सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
परिभाषा त परको कुरा, सहकारी के हो ? यसले के गर्छ ? भन्नेसम्म थाहा थिएन । त्यही अवस्थामा मदन बस्नेत सहकारी छिरे । त्यो पनि एक सामान्य जागिरे बनेर । तर त्यो समय आजको थिएन । करिब २५ वर्ष पहिलेको कुरा । १२ कक्षाको परीक्षा दिएर बसेको एक मध्यमवर्गीय परिवारको केटोलाई अब केही गर्नुपर्छ भन्ने लाग्नु स्वाभाविक पनि हो ।
२०५८ सालको कुरा थियो । डा. शिवजी सापकोटा (हाल नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत) ले मदनलाई सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कर्मचारी माग गरेको सूचना दिए । ‘आवेदन दिनू’ भनेर अह्राए । उनले आवेदन दिए । पहिलो पटकमै उनी परीक्षा उत्तीर्ण भए । सहकारीले उनलाई सहायक खजाञ्चीको पदमा मंसिर १ गतेबाट नियुक्ति दियो ।
त्यसपछि भने नसिकी काम गर्न सकिँदैनथियो । उनले सहकारीमा प्रवेश गरेपछि विस्तारै सबै काम मात्र सिकेनन् । जागिर सुरु गरेको १४ वर्षपछि २०७२ साल भदौ १६ गते त्यही सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको पदमा आसिन हुन पुगे ।
डा. शिवजी सापकोटालाई मदन आफ्नो करिअरको सूत्रधार मात्र स्वीकार्दैनन्, सायद उनको प्रेरणा नपाएको भए आफू यतिबेला कुनै विदेशी भूमिमा रुमल्लिरहेको हुन सक्ने बताउँछन् ।
‘किनकि १२ को परीक्षा दिएर मैले विदेश जाने योजना बुनेर पासपोर्ट बनाइसकेको थिएँ,’ उनले भने, ‘म्यानपावर धाउन सुरु गरिसकेको थिएँ । उनले मलाई बाटो नदेखाइदिएको भए सायद आज म विदेशी भूमिमा हुन्थें होला । उनको सुझाव, सहयोग र साथ मेरो जीवनको टर्निङप्वाइन्ट हो ।’
शिक्षा, संघर्ष र सास्ती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका—६ स्थायी ठेगाना । पिता पुष्करबहादुर बस्नेत र माता राधा बस्नेतका पाँच सन्तानमध्ये मदन बस्नेत पहिलो सन्तानका रूपमा २०३९ साल माघ २२ जन्मिए । १५ वर्षको उमेर २०५४ सालमा पनौतीस्थित पुण्य माध्यमिक विद्यालयबाट एसएससी परीक्षामा उनी एक्लो उत्तीर्ण हुने विद्यार्थी बने । त्यसपछि उनले व्यवस्थापनमा स्नाकोत्तरसम्मको शिक्षा लिए ।
उच्च शिक्षाको त्यो यात्रा सहज भने थिएन । १२ कक्षाको नतिजा नआउँदै सहकारीमा सुरु गरेको जागिर र अध्ययनमा तालमेल मिलाउनु फलामे च्युरा जत्तिकै थियो ।
कर्मचारीको हैसियतले संस्थामा बिहान ८ बजे नै हाजिर हुनुपथ्र्यो । उता कलेजको पढाइ पनि त्यही समयमा भइदिन्थ्यो ।
‘बिहान दुई पिरियड कलेज पढ्थेँ । त्यहाँबाट बीचैमा कलेज छोडेर हतारिँदै ८ बजे सहकारीको कार्यालय पुग्थेँ’, बस्नेतले भने, ‘१० बजेदेखि ११ बजेसम्म खाना खाने ब्रेक हुन्थ्यो तर त्यो एक घण्टामा घर पुगेर खाना खाएर कार्यालयमा आइपुग्न भ्याइनभ्याइ हुन्थ्यो ।’
त्यो समयमा आजजस्तो सवारीसाधनको पहुँच थिएन । कुदेर घरको खाना खाएर फेरि कार्यालय आउँदा ढिलो हुन्थ्यो । ‘त्यसैले बिहानको खाना होटलमा खानुपर्ने वाध्यता थियो । तर होटलमा खाना खान संस्थाको तलबले पुग्नैनथ्यो’, उनले ती दिन सम्झिए, ‘जागिर खाएर पनि घरबाट खर्च माग्नु पथ्र्यो ।’ आर्थिक गाह्रो । समयको अभाव त छँदै थियो । अर्को पिरलो थियो माओवादी द्वन्द्व । आर्थिक कारोबार गर्ने संस्थाको जागिरे । सदस्यका खाताहरू नासिने, मासिने डरको मानसिक पीडा सधैं बोकेर हिँड्नुपर्ने ।
‘सदस्यहरूको रेकर्ड ननासियोस् भनेर दोहोरो रेकर्ड राख्नुपर्ने, चन्दा आतंक, बाध्यतामा परेर आर्थिक तथा भौतिक सहयोग गर्नैपर्ने’, उनले भने, ‘ओहो ! एक खराब सपनाजस्तो लाग्छन् ती दिन ।’ दिनहरू बित्दै गए । सीईओे मदन परिपक्व हुँदै गए । आफूलाई अझ अब्बल बनाउन सहकारीसम्बन्धी विभिन्न तालिमहरू लिए । उच्चस्तरीय तालिमहरूमा सहकारीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, एक्सेस ब्रान्ड मास्टर्स अडिटर्स तालिम, सहकारीको व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम, ऋण अधिकृतको क्षमता अभिवृद्धि तालिम, वित्तीय वस्तु विकास तालिमलगायतका तालिम लिएर उनले आफूलाई थप निखारे ।
सहकारीमै भविष्य छ भन्ने कुरा उनले काम गर्दै जाँदा मेसो पाए । यसैमा अब्बल बन्ने सपना देख्नमा उनलाई दुई कुराले प्रेरित गर्यो। पहिलोः सहकारी मात्र यस्तो संस्था हो जहाँ काम गर्दा तलब पनि पाइने र जनसम्पर्क पनि बढी हुने । त्यसै कारणले सहकारी क्षेत्रमा करिअर बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो ।
अर्कोः उन कार्यरत सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनभन्दा अघिल्लो प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पनि सानो पदबाट प्रवेश गरेर प्रमुख कार्यकारी अधिकृतसम्मको यात्रा तय गरेको जीवन्त उदाहरण । ‘कृष्णकुमार सरको करिअरबाट प्रेरित भएँ, सहकारीमा भविष्य छ भन्ने लाग्यो । अर्को जनसम्पर्क पनि हुने भएकाले यसै क्षेत्रमा जीवनको अढाई दशक ब्यतित गरियो ।’
नेतृत्व सफलताको सूत्र समन्वय
मदन बस्नेतको सफलताको प्रमुख सूत्र सहकर्मीहरूसँगको समन्वय नै हो । संस्थागत निर्णय गर्दा सहकारी ऐन, नियमावली, निर्देशनहरू, प्रचलित कानुन र संस्थाको विनियम, नीति तथा कार्यविधिको अधिनमा त रहनुहुन्छ नै, त्यसबाहेक संस्थाका अघिल्ला निर्णय र नजिरहरूलाई पनि आत्मसात् गर्नुहुन्छ ।
संस्थाका १२६ जना कर्मचारीसँग एकएक गरी सरसल्लाह गर्न नभ्याए पनि विभागीय प्रमुख, क्लस्टर प्रमुखलगायतसँग समन्वय गर्ने उनको बानी छ । त्यसबाहेक उच्च व्यवस्थापनको टिम, सल्लाहकार समिति, लेखा सुपरिवेक्षण समितिको परामर्श लिएर कदम चाल्ने स्वभावले उनलाई यहाँसम्म ल्याइपु¥याएको ठान्छन् ।
‘उसो त जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा पनि सहज पहुँच छ । केही संकट पर्यो भने आवश्यकताअनुसारको परामर्श लिई निर्णय लिने गरेको छु’, उनले भने, ‘एक्लैले गरेर केही हुन्न, सबैको साथ सहयोग र समन्वय आवश्यक हुन्छ ।’
संस्थागत सफलता
उनको यही इमान्दारिता, मिहिनेत र लगनले संस्थामा सफलताको रंग देखिएको छ । २०७३ सालमा राष्ट्रिय सहकारी बैंक लि.बाट बागमती प्रदेशको उत्कृष्ट संस्थाको पुरस्कार उन नेतृत्वको सहकारीले हात पार्यो । ‘२०७५ सालमा नेफ्स्कूनबाट उत्कृष्ट व्यवस्थापकको रूपमा म आफैं पुरस्कृत भएँ’, मदनले भने, ‘२०७६ सालमा बागमती प्रदेश सरकारबाट उत्कृष्ट संस्थाको पुरस्कार पनि प्राप्त भयो ।’
त्यसयता संस्थाले निरन्तर रूपमा कुनै न कुनै पुरस्कार वा सम्मान हात पार्दै आएको छ । २०७८ सालमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडबाट उत्कृष्ट संस्थाको पुरस्कार, २०८० सालमा जिल्ला सहकारी संघ लिमिटेडबाट, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघ र पनौती नगरपालिकाबाट उत्कृष्ट संस्थाको रूपमा संस्था पुरस्कृत भएको छ ।
२०८१ सालमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडबाट बागमती प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट उन नेतृत्वको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको थियो ।
संस्थाको फैलावट
काभ्रेको पनौती नगरपालिका र यससँग जोडिएका पाँच गाउँपालिका कार्यक्षेत्र भएको संस्था आज ६ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्न सफल भएको छ । ११ हजार सदस्य भएको संस्था आज ६१ हजार सदस्यको परिवारमा विस्तार भएको छ । ८१ करोडको वासलात ६ अर्बभन्दा माथि पुगेको छ ।
संस्थामा ६० वटा नीति, कार्यविधिहरू तयार गरी लागू गरिएको छ प्रमुख कार्यकारी अधिकृत मदनले बताए । संस्थामा आन्तरिक लेखा परीक्षकको व्यवस्था चुस्त बनाउँदै त्रैमासिक लेखा परीक्षण प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाइएको छ ।
१७ वटा सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदानमात्र होइन अधिकार विकेन्द्रीकरण गर्दै सदस्यहरूलाई छिटो, छरितो सेवा प्रदान गरिरहेको छ ।
सदस्यहरूलाई मोबाइल एपबाट कारोबार गर्न सक्ने सुविधा, एटीएम, क्यूआर, स्क्यानलगायत कनेक्ट आईपीएसको माध्यमबाट बैंकको खाताहरूमा रहेको रकम सिधैं आफ्नै खातामा जम्मा गर्न सक्ने प्रविधिको विकास गरिएको छ ।
यही नै उनको सहकारीलाई सफल बनाउने सूत्र पनि हो । ‘सदस्यको सन्तुष्टि नै सहकारी संस्था सफल बनाउने मूल कडी हो’, सीईओे मदनले भने, ‘हामीले विकास गर्ने वस्तु तथा सेवा सदस्यमुखी छन् कि छैनन् ? रुचाएका छन् कि छैनन् ? उनीहरूको आवश्यकता हो कि हैन ? सन्तुष्ट छन् वा छैनन् भन्ने नतिजा नै संस्थाको सफलता हो ।’
एकताले अब्बल, घटनाहरूले जोखिम
सामुदायिक सहकारीमा १७ वटा सहकारी संस्था एकीकरण भइसकेका छन् । यही एकीकरण संस्थाका लागि बलियो मेरुदण्ड बन्दै आएको छ । जसले संस्थाको कार्यक्षेत्र, सेवा केन्द्र, सदस्य संख्या, वासलातलगायत वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
संस्थामा पारदर्शिता, सुशासन, अपनत्वको अभाव भयो भने जोखिम सिर्जन हुने उन बताउँछन् । हाल देशैभर कतिपय सहकारीमा सदस्यको रकम अपचलन हुने समस्या छ, जसले यस क्षेत्रलाई नै बदनाम बनाउने गरेको उनी महसुस गर्छन् ।
त्योबाहेक भैपरी आउने समस्याले पनि चुनौती थपिदिने गरेको हुन्छ । उनले नेतृत्व गरेको यस सामुदायिक सहकारीमा पनि २०८० वैशाखमा संस्थाको मुख्य कार्यालयमा चोरी भयो ।
समुदायबाट संस्थाको छविमा विभिन्न लाञ्छना लगाउने कार्य भए । सीसी क्यामराको दोहोरो ब्याकअप राख्ने गरेको कारण प्रहरीलाई सबुत प्रमाण भयो र चोरी भएको करिब दुई सातामा अभियुक्तहरू पक्राउ परे । सबैको सहयोगमा चोरी भएको सबै रकम फिर्ता प्राप्त भयो र संस्थाको विश्वसनीयता कायम राखिराख्न सकेकोमा उनी स्मरण गर्छन् ।
‘त्यस्तै अर्को घटना २०८१/०८२ मा भयो । संस्थाका केही कर्मचारीहरूले संस्थाको रकम हिनामिना गरे । सामाजिक सञ्जालमार्फत संस्थाको ठूलो बदनाम भयो’, सीईओ मदनले भने, ‘त्यस घटनामा संलग्न कर्मचारीहरूबाट हिनामिनाको रकम असुली गरियो । नोकरीबाट निकालियो र जानकारीसहित कानुनी कारबाहीको लागि नियामक निकायमा पठाइयो । तर संस्थाको साख लयमा फर्काउन धेरै मिहिनेत गर्नुपर्यो । यसले के सिकायो भने संस्थाका सदस्यको विश्वास जित्न सकियो भने जस्तोसुकै जोखिमबाट पार पाउन सकिन्छ ।’

नियामकीय कडाइले पार्ने सकस
नियामकीय निर्देशन, मापदण्ड पालना गर्नु संस्थाहरूको कर्तव्यमात्र होइन कानुनी सीमा पनि हो । र कहिलेकाहीँ नियामक निकायबाट आइदिने अप्रत्याशित निर्देशनले भने संस्थालाई नै असमञ्जसमा पारिदिने अनुभव सीईओे मदनले पनि सँगालेका छन् ।
‘एकाएक सेवा केन्द्र बन्द गर्ने निर्देशन आयो’, उनले भने, ‘विद्यमान कानुनको परिधिमा रहेका नियामकीय निकायबाट स्वीकृत लिएर सञ्चालन गरेको सेवा केन्द्र एकाएक बन्द गर्ने निर्देशन कतिको जायज होला ?’ त्यसको दूरगामी असर के होला भन्ने पनि नसोचेरै आएको निर्देशनले सहकारी संस्थाहरूलाई निकै दुविधामा पार्यो ।
‘सेवा केन्द्रबाट संकलित बचत त फिर्ता लिन आह्वान गरौंला,’ उनले भने, ‘लगानी भएको ऋण निर्देशन जारी गर्नेले त उठाइदिने होइन होला ! त्यसैले यस्ता खालका विषयमा निर्देशन जारी गर्दा दीर्घकालीन असर र प्रभावको बारेमा विश्लेषण गरेर मात्र गर्नुपर्छ भन्ने मेरो मत हो ।’
यद्यपि उनी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन, कर्जा सूचना केन्द्रको आबद्धतालगायतले आगामी दिनमा अभियानलाई थप मजबुद बनाउँदै लाने र सहकारीप्रतिको सदस्यको माया विश्वास प्रगाढ हुँदै जानेमा विश्वस्त छन् ।
सजग हुने शैली
संस्थाको साख जोगाउन र विश्वास कायम राख्न निकै चनाखो हुनुपर्ने पाठ उनले सिकेका छन् । स्वार्थ पूरा नभए आफन्त नै डाह गर्छन् भन्ने ज्ञान उनलाई छ ।
त्यसैले स्वार्थसहितको सम्बन्ध कसैसँग राख्न नहुने सिद्धान्त उनले अपनाएका छन् । स्वार्थपूर्ण सम्बन्ध बनाउनेहरूसँग उनी सधैँ सजग रहन्छन् । आर्थिक कारोबार हुने ठाउँमा मेकर र चेकरको सिस्टम रहेको उनले बताए ।
नियामकीय निर्देशनुसार संस्थाको मासिक रिपोर्ट पठाउनु पर्छ । आफ्ना कार्यालयहरूमा पनि मासिक प्रतिवेदन सार्वजनिक गर्ने गरिएको छ । संस्थाको मासिक अवस्था कस्तो छ भन्ने कुरा वेवसाइटमा प्रकाशन गर्ने गरिएको उनले बताए । सूचना अधिकारीमार्फत आवश्यक सूचना दिने व्यवस्थाले पनि सहज बनाएको उनको अनुभव छ ।
‘त्यसबाहेक साधारणसभा, अर्धवार्षिक समीक्षा गोष्ठी, योजना परामर्श गोष्ठीलगायतका अवसरमा सदस्यहरू माझ उपस्थित हुने र संस्थाका गतिविधिबारे जानकारी गराउने गरेको छु’, सीईओ मदनले भने, ‘सदस्यहरूको जिज्ञाशा प्रत्यक्ष र डिजिटल माध्यमबाट समाधान गर्ने गरेको छु । जसले मलाई निकै सहज र विश्वास आर्जन गर्न सहायक बनेको छ ।’
साधारणसभा, सञ्चालक समिति, उपसमितिहरूले गरेको निर्णयको इमान्दार कार्यान्वयन, नीति, कार्यविधिको कानुन अनुकूल परिमार्जन र त्यसको मस्यौदा तयार गर्नेलगायतका कार्यहरू प्रमुख कार्यकारी अधिकृतको दायित्व हुन्छ, जुन आफूले कुशलतापूर्वक निर्वाह गरेको उनलाई महसुस हुन्छ ।
सामाजिक उत्तरदायित्व र समृद्धि
सहकारी सदस्यको मात्र हैन, समुदायको पनि हो भन्ने उनले राम्ररी बुझेका छन् । सहकारी संस्थाको सामाजिक उत्तरदायित्व रहन्छ भन्ने ज्ञान उनलाई अनुभवले सिकाएको छ । सहकारी ऐन, २०७४ ले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि अनिवार्य सामुदायिक विकास कोषको व्यवस्था गर्नुपर्ने भनेको छ ।
जसले समुदायमा सहकारी संस्थाको छवि निर्माण हुने, पहिचान बन्ने र सहकारीप्रति समुदायको आकर्षण बढाउने पनि गर्छ । ‘सामाजिक उत्तरदायित्व पूरा गर्दा संस्थामा सदस्यहरूको आबद्धता बढ्नेमात्र होइन व्यवसाय पनि वृद्धि हुने सकारात्मक अनुभव मैले अनुभूत गरको छु’, उनले अनुभव सुनाए ।
त्यो मात्र होइन सहकारीको ध्येय नै संस्थाका सदस्यहरूलाई समृद्ध बनाउने नै हो । त्यसैले संस्थाले सदस्यहरूलाई उद्यमी, रोजगारयुक्त बनाउन सानादेखि ठूला उद्योग, कलकारखाना सञ्चालन गर्नसम्म ऋण लगानी गर्ने, सीपमूलक तालिम दिने काम गर्दै आएको छ ।
‘त्यसले सहकारीमार्फत सदस्य र सिंगो समुदायकै गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेको मैले पाएको छु’, सीईओ मदन बस्नेतले सुनाए ।
त्यसका लागि संस्थाका हरेक गतिविधिमा सदस्यलाई महत्वका साथ सहभागी गराउन प्रयत्न गर्नुपर्छ । सदस्यहरूलाई संस्थाको सामान्य बचतकर्ता मात्र नभएर मालिक हो भन्ने अनुभूति गराउने कामलाई उन सूक्ष्म रूपले हेर्नुहुन्छ ।
भविष्य दृष्टिकोण
आजसम्म जे गरियो, जे प्राप्त भयो र जहाँ पुगियो सीईओ बस्नेत यसलाई सुरुवातकै निरन्तरताको रूपमा लिनुहुन्छ । उन समयसँगै आउने हरेक परिवर्तन, चुनौती र प्रविधिले संस्थालाई सधैं नयाँ रूपमै लिइरहनुपर्ने धारणा राख्छन् ।
संस्थालाई दिगो र सुरक्षित संस्था बनाएर आगामी पाँच वर्षमा एक लाखभन्दा बढी सेयर सदस्य बनाउने लक्ष्य रहेको उनले सुनाए । आबद्ध सदस्यहरूलाई पूर्ण डिजिटल सेवा प्रदान गर्ने उनको अर्को योजना हो । संस्थालाई समुदायको पहिलो रोजाइको संस्था बनाउने उनको सपना छ ।
सहकारी ऐनमा भएका व्यवस्था क्रमशः कार्यान्वयन हुँदै जानुले पनि आफूले बुनेको योजना सफल बनाउन सहज हुने उनको बुझाइ छ ।
जस्तो कि सहकारी नियमन प्राधिकरणको स्थापना, कर्जा सूचना केन्द्रमा सहकारी संस्थाहरूको आबद्धता, ऋण असुली न्यायाधिकरणको गठन र कार्यान्वयनमा आउनुले सहकारी समस्यामा परिहाल्ने जोखिमलाई पनि कम गर्दै जाने उनको बुझाइ छ ।
‘बचत सुरक्षण कोषको स्थापनालगायतका विषयहरू विस्तार कार्यान्वयन हुँदै जाँदा सहकारी अभियान दरिलो खम्बाको रूपमा स्थापित भएर देश विकासको लागि महत्वपूर्ण भूमिकामा रहनेछ भन्ने अपेक्षा गरेको छु’, उनले भने, ‘त्यसैले मैले सहकारी अभियानको भविष्य उज्ज्वल देखेको छु ।’
देशमा केही संस्थामा भएको त्रुद्धि र हल्लाले सहकारीप्रतिको नकारात्मक धारणा चिर्न पनि विभिन्न नियमनकारी निकाय र प्रविधिको प्रयोगले सहायक भूमिका खेल्ने उनको विश्वास छ ।
नयाँ पुस्तालाई प्रविधिसहितको अत्याधुनिक सेवा प्रदान गर्ने हो र स्कुलदेखि नै सहकारीको विषयमा ज्ञान दिँदै जाने हो भने सहकारी संस्थाहरूप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै जाने विश्वास उनको छ ।
निजात्मक कुरा
एक स्थापित सहकारी संस्थाको कार्यकारी भूमिकाको भारी हुँदा हुँदै पनि मदन बस्नेत आफ्नो निजी जीवनलाई एक लयमा बगाइरहने व्यक्तित्व हो । बिहान सबेरै उठ्ने । एक्ससाइज गर्ने । फुर्सदको समयमा फिल्म हेर्ने उनका रुचिहरू हुन् ।
त्यसबाहेक अध्ययनमा पनि उनको उस्तै रुचि छ । विभिन्न पुस्तक पढ्नु साथै प्रायः उनलाई कथाहरू पढ्न रुचि छ ।कुनै दबाब वा तनाव व्यवस्थापनका लागि एक्ससाइज गर्ने, साथीभाइसँग चिया गफ गर्ने र फिल्म हेरेर त्यसलाई बिर्सिदिने कोसिस गर्छन् ।
नयाँ पुस्तालाई सहकारीमा भविष्य छ भन्न उनी रुचाउछन् । आजको परिणाम भोलि नै नखोज्ने हो भने अथक, मेहनत र परिश्रमको आँट छ भने एक दिन त्यसले प्रतिफल पक्कै दिने विश्वास नयाँ पुस्तालाई उन दिलाउन चाहन्छन् ।
सहकारी संस्था समुदायको सम्पत्ति हो भन्ने कुरा राम्ररी बुझेका सीईओे मदन सहकारिताको माध्यमबाट समाजमा रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्ने र संस्थाको लक्ष्य पूरा गर्न सधैं प्रतिबद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार