१८ भदौ २०८३, बिहिबार

विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग

२०८३ भदौ १८, बिहिबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीले आर्थिक सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा रोयल साकोसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५२ हजार १ सय रुपैयाँ सहयोग गरेको हो।

उक्त रकम संस्थाका साथै समिति, उपसमिति र कर्मचारी परिवारको संयुक्त योगदानबाट प्रदान गरिएको संस्थाले जनाएको छ।

संस्थाका सूचना अधिकारी मिलन ढकालद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा पीडित समुदायसँग सहकारीको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सहकारी नाफाका लागि मात्र होइन, अझ बढी सहकार्य र सेवाका लागि हो। मानवीय सेवाको कुनै सीमित कार्यक्षेत्र र मापदण्ड हुँदैन।”

पोखरा रोयल साकोसले विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्नु मानवीय दायित्व भएको जनाएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै उद्धार कोषमा योगदान गरिएको संस्थाको भनाइ छ।

संस्थाले “आहतमा राहत, सहकार्यमा सहकारी” भन्ने भावनाका साथ विपद् प्रभावितको सहयोगमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति पोखरा रोयल साकोसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा उद्धार कार्यमा सहयोग गर्न संस्थाले सबैमा अपिल गरेको छ।

सदस्य केन्द्रित तथा समुदायमा आधारित पोखरा रोयल साकोसले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्दै आएको छ।

अभिलेख

लोकप्रिय