१७ कात्तिक २०८३, मङ्गलबार

२५ सदस्य र ६० हजार पुँजीबाट सुरु भएको किसान सहकारी ३२औँ वर्षमा, सम्पत्ति ८ अर्ब नाघ्यो

२०८३ कात्तिक १७, मङ्गलबार
२५ सदस्य र ६० हजार पुँजीबाट सुरु भएको किसान सहकारी ३२औँ वर्षमा, सम्पत्ति ८ अर्ब नाघ्यो

काठमाडौं : २०५२ साल कात्तिक १७ गते २५ जना सदस्य र ६० हजार ३०० रुपैयाँ शेयर पुँजीबाट सुरु भएको कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३२औँ वर्षमा प्रवेश गरेको छ। तीन दशकअघि सानो पुँजी र सीमित सदस्यबाट सुरु भएको संस्थाले अहिले वित्तीय कारोबार, सदस्य संख्या र सेवा विस्तारका हिसाबले मुलुककै स्थापित सहकारी संस्थाका रूपमा आफ्नो पहिचान बनाएको छ।

स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाह र महाप्रबन्धक डम्बरबहादुर शाहले सम्पूर्ण शेयर सदस्य, कर्मचारी तथा सरोकारवाला निकायप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। संस्थाको ३२ वर्षे यात्रामा प्राप्त साथ, विश्वास र सहकार्यका लागि धन्यवाद दिँदै उनीहरूले आगामी दिनमा पनि निरन्तर सहयोग, साथ र सहकार्यको अपेक्षा गर्नुभएको छ।

संस्थाको २०८३ असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कुल सम्पत्ति ८ अर्ब १४ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै, संस्थाको कुल बचत ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी र लगानीमा रहेको कर्जा ५ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी रहेको छ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार शेयर पुँजी ५९ करोड रुपैयाँ, जगेडा कोष ३९ करोड ७० लाख रुपैयाँ र कुल संस्थागत पुँजी ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ। संस्थाको कुल शेयर सदस्य संख्या ७७ हजार ४३९ पुगेको छ भने ऋणी सदस्य संख्या २९ हजार ६९७ रहेको छ। संस्थामा २५८ जना कर्मचारी कार्यरत छन्।

वित्तीय कारोबारसँगै संस्थाले आफ्नो सेवा सञ्जालसमेत विस्तार गरेको छ। हाल कैलालीमा २४, कञ्चनपुरमा ७, डोटीमा ३, डडेलधुरामा २, अछाममा ३, बैतडीमा १ र बर्दियामा १ गरी ४१ सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ।

वित्तीय सेवासँगै कृषि व्यवसायमा पनि विस्तार

किसान सहकारीले आफूलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित राखेको छैन। सदस्यको आर्थिक अवस्था सुधार गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले कृषि तथा व्यापारिक गतिविधिलाई पनि व्यावसायिक रूपमा अघि बढाएको छ।

संस्थाले किसान कोप एग्रोअन्तर्गत कोल्ड स्टोर, माटो परीक्षण प्रयोगशाला, मल तथा बीउबिजन बिक्री केन्द्र र बीउ प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको छ। यी सेवामार्फत किसानलाई कृषि उत्पादनका लागि आवश्यक सामग्री, प्राविधिक सहयोग तथा उत्पादनपछिको व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यस्तै, लम्की, सुखड र बौनियामा किसान कोप–मार्ट सञ्चालन गरिएको छ। सहकारी सुपथ पसलको अवधारणाअनुसार सञ्चालित मार्टले स्थानीय समुदायलाई दैनिक उपभोग्य वस्तु सुलभ मूल्यमा उपलब्ध गराउनुका साथै सदस्यका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलोमै परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ। यसबाट किसानको उत्पादन क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने तथा कृषि क्षेत्रलाई आयआर्जन र रोजगारीसँग जोड्ने प्रयास गरिएको छ।

संस्थाले हाल वित्तीय युनिट, किसान कोप–मार्ट र किसान कोप एग्रो गरी तीनवटा व्यावसायिक युनिटमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ। वित्तीय सेवा, कृषि उत्पादन, बजारीकरण र उपभोग्य वस्तुको आपूर्तिलाई एकीकृत गर्दै सदस्यको आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने संस्थाको रणनीति देखिन्छ।

प्रविधिमैत्री वित्तीय सेवामा अग्रसर

किसान सहकारीको अर्को महत्वपूर्ण पहिचान प्रविधिमैत्री वित्तीय सेवा हो। २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित कारोबार गर्ने स्वीकृति प्राप्त गरेको संस्थाले सुरुदेखि नै वित्तीय सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रयास गर्दै आएको छ।

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक एटीएम सेवा सञ्चालन गर्ने सहकारीका रूपमा परिचित संस्थाले ट्याबलेट बैंकिङमार्फत सदस्यलाई घरदैलोमै वित्तीय सेवा प्रदान गर्दै आएको छ। चेकमार्फत रकम भुक्तानी, एबीबीएस, एटीएम तथा क्यूआर मर्चेन्ट सेवामार्फत सदस्यलाई सहज र आधुनिक वित्तीय पहुँच उपलब्ध गराएको छ।

त्यस्तै, सदस्य सुरक्षणको सिद्धान्तलाई अवलम्बन गर्दै अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट सर्टिफाइड’ प्राप्त गर्ने नेपालकै पहिलो संस्था भएको दाबी संस्थाले गरेको छ। सदस्यको बचत सुरक्षा, संस्थागत सुशासन र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने प्रयास गरेको संस्थाले जनाएको छ।

प्रविधिको प्रयोगलाई वित्तीय कारोबारको सहजतासँग मात्र नजोडी सदस्यको समय, श्रम र लागत बचत गर्ने माध्यमका रूपमा समेत संस्थाले अघि बढाएको छ। यसले परम्परागत सहकारी सेवालाई आधुनिक डिजिटल प्रणालीसँग जोड्ने संस्थाको प्रयासलाई प्रतिबिम्बित गर्छ।

समृद्धिका लागि समुदायसँगसँगै’ मूल उद्देश्य

‘समृद्धिका लागि समुदायसँगसँगै’ भन्ने मूल नारालाई आत्मसात् गरेको संस्थाले आर्थिक तथा सामाजिक रूपान्तरणलाई आफ्नो प्रमुख उद्देश्य बनाएको छ। गरिब तथा विपन्न परिवारलाई स्वरोजगार र आत्मनिर्भर बनाउने यसको भिजन रहेको छ।

त्यस्तै, गरिब किसान र साना उद्यमीलाई वित्तीय तथा गैरवित्तीय सेवाको पहुँचमा ल्याई उनीहरूको जीवनस्तर सुधार गर्ने, उद्यमशीलता र व्यावसायिकताको विकास गर्ने तथा अधिकतम रोजगारी सिर्जना गर्ने संस्थाको मिसन रहेको छ।

विभिन्न समय र परिस्थितिमा आइपर्ने विपद् तथा महामारीका समयमा पनि संस्थाले सदस्य र समुदायलाई साथ दिँदै राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा विभिन्न अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

अभिलेख

लोकप्रिय