बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
बनेपा : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभाअन्तर्गत अन्तिम निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको छ। असोज १६ देखि १८ गतेसम्म विभिन्न सात एकाईमा सम्पन्न सभाबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा बुधबार, असोज २१ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो।

एकाई सभाबाट छनोट भएका ३१ जना प्रतिनिधिको सहभागितामा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको थियो। सभाको उद्घाटन राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा बागमती प्रोस्कूनका कोषाध्यक्षसमेत रहेका संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदीप थापाले गर्नुभएको थियो।
सभामा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालक समिति सदस्य केशव थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा छनोट भएका प्रतिनिधिसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो।

निर्विरोध निर्वाचित पदाधिकारीले लिए शपथ
निर्णय प्रमाणीकरण सभा सम्पन्न भएपछि ३३औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकारद्वय प्रदीप थापा र भीमसेनप्रसाद सापकोटा, निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडाल तथा प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
३३औँ वार्षिक साधारणसभाबाट शान्तकुमार श्रेष्ठ अध्यक्ष, केशव थापा उपाध्यक्ष, भीमबहादुर खत्री सचिव र गणेशप्रसाद पराजुली कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा लोकदर्शन कर्माचार्य, बुद्धिमाया लामा, सुनिता धिताल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठ निर्वाचित हुनुभएको छ।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ तथा सदस्यहरूमा विदुर थापा र सिद्धिलक्ष्मी पोते निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचन उपसमितिलाई कदरपत्र
शपथ ग्रहण कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी तथा उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।
सोही अवसरमा निर्वाचन उपसमितिलाई संस्थाको निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकोमा कदरपत्र प्रदान गरिएको थियो। त्यसै दिन नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रमसमेत सम्पन्न भएको संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार