन्द्रप्रसाद आचार्यले दिनुभएको थियो।

आफ्नै भवन निर्माणसँगै प्रयास बचत तथा ऋण सहकारीले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने र संस्थागत विकासको यात्रालाई अघि बढाउने अपेक्षा गरेको छ।

अभिलेख

लोकप्रिय