कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
कथाहरूमा जीवन बदल्ने पाइन हुन्छ । यथार्थपरक कथाहरूमा त झन् त्यो तागतको मात्रा अझै बढी हुन्छ । आज हामी त्यस्तै एउटा वास्तविक प्रेरणादायी कथा कहन्छौं। र, हामीले यो कथा, केवल एक व्यक्तिको मात्र खिप्न गइरहेका छैनौं, उक्त मुली मान्छेले अगाध प्रेम र आस्थापूर्वक आफ्नो सपना, सोच, सामथ्र्य र शिल्प खर्चेर निर्माण गरेको एउटा गर्व गर्नलायक संस्थाको पनि सुनाउँदैछौं । हामीलाई विश्वास छ, तपाईंहरुले अद्योपान्त पढ्ने व्यक्ति र संस्था जोडिएको यो कथाले थुप्रै अरू कथाहरू लेख्न हामीलाई प्रेरित गर्नेछ र तपाईंहरूलाई पढ्न ।
कथाको पात्र खोज्दै हामी लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला पुग्यौं । र, तिलोत्तमा १४ सुपौलीस्थित एउटा मध्यम कृषक परिवारको कान्छो छोरा हाम्रो खोजमा परे । उनी कथाका नायक छानिए । हो, रनबहादुर थापा नाम गरेका ती ‘कान्छा’ हाम्रो कथाका नायक हुन् ।
विश्वप्रसिद्ध अमेरिकी म्यागजिन ‘टाइम’ले झैं नेपालमा पनि सहकारी क्षेत्रका कुनै पनि म्यागजिनले वर्ष व्यक्ति भनेर व्यवस्थापनमा काम गर्नेहरूमध्येबाट विजेता घोषणा गर्ने हो भने ती ‘कान्छा’ रनबहादुर नपर्ने कुरै छैन ।
अनि, संस्थाहरूको बारेमा ‘फोर्ब्स’जस्तो घरेलु म्यागजिनले सहकारीहरूलाई छान्ने हो भने उनले व्यवस्थापकीय नेतृत्व लिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था पनि छुट्ने कारण नै छैन । जुनै एंगलबाट विश्लेषण गर्ने हो भने अहिलेको समयमा एउटा सहकारी संस्थालाई वित्तीय रूपले स्वस्थ्य, सदस्य र समुदाय मैत्री, सरोकारवालाको नजरमा सबल र समकक्षीहरूका दृष्टिमा लोभलाग्दो बनाउने यात्राको व्यवस्थापकीय बाहनको स्टेरिङ समातेका रनबहादुर थापा र उनको संस्था दुवै अब्बलभित्र पर्दछन् । संस्थाको २४ वर्षे इतिहास, प्राप्त राष्ट्रिय अन्तर्राष्ट्रिय उपलब्धिहरू, लोभलाग्दो वित्तीय सूचकहरू, संस्थागत पुँजी र आत्मनिर्भर, उद्यमी र व्यावसायिक सदस्यहरूको उल्लेख्य सहभागिताले यो पुष्टि गर्दछ ।

त्यसैले हो मुलुकको सहकारी अभियानमा जनउत्थान एउटा ब्रान्ड बनेको रनबहादुर बताउँछन् । एसियाली ऋण महासंघ अकूबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिह्न सिल्भर एक्सेस ब्रान्ड प्राप्त साकोस नेफ्स्कूनबाट नेपालको सर्वोत्कृष्ट साकोस २०७८ घोषणा भई पुरस्कृत भएको थियो ।
कोभिडमा कृषि एम्बुलेन्स सञ्चालन उत्कृष्ट सेवा सम्मान संस्था २०७७, राष्ट्रिय सहकारी महासंंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६, उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार २०७५, नेपाल सरकारबाट उत्कृष्ट सहकारी पुरस्कार २०७४, आन्तरिक राजस्व कार्यालय भैरहवाबाट उत्कृष्ट करदाता २०७४ सम्मान, नेपालको साकोसहरूको व्यवस्थापकमध्ये उत्कृष्ट व्यवस्थापक २०७३, नेफ्स्कूनबाट पश्चिमाञ्चल क्षेत्रभरिकै उत्कृष्ट साकोस २०७२, डिभिजन सहकारी कार्यालय रूपन्देहीबाट उत्कृष्ट सहकारी २०७२ बाट सम्मानितलगायत थुप्रै उपलब्धिहरू छन् ।
जनउत्थान साकोसले सन् २०१८ देखि एक्सेस ब्राण्ड प्राप्त गर्दै आएको छ । पछिल्लो तीन वर्षदेखि संस्थाले निरन्तर ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्दै आएको छ । सुशासन र पारदर्शिताको इमानदार प्रयासले यो सम्भव भएको रनबहादुर दाबी गर्छन् ।

सीईओको सफलता सूत्र
रनबहादुर भन्छन्, ‘सधै अरूले सोचेको, गरेको र महसुस अनुमानभन्दा फरक सिर्जनशील सोच, त्यो सोचमा संयमित अभ्यास र काम गराइहरूमा पूर्व सावधानी आवश्यक पर्दछ, ’उनी भन्छन्, ‘समयलाई बुझेर रणनीति कोर्न सक्नुपर्छ । संस्थालाई के कसरी मजबुत बनाउन सकिन्छ भनेर सधै कमाएको पैसा नियमसंगत जगेडा कोषमा जम्मा गर्दै सदस्य र संस्थाको दीर्घकालीन सुरक्षामा फोकस गर्ने अर्जुनदृष्टि आवश्यक छ । हामी सधै सदस्यहरूलाई सहकारी खोलेको नाफा र कमाउनको लागि होइन सदस्यको दुःखद् घडीमा सेवा र सुरक्षाको लागि हामी छौं है भन्ने आभास गराउन सधै घरदैलो सहकारी शिक्षामा जोड दिनुपर्छ । र यी कामको व्यवस्थापकीय नेतृत्व लिन सक्ने खुबी एउटा सीईओमा आवश्यक पर्छ ।’
व्यवस्थापन मुली भन्नाले कर्मचारीहरूलाई उनीहरूको क्षमताको भरपूर प्रयोग गर्र्न उपयुक्त जिम्मेवारी र अख्तियारी प्रदान गर्दै संस्थागत एवम् सामूहिक उपलब्धि हासिल गर्ने चारित्रिक एवम् बौद्धिक सक्षमता जनाउँदछ । संस्थालाई स्रोतको जोहो गर्ने र तिनै कर्मचारीहरूको क्षमता प्रयोग गरी उपलब्ध स्रोतहरूको सदुपयोग गर्ने कला नै सीईओको सफलताको राज हो । त्यसका लागि कर्मचारीहरूलाई केवल जागिर दिने मात्र होइन राम्रो जीवन जिउन सक्ने बनाउनु पर्दछ । सहकारीका हकमा त सदस्यहरूलाई सेवा गरेर कर्मचारीहरूको पनि जीवनस्तर सुधार्ने कामको अगुवाइ गर्नुपर्ने हुन्छ जुन रनबहादुरले लिएको देखिन्छ ।
सुशासनमा शून्य सहनशीलता
सुशासन बिना न जनउत्थान आजको जनउत्थान बन्न सक्थ्यो न त रनबहादुर आजको रनबहादुर । झन् सहकारी संस्थाका लागि सुशासन एकदमै महत्वपूर्ण छ । त्यसैले, सुशासन संस्थागत गर्न एउटा सीईओको भूमिकाबारे रनबहादुर भन्छन्, ‘संस्थामा नीति नियमहरूको पूर्ण रूपमा पालना गराउने, सम्भावित जोखिमहरूको पहिचान गरी तिनको न्यूनीकरणको योजना बनाउने, सञ्चालक तथा कर्मचारीहरूलाई आफ्नो काम कर्तव्य अधिकारहरूबारे स्पष्ट जानकारी गराउने, उनीहरूलाई आफ्ना आचारसंहिताहरूबारे समयसमयमा अपडेट गर्ने, सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिहरूलाई आकस्मिक निगरानीको लागि वातावरण बनाउने, आन्तरिक तथा बाह्य लेखा परीक्षण समयमै गराउने र प्राप्त कैफियतहरू समयमै सुधार गर्ने, सदस्यहरूको कारोबारहरू पारदर्शी तरिकाले देखिनका लागि मोबाइल बैंकिङलगायत प्रविधि प्रयोगलाई बढाउने, सञ्चालक तथा कर्मचारीहरूलाई नियमित रूपमा तालिमहरूको व्यवस्था मिलाउने, कर्मचारीहरूलाई आवश्यक प्रोत्साहनसहितको नियमित अनुगमन गरिरहने, संस्थाबाट प्रदान गरिने हरेक सेवाहरूको बारेमा स्पष्ट कार्यविधिको विकास गर्ने, संस्थाको वार्षिक कार्यक्रमहरूको बारेमा साझा बुझाइको साथ स्पष्ट कार्यविधि बनाउने, सदस्यहरूसँग समयसमयमा भेटघाट तथा नियमित फोन सम्पर्कमार्फत सुझाव संकलन गर्ने विषय महत्वपूर्ण छन् ।’

सुशासनमा गरिएका पछिल्ला सुधारहरूबारे उनले भने, ‘साधारणसभाबाट पारित ९ वटा कार्यविधिहरूबाट स्वचलित सहकारी, पूर्ण अधिकार सम्पन्न १० वटा सेवा केन्द्र व्यवस्थापन उपसमिति, सबै सेवा केन्द्रमा सञ्चालक समितिको व्यक्ति सेवा केन्द्र संयोजक, आर्थिक कारोबारमा उच्च व्यवस्थापन र सञ्चालकको सहभागिता नहुने, सञ्चालक पदाधिकारी वा लेखा संयोजकको कुनै पनि पदमा दुई कार्यकाल मात्र रहने, असोज महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गर्ने, आर्थिक सुशासनको लागि पाँच लेयरको नियन्त्रण प्रणाली, उच्च व्यवस्थापनबाट हरेक आर्थिक कारोबारहरूको डे टु डे परीक्षण, सेवा केन्द्र व्यवस्थापन उपसमितिबाट आकस्मिक रूपमा आर्थिक कारोबार परीक्षण, लेखा सुपरिवेक्षण समितिबाट मासिक रूपमा बैठक बसी मासिक परीक्षण, चार्टड एकाउन्टेन्टसबाट हरेक तीन/तीन महिनामा आन्तरिक लेखा परीक्षण र चार्टर्ड एकाउन्टेन्टसबाट साउन १५ गतेभित्रै बाह्य लेखा परीक्षण आदि हाम्रा अभ्यासहरू छन् ।’
सुस्पष्ट रेखाचित्र, समृद्ध सदस्य
सिकाइहरूको समृद्ध बनाएको जनउत्थानको भविष्य समुज्ज्वल छ भन्छन् सीईओ रनबहादुर । त्यही भएर उनी उज्याला कुरा गर्छन् । आत्मविश्वासी रनबहादुरले भने, ‘एउटा प्रारम्भिक सहकारीले गर्ने सबै कार्यहरू सेवा केन्द्रले गर्ने गरी रूपन्देही जिल्लामा नौ वटा पूर्ण अधिकार सम्पन्न सेवा केन्द्र बनाई स्वचलित मोडमा सञ्चालन हुनेछ ।
उक्त सेवा केन्द्रहरूलाई डे टु डे अनुगमन केन्द्रीय कार्यालयमा रहेको उच्च व्यवस्थापनले गर्नेछ भने सेवा केन्द्र व्यवस्थापन उपसमितिलाई पनि आकस्मिक अनुगमनको लागि सक्षम र सक्रिय गराइनेछ । हरेक सेवा केन्द्रमा १०/१० हजार गुणस्तरीय सक्रिय शेयर सदस्यहरू गरी जम्मा करिब एक लाख शेयर सदस्यहरू हुनेछन र १२-१७ जना कर्मचारीहरूको दरले करिब ११५ जना कर्मचारीहरूले ती सदस्यहरूलाई नियमित सेवा दिइरहेका हुनेछन् ।’

उनले थपे, ‘संस्थाको रणनीति छ, हरेक शेयर सदस्यहरूलाई संस्थाले प्रदान गर्ने विभिन्न सदस्य सेवाहरूको बारेमा ज्ञान हुनेछ र करिब ३५ प्रतिशत सदस्यहरूले ऋण उपभोग गरिरहेको हुनेछन्, कुल सदस्यमा करिब ३० प्रतिशत सदस्यहरूले मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेछन् भने करिब २५ प्रतिशत सदस्यहरूलाई वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रममा सहभागी गराइसकेको हुनेछ त्यस्तै, ऋण मागदेखि ऋण लगानी र हस्ताक्षर सहीछापसम्मका सबै कार्यहरू डिजिटल प्रविधिको प्रयोग गरी पेपर लेस बनाई छिटो, छरितो रूपमा गुणस्तरीय ऋण लगानी सेवा दिने बनाइनेछ, ।’
टर्यो सम्भावित दुर्घटना
विगत यस्तो बलियो थिएन । सिकाइ कमजोर थियो । तर, नियत खराब थिएन त्यसैले स्निग्ध सोच र सिकाइलाई व्यवहारमा उतार्दा सफलता मिलेको रनबहादुर बताउँछन् । विगतको एउटा किस्सा उनले सुनाए, ‘करिब पाँच करोडको ब्यालेन्स सिटमा जम्मा करिब पाँच लाख मात्र तरलता लिएर हामी बसेको थियौं कुनै समय । त्यसमाथि ऋणमा मासिक किस्ता नबनाई ब्याजमात्र तिर्ने सिस्टम बनाएर चलाउँदा धेरै राम्रो गरेका छौं भनेर गर्वका साथ भन्ने जनउत्थानले तरलता व्यवस्थापन के हो भनेर त्यसबेलासम्म बुझेको थिएन ।
मागअनुसार ऋण लगानी पुर्याउन सकिएको अवस्था थिएन । जहिले पनि ऋण लगानी गर्दा माग गरेको भन्दा कटौती गरेर दिनुपथ्र्यो । तर, त्यस्तो अवस्थामा २०६८ पुस ५—९ गतेसम्म भएको सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिमले जनउत्थानलाई छाँगाबाट खसेझै बनायो । त्यसपछि सहकारी व्यवस्थापनबारे ज्ञान र सीप विकासको लागि नेफ्स्कूनमा आबद्ध भयो । नेफ्स्कूनको नियमित सहजीकरणमा संस्था सञ्चालनको लागि आवश्यक कार्यविधिहरूको विकास गर्यो संस्थाले । वित्तीय सूचकहरूलाई व्यवस्थापन गर्न लाग्यो । ब्याजमात्र बुझाउन पर्ने ऋणहरूलाई मासिक किस्तामा परिणत गर्न सुरु गर्यो, ५ सी विश्लेषण गरेर ऋण दिन थाल्यो, संस्थाको खराब ऋणी सदस्यहरूलाई ऋण नवीकरण गर्न बन्द गर्यो, भाखा नाघेको ऋणको लागि कर्जा जोखिम कोषको व्यवस्था गर्दै गयो । यसले सुशासनमा बस्न नचाहने आर्थिक कारोबार ठीक नभएका खराब सदस्यहरू निस्किँदै जान थाले भने राम्रा सदस्यहरू मात्र जनउत्थानमा बस्न थाले ।’
असफलताको कथा
‘हामीले संस्था सुरुवात गर्दा ऋण लगानी होइन वितरण गर्यौं,’ रनबहादुरले भने, ‘सदस्यहरूलाई ऋणको किस्ता तिर्न नपर्ने गरी ब्याजमात्रै तिरे हुने गरी धेरै ऋण दियौं । किस्ता तिर्न परे तीन लाख ऋण लिने क्षमता भएको सदस्यलाई किस्ता तिर्न नपर्ने गरी १५ लाख ऋण दियौंं । यस्ले सदस्यलाई ब्याज मात्र तिर्ने र ऋण हरेक अवधि सकिएपछि नवीकरण गर्ने बानी बसाल्यौं । हाम्रो संस्थामा ऋण नतिरीकन अर्को ऋण नपाउँदा अर्को संघसंस्थामा ऋण लिन जाने वातावरण तयार गर्यौं । यसरी ऋणले सदस्यलाई धनी बनाउँला भनेर सहकारी खोलेको तर सदस्यहरू दिनप्रतिदिन गरिब हुँदै गए सदस्यहरू ।’
रनबहादुरले कही समस्या हुँदै गएको महसुस गरे । उनको टिमले विश्लेषण गर्यो ऋण लगेर उचित व्यवस्थापन गर्न नसक्नु सदस्यहरूको आफ्नै कारणहरू भए पनि संंस्थाले पनि सजिलै विश्लेषण नगरी मासिक किस्ता नबनाई ऋण दिएकोले समस्या बढ्दै गइरहेको छ । त्यसपछि उनीहरूले अब हामीले सदस्यलाई वास्तविक पहिचान नगरी हुँदैन भनेर सदस्यको जीवनसँग समीप राख्ने रणनीति अवलम्बन गरे । संस्थाले सदस्य पहिचान गर्न सिक्यो । सदस्यहरूलाई बास्तवमा धनी बनाउने हो भने ऋणको किस्ता मासिक बनाउनु पर्दो रहेछ भन्ने सिकाइ उनीहरूलाई भयो ।
त्यो टर्निङ पोइन्ट
विकु साकोस गैंडाकोटबाट इन्द्रराजज्योति पौडेल र हरिलाल सापकोटाबाट २०६८ पुस ५-९ गते पहिलो पटक सहकारी व्यवस्थापन नेतृत्व विकास तालिम लिएपछि सहकारी कसरी सञ्चालन गर्ने भन्ने बारेमा सामान्य सुरुवाती बुझाइ र मिति २०६९ चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकबाट नेफ्स्कूनको प्रोवेसन कार्यक्रमको लागि सम्झौता गरेपछि सहकारी सञ्चालन सम्बन्धी विभिन्न सूचकहरूको बारेमा सिकाइ भयो टिम रनबहादुरलाई । त्यसले तरलता नराख्ने, ५ सी विश्लेषण बिनाको ऋण लगानीजस्ता गलत अभ्यासहरूमा आमूल परिवर्तन ल्याएको रनबहादुरले बताए । ‘त्यसले हामीलाई सहकारी सञ्चालनमा आउन सक्ने जोखिमहरूको उचित व्यवस्थापनको लागि समयमै सुधार गर्दै लान सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको स्पष्ट बुझाइभयो ।’ उनले भने, ‘त्यसपछि मात्र सुरक्षित सहकारी कसरी बनाउन सकिन्छ भनेर लाग्न लागियो ।’

आफैं गेटपाले, आफैं व्यवस्थापक
२०६६ सालमा उनी केयर नेपालमा जागिरे थिएँ । तर, केयरले भन्दा सहकारीले वास्तवमै केयर गर्छ भन्ने खोइ किन हो कुन्नि उनलाई मनमा लाग्यो र त्यही सालको कात्तिक १ गतेबाट सहकारीमा लागे । लागेभन्दा पनि उनी पनि संलग्न भएर सहकारी संस्था गठनमा जुटे । जिम्मेवारी बाँडफाँड गर्दै जाँदा सुरुमै उनलाई व्यवस्थापकको भूमिका दिइयो । नाम व्यवस्थापक थियो तर काम भने गेटपालेदेखि सबै । उनले गरे पनि किनकि अवस्थाको आग्रह नै त्यही थियो । सुरुवाती अवस्थामा अन्य संस्थामा त यस्तै हुन्छ भने सहकारीमा त झन् नहुने कुरै भएन । सहकारी प्रवेश बारे उनले हामीलाई यसरी सुनाए, ‘म यस्तो क्षेत्रमा काम गर्न चाहन्थे कि जहाँ म संँगसगै मेरो समाज पनि अघि बढोस् । मलाई सानैदेखि समाजमा पहुँच नभएका मानिसहरूको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने उनीहरूसँगै बसेर काम गर्ने इच्छा पनि थियो । सहकारी यस्तो क्षेत्र हो जहाँ म आफ्नो व्यावसायिक दक्षता पनि निखार्न पाउछु साथै कसैको स–साना बचतलाई ठूलो सपनामा बदल्ने सहयात्री पनि बन्न पाउछुँ । त्यही भएर दुःख गर्दै काम गरेँ ।’

सोचले जन्माएको सहकारी
व्यक्तिका जीवनको अनेकन ऊहापोह हुन्छन् । उनले एउटा घटना सुनाए जसले आजको जनउत्थानको जन्म गरायो । त्यो उनको जीवनको पनि अविस्मरणीय घटनामध्येमै पर्छ । २०५६ सालतिर उनी कम्प्युटर किन्नको लागि ६० हजार ऋण लिन भनी दुई/तीन वटा बैंक धाए । सबै बैंकले पाँच लाख घटी त ऋण हुँदैन भन्थे । बल्लबल्ल एउटा फाइनान्समा दिन्छु भन्यो । धेरै पटक धाए अनि बल्ल त्यहाँका कर्मचारीहरू धितो हेर्न गए । त्यसबेला धितो मूल्यांकनमै ५ हजार खर्च भयो, सेवा शुल्क १२ सय र ३ हजार बचत राखियो । ६० हजार ऋण लिन रनबहादुर करिब डेढ महिना बैंक धाए । उनलाई मनमा गढ्यो त्यो विषय । सोचेँ, ‘मैले जस्तो यस्ता दुःख धेरैले बेहोरेका छन् । यदि सहकारी भएको भए मलाई कति सजिलो हुने थियो ।’ सोचको जन्मले बिस्तारै आकार लिन थाल्यो । उनले बिस्तारै बैंकको ऋण तिर्दै गए भने अर्कोतर्फ सहकारी सञ्चालन गरी आफूजस्ता पीडित सबैलाई सेवा गर्ने सोच पनि मस्तिष्कमा बचत गर्दै गए । त्यसबेला साविक टिकुलीगढ गाउँ विकास कार्यक्रमका परिचालक यज्ञदेव ज्ञवाली र सुपौली युवा क्लबका तत्कालीन साथीहरूसँग समयसमयमा सल्लाह गर्दै गए । यसकै परिणामस्वरूप आइन्दा आफू बसेको समाजमा मैले जस्तो कसैले दुःख नपाउन भनेर २०५९ असोजतिर सहकारी सुरुवात गर्ने औपचारिक सल्लाह गरेँ ।

आकर्षण आवश्यक, बढाउने कसरी ?
अब फेरि वर्तमानमै फर्कौं । सहकारी क्षेत्रमा नयाँ पुस्ताहरूको आकर्षण बढाउनु अहिलेको मुख्य आवश्यकता हो । अहिले स्कुल र कलेजका विद्यार्थीलाई सहकारी मेन्टरिङ गराइरहेका रनबहादुर भन्छन्, ‘मोबाइल बैंकिङ सेवा, क्यूआर कोड, अनलाइन सदस्यता तथा ऋण माग सुविधा दिने, पारदर्शिताको लागि संंस्थाको वित्तीय अवस्था मासिक रूपमा प्रकाशन गर्ने, संस्थाको हरेक गतिविधिहरूलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, सहकारीको फाइदा र सफलताको कथाहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, कलेजहरूका विद्यार्थीलाई पनि सहकारी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, समिति उपसमिति तथा सहकारीको विविध कार्यक्रमहरूमा युवाहरूलाई पनि सहभागी गराउने, सहकारी तालिम भ्रमण कार्यक्रमहरूमा युवाहरूलाई पनि सहभागी गराउँदै लैजाने, युवाहरूलाई नयाँ नयाँ व्यापार कलाहरूको सीप विकास तालिमको व्यवस्था, युवाहरूलाई कम्प्युटर, एआई, ड्राइभिङजस्ता प्राविधिक सीप विकास तालिमको व्यवस्था गर्ने, आदि ।’
कानुन र विधिसम्मत् तरिकाले रनबहादुर अझै केही वर्ष जनउत्थानको सीईओ रहने पक्का छ । यसबीच सदस्यहरूलाई उनका प्रतिबद्धताहरूको पोको यसरी फुकाए- ‘जनउत्थान सधैं सदस्यहरूको सुखदुःखको साथीको बन्नेछ । सदस्यलाई धनी बनाउन वित्तीय साक्षरता र सचेतना कार्यक्रमहरूमा जोड दिइनेछ । सदस्यहरूलाई सहकारीमा आफ्नो कर्तव्य र अधिकारबारे सचेत गराउँदै लगिनेछ। सदस्यहरूलाई व्यवसाय विकास परामर्श सहितको ऋण लगानीलाई जोड गरिनेछ । सदस्यको बचतको सुरक्षालाई प्राथमिकता दिई उत्पादनशील क्षेत्रमा ऋण लगानी गरिनेछ ।’

अघाउँदी आत्मसन्तुष्टि
२०२७ सालमा बागलुङबाट बसाइँसराइ गरी मधेस झरेको थियो उनको परिबार । उनले एमएडसम्मको औपचारिक पढाइ पूरा गरेका छन् । स्वास्थ्य क्षेत्रमा उनी अहेब पनि हुन् । तर, त्योभन्दा बढी सहकारी क्षेत्रका उनी उज्ज्वल नक्षत्र हुन् । उच्चस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिएका उनी गतिलो सहकारी प्रशिक्षक पनि हुन् । सहकारीमै जीवनको ऊर्जाशील समय खन्याएका रनबहादुर यसो पछाडि फर्कन्छन् र भन्छन्, ‘म एकदमै आत्मसन्तुष्ट छु । व्यक्तिगत र संस्थागत जीवन सुध्रिएको छ । पहिचान स्थापित भएको छ । मुख्य कुरा सदस्यहरूको जीवनसँग सन्निकट भएर रहन पाइएको छ । उहाँहरूको सुखदुःखमा सहभागी हुन पाइएको छ ।’
यस्तो छ संस्थाको वित्तीय अवस्था

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार