१८ भदौ २०८३, बिहिबार

सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग

२०८३ भदौ १८, बिहिबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग

काठमाडौं : सहकारीको भूमिका वित्तीय कारोबारमा मात्र सीमित हुँदैन, समुदायको सुख–दुःखमा साथ दिनु पनि यसको सामाजिक दायित्व हो।

यही भावनालाई व्यवहारमा उतार्दै ललितपुरको कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले सहयोगको आह्वान गरेको थियो। सरकारको उक्त आह्वानलाई आत्मसात् गर्दै पञ्चशीलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो।

सहकारीको मूल मर्म नै आपसी सहयोग, सहकार्य, एकता र समुदायप्रतिको उत्तरदायित्व हो। सदस्यहरूको आर्थिक हितका लागि वित्तीय सेवा प्रवाह गर्नुका साथै समुदायमा आइपर्ने संकट र विपद्मा साथ दिनु पनि सहकारीको जिम्मेवारी हो। पञ्चशीलको यो सहयोगले सहकारीको यही सामाजिक भूमिकालाई थप उजागर गरेको छ।

भोटेकोशीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको आवश्यकता बढेको छ। बाढीका कारण घर, व्यवसाय, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा क्षति पुगेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।

सरकारको आह्वानपछि विभिन्न क्षेत्रबाट बाढी प्रभावितका लागि सहयोग जुटिरहेको छ। सरकारी निकायसँगै सहकारी, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सामाजिक संघ/संस्था तथा व्यक्तिहरूले आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत अभियानमा योगदान गरिरहेका छन्। पञ्चशिल पनि यही मानवीय अभियानमा जोडिएको हो।

संस्थाले उपलब्ध गराएको ५ लाख ५५ हजार ५५५ रुपैयाँ बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संस्थाले गरेको छ । विपद्का बेला गरिएको यो सहयोगले प्रभावित परिवारलाई राहत पुर्‍याउनुका साथै पुनःस्थापनाको अभियानमा समेत केही टेवा पुग्ने विश्वास गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणको आवश्यकता अझै रहेको अवस्थामा सहकारी क्षेत्रबाट हुने यस्ता योगदानले सामूहिक सहयोगको अभियानलाई थप बल पुर्‍याउने देखिन्छ। विपद्को घडीमा पञ्चशीलले अघि सारेको सहयोगको हातले सहकारीको शक्ति केवल आर्थिक कारोबारमा नभई सहकार्य, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वमा पनि रहेको देखाएको छ।

अभिलेख

लोकप्रिय