२२ साउन २०८३, शुक्रबार

विवेकशील विवेक !

२०८३ साउन २२, शुक्रबार
विवेकशील विवेक !

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ मा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरी आज सहकारी क्षेत्रमा एक सफल, प्रतिबद्ध र दूरदर्शी नेतृत्वका रूपमा स्थापित नाम बनेको छ । दुःखजिलो गरेर खानमात्रै पुग्ने परिवारबाट उदाएर संस्थागत उत्कृष्टताको उचाइमा पुगेका उनले व्यक्तिगत सफलतामात्रै होइन सामुदायिक परिवर्तनको गतिलो उदाहरण पेश गरेको छ ।

ठकुरीको जन्म पनौती नगरपालिका–९ मा भए पनि उनका पिताजीले रित्तै हात बाल्यकालमै बनेपा बसाइँ सार्नुभयो । गाउँबाट केही नलिएर परिवारमात्रै बोकेर आउनु भएका पिताले मेलापात र ज्याला मजदुरी गरेरै परिवारको पालनपोषण गरे । ठकुरीसहित दुई छोरा र एक छोरीलाई विद्यालयसम्म पठाउने अभिभारा पूरा गरे । पिताजीको त्यो कठिन संघर्षले ठकुरीको बाल मानसपटलमा मेहनत, अनुशासन र इमान्दारिताको गहिरो पाठ पढायो ।

भक्तेश्वर विद्यालयबाट प्रारम्भ भएको उनको शैक्षिक यात्रा सञ्जीवनी नमुना मावि हुँदै काभ्रे बहुमुखी क्याम्पसमा पुगेर पूरा भयो । जहाँबाट उनले व्यवस्थापन संकायमा स्नातक पूरा गरे । तर उनले जीवनका लागि चाहिने वास्तविक शिक्षा भने किताबका ठेलीभन्दा बाहिर—जीवन र समाजको खुला किताबमा पढे । जीवन संघर्षको अनुभवबाट लिए ।

हाल बुुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आसीन विवेकराज ठकुरीको परिवारमा बुवा मुमा, पत्नी, दुई छोरा र भाइको परिवारसहित बस्दै आएका छन् ।

औपचारिकबाहेक उनले सहकारी संस्थाहरूमा सुशासनसम्बन्धी प्रशिक्षक प्रशिक्षण, Credit Union Director’s Competency Course (CUDCC), Credit Union Manager’s Competency Course (CUMCC) जस्ता अतिआवश्यक सहकारी क्षेत्रका थुप्रै तालिम प्राप्त गरेका छन् । एसियाली ऋण महासंघको फोरममा दुई पटक भाग लिइसकेका ठकुरी निकै धैर्यवान् व्यक्तित्वको रूपमा चिनिन्छन् । यो धैर्यको पाठ उनले रामहरि केसीबाट सिकेका हुन् ।

‘एक दिन छलफल चलिरहेको थियो । रामहरि केसीले नजिकैको विशाल सल्लाको वृक्षलाई देखाउँदै सोध्नुभयो– के यसको बिउ ठूलो भएर यो रुख ठूलो भएको हो र ?’, उनले आफूले प्रेरणा पाएको त्यो क्षण सम्झँदै भने, ‘अनि सम्झाए– यसको बिउ पनि सानै थियो, उचित वातावरण र संरक्षण पाएकोले उम्रियो, हुर्कियो र कालान्तरमा विशाल रूखमा परिणत भएको हो ।’

एउटा मान्छेको प्रभाव अर्को मान्छेमा कति गहिरो गरी पर्दोरहेछ भन्ने उदाहरण हुन् ठकुरी । त्यही प्रेरणाले उनलाई आजपर्यन्त धैर्यवान् बन्न सिकायो । उनकै प्रशिक्षण र सामीप्यताले मेहनत गर्न र इमान्दार भइरहन अडिग बनायो ।

कसरी सुरु भयो ठकुरीको सहकारी यात्रा
त्यो २०५६ सालको समय थियो । ठकुरी भरखरै एसएलसी पास गरेर उमेरले किशोरवयमा थिए । त्यही बखत प्रि—कोअपरेटिभको अवधारणामा समूह बैठक बसेर बचत संकलनको सुरुवात हुँदै थियो । त्यही सिलसिलामा रामहरि केसी, पदमबहादुर भुजेल, गंगाराम ठकुरी, राधेश्याम केसीलगायतको अगुवाइमा भएको पहिलो भेलामा उनलाई सहभागी हुने अवसर जुर्यो । आफ्नै कान्छाबुवा गंगाराम ठकुरीसँगै उनी सो भेलामा सहभागी भए ।

भेलामा जनही एक सय रुपैयाँको दरले बचत संकलन गरियो । जम्मा भएको त्यो रकम समूहमै सहभागी भएका व्यक्तिलाई तत्काल ऋण लगानी गर्ने र अर्को महिनामा पुनः बैठक बसेर बचत संकलन गर्ने निर्णय भेलाले गर्यो । त्यसपछि त के थियो, उनी हरेक महिना हुने समूह बैठकमा सहभागी हुन थाले । बिस्तारै रसिद काट्ने, पासबुक भर्ने, रजिस्टर भर्नेलगायतका काममा उनले नै सहयोग गर्न थाले ।

विस्तारै महिला समूहहरू पनि गठन भए । सबै समूहमा सहयोगीको रूपमा उनी उपस्थित थाले । सहयोग गर्दागर्दै समूहहरू परिपक्व हुँदै गए । अलि पछितिरबाट ती समूहले उनलाई पारिश्रमिक बापत ५० रुपैयाँ दिन थाले । समूहसँग काम गर्दा चिनजान, कुरा जानिने मात्र होइन अब थोरै भए पनि पकेट खर्चसमेत पाइन थालेपछि काम गर्ने हौसला बढ्न थाल्यो ।

त्यतिले मात्रै घरको अवस्थाका सुधार पुग्नेवाला थिएन । परिवारको आर्थिक गर्जो टार्न उनले निजी विद्यालयमा पढाउन थाले ।

‘केही समयपछि संस्थाले एकजना कर्मचारीको माग गर्याे । संस्थामा निवेदन दिएँ, छनौट पनि भएँ’, उनले सहकारी प्रवेशको प्रसंग सुनाए, ‘म कार्यालय सचिवको रूपमा काम गर्न थाले । १८ सय पाउने विद्यालयको जागिर छाडेर म हजार रुपैयाँ पाउने जागिरमा जोडिएँ ।’ किनकि समूहमा बसेर काम गर्न पाउँदा उनलाई रमाइलो लाग्न थालेको थियो । त्यही नै उनको कर्मजीवनको पहिलो विद्यालय पनि थियो । त्यसैले उनले आठ महिना पढाएको विद्यालय छोडे । उनका लागि सहकारी क्षेत्रमा प्रवेश गर्ने प्रेरणाका स्रोत आफ्नै कान्छाबुवा गंगाराम ठकुरी, गाउँको छिमेकी अंकल पदमबहादुर भुजेल र रामहरि केसी सर बनिदिनुभयो ।

सौख, संघर्ष र चुनौती
‘मलाई मन परेको र काम गर्दा रमाइलो लागेका क्षेत्र यही थियो । त्यही भएर नै मैले बढी तलब पाइरहेको अध्यापन क्षेत्र छोडेर थोरै तलब भए पनि सहकारी क्षेत्र रोजेँ’, ठकुरीले भने, ‘रोज्न त रोजेँ, चुनौतीका चाङ भने अनेक थिए ।’ त्यसबेला साहु, महाजन, हुनेखाने र धनाढ्यहरूले सहकारी शुरु गरेकै रुचाउँदैनथिए ।

सहकारीका सारथि भनेकै महिला, किसान र श्रमिकहरू थिएभन्दा पनि हुन्छ । महिला चुलाचौका, मेलापात, वस्तुभाउलगायत कामका सीमित घेराभित्र मात्र कैद थिए ।

‘ओहो ! त्यसबेला महिनामा ५० रुपैयाँ जम्मा गर्नु भनेको पनि ठूलै रकम थियो । यसो भनौं कठिन अवस्था थियो । उनीहरू घरकै आर्थिक जोहो टार्न साहु, महाजनको चर्को मूल्यको ब्याज चुकाइरहेका हुन्थे । वित्तीय आवश्यकता धेरै थियो, विकल्पहरू अत्यन्त कम थिए’, सीईओ ठकुरीले सम्झिए, ‘त्यस्तो अवस्थामा यो ५०÷१०० जम्मा गरेर कहिले भ्यागुताको धार्नी पुग्ने हो ? भनेर खिसीट्युरी गर्दथे । ऋणको माग धेरै हुन्थ्यो, तर स्रोत सीमित थियो ।’

तै पनि यी सबै अवस्थालाई स्वीकार्दै उनले आफूलाई रुचि भएकै क्षेत्र भएकाले यसैमा करिअर बनाउने निर्णय गरे । जसले दर्जनाैं पुरस्कारसँगै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)बाट २०७२ सालमा साकोस अभियानको उत्कृष्ट व्यवस्थापक पुरस्कारसम्मपुर्यायो।

यो सबै हात पार्नुको मूलमन्त्र उनमा भएको इमान्दारिता, धैय, सदस्यप्रति जवाफदेहिता नै हो भन्ने उनलाई लाग्छ । समाजले पनि त्यसैगरी मूल्यांकन गरेको छ ।

सधैं सदस्य केन्द्रमा

पदीय हैसियत जति माथि भए पनि उन आफूभन्दा अघि हरेक एक सदस्यलाई राख्नुहुन्छ । त्यसैले हरेक निर्णय गर्दा सहकारीका हरेक मूल्य र सिद्धान्तलाई आत्मसाथ गर्छन । सिद्धान्तले सदस्यलाई केन्द्रमा राखेझै उनी जहिले पनि निर्णय गर्दा सदस्यलाई नै केन्द्रमा राखेर निर्णय गर्छन् । ‘मेरो निर्णय आम सदस्यको हित हुनुपर्दछ भन्ने कुरामा म सचेत हुन्छु’, उनले भने ।

अर्को कुरा उनी आफू सर्वेसर्वाको सिद्धान्तमा भन्दा टिममा विश्वास गर्छन् । कुनै पनि दीर्घकालीन असर पार्ने कुराहरूको निर्णय आफैं एक्लै गर्दैनन् । जुन उनका सहकर्मीलाई सधैं प्रभावित र थप सम्मान जगाउने विषष हो ।

‘उच्च व्यवस्थापनका साथीहरूबाट राय लिन्छु, सहकर्मी साथीहरूको सुझाव सुन्छु अनि गमेर मात्र अन्तिम निर्णयमा पुग्छु’, उनले भने, ‘हरेक कर्मचारीसँग प्रत्यक्ष सम्पर्कमा रहन्छु । उनीहरूको समस्या गुनासो प्रत्यक्ष सुन्न सक्ने गरी पहुँचको व्यवस्था मिलाएको छु । जसले मलाई स्वच्छाचारी र गरेको निर्णय कमजोर हुनबाट जोगाएको छ ।’ उनको एउटा स्वभाव भने अटल छ, त्यो हो– सामान्य अवस्था होस् वा संकटको, सधैं एकनासको भइरहनु ।

सहकारीलाई सफल बनाउने हो भने कुनै पक्ष पनि सहृदयी र सहकार्यमा विश्वास गर्ने खालको हुनुपर्ने उनको मत छ । सञ्चालक र कर्मचारीबीच सामूहिकताको भावना र निरन्तरको सकारात्मक प्रयासले नै सहकारी सकारात्मक लयमा हिँड्न सक्ने अनुभव उनले सँगालेका छन् । सञ्चालकहरूले काम गर्ने राम्रो वातावरण बनाई दिएर बिना हस्तक्षेप कर्मचारीहरूलाई स्वतन्त्रतापूर्वक समभावले काम गर्न दियो भने सफलता टाढा नहुने उनको विश्वास छ ।

सन्तुष्टिको सुन्दर पक्ष
हिजोको दिन यस्तो पनि थियो, जुन सदस्यसँग सहकारीमा जम्मा गर्नका लागि ५० रुपैयाँ हुँदैनथ्यो । घाँसदाउरा, मेलापात गरेर जीवन गुजार्नुपर्ने अवस्था थियो । ५० रुपैयाँ बचत गर्न पनि त्यसबेला श्रीमान्सँग पैसा माग्नुपर्ने अवस्था थियो । आज त्यस्ता महिलालाई विस्तारै सानासाना ऋण दिएर गाईभैसीपालन, बाख्रापालन, तरकारी खेती गर्न उत्प्रेरित गरी आर्थिक उपार्जनमार्फत आर्थिक स्वतन्त्रता प्रदान गर्न सहकारी सफल भएको छ ।

साहु, महाजनको चंंगुलबाट निकालेर थुप्रै सदस्यलाई घरबारविहीन बन्नबाट जोगाएको छ । अहिले पनि सदस्यलाई सहज रूपमा ऋणमार्फत सहयोग गरिरहेको छ । संस्थाले हालका दिहरूमा सदस्यहरूमा रोजगारी प्रदान गर्ने, स्वरोजगारी र उद्यमशीलता बढाउने उद्देश्यले व्यवसाय विकास सेवाको अवधारणालाई अगाडि सारेर काम गर्न सकेकोमा निकै सन्तुष्टि मिल्छ ।

कुनै पनि मानिसले समाजप्रति योगदान गर्न उसले सबैभन्दा पहिला आफू आर्थिक रूपमा सबल र स्वतन्त्र हुनुपर्दो रहेछ भन्ने कुरा यही क्षेत्रमा लागेर देखे, सिकेको उनको अनुभव छ । जब मानिस आर्थिक रूपमा सबल हुन्छ अनिमात्र उक्त व्यक्तिले समाजप्रति योगदान गर्न र समाजमा रूपान्तरण गर्न सम्भव हुने उनले बताए । सहकारी आफैंंमा एउटा समाज भएकाले यसले प्रत्यक्ष रूपमा समुदायमै रहेर समुदायका सदस्यलाई सबल बनाउन काम गरिरहेको छ ।

सहकारीको अर्थ पनि त्यही भएको बताउँदै उनले भने, ‘एकका लागि सबै र सबैका लागि एकको अवधारणा नै सदस्य केन्द्रित सहकारी हो । सहकारीमा हरेक सदस्यको योगदान कायम रहन्छ र संस्थाबाट प्राप्त गर्ने लाभ पनि हरेक सदस्यले प्राप्त गर्नुपर्छ । यसरी काम गर्दा हरेक सदस्यले आफूले योगदान गरेभन्दा बढी लाभ पाउन सफल भएको हुन्छ ।’

संंस्थागत सफलता
सुरुवाती दिन थियो । जतिबेला महिलाबाट ५० र पुरुषबाट १०० रुपैयाँ जम्मा गरेर संस्था सुरु भएको थियो । त्यही रकम पनि सदस्यहरूले निकै धामा गरेर जम्मा गरेका हुन्थे । आज त्यही संस्था हो, जोसँग २ अर्ब २६ करोडको बनेको छ । ३ हजार रुपैयाँ ऋण लिन महिनांै पर्खनुपर्ने अवस्था आज ७ दिनभित्रै ३ करोडसम्मको ऋण लिन सक्ने अवस्थामा पुगेको छ ।

नीति, विधि र कानुन के हो र के छ भन्ने कुरा थाहा नभई सुरु भएको संस्था आज राज्यको कानुन पालनामा अब्बल संस्थाको रूपमा बारम्बार पुरस्कृत र सम्मानित भइसकेको छ । सदस्यहरूले बचत र ऋणको सुविधा पाउनु त अधिकारकै कुरा भयो त्यो बाहेक आफ्नै परिवार सम्झेर सदस्यहरूको परिवारमा जन्मदेखि मृत्युपर्यन्तसम्मका विविध आर्थिक सुरक्षाका कार्यक्रमहरू सुविधाका रूपमा प्रदान गर्ने स्तरमा पुगेको छ ।

केही चुनौती पनि
‘यति भनिरहँदा पनि चुनौती छैनन् भन्ने छैन’, सीईओ ठकुरीले भने, ‘वर्तमान अवस्थामा एक प्रकारले सहकारी अभियान छिन्नभिन्न अवस्थामा छ ।’ सबैभन्दा ठूलो समस्याका रूपमा उनले सहकारीमा विश्वासको संकट आंैल्याए । त्यसबाहेक सहकारीमा हुने अनावश्यक राजनैतिक हस्तक्षेप अर्को समस्या बनेको उनले प्रस्ट्याए ।

केही सहकारी र तिनका सञ्चालक, व्यवस्थापकहरूमा विचलन आइदिनुले पनि सिंंगो सहकारी मनोवैज्ञानिक रूपमा समस्यामा परेको उनको मत छ । अस्वस्थ प्रतिस्पर्धाले पनि सहकारीलाई क्षति नै पुर्याएको उनी देख्छन् । यति हुँदा पनि राज्यको तर्फबाट प्रभावकारी निकायको उपस्थिति नभैदिनु अर्को समस्या हो ।

यो अवस्थाबाट त्राण पाउन के गर्नुपर्ला त ? उनको सुझाव छ, ‘अब सहकारी अभियान संग्लिएर एकजुट हुनु पर्दछ, राज्यको तर्फबाट एकद्वार प्रणालीको बलियो र प्रभावकारी निकाय स्थापित गरिनु पर्दछ । किनकि सहकारी एकदमै प्राविधिक विषयवस्तु हो ।’

भोगेका संकट र समाधान

अभाव र संंकटको बीचमै सहकारीको सुरुवात भएको अनुभव उनसँग ताजै छ । माओवादी द्वन्द्वकाल चलिरहँदा सुरु भएको सहकारीमा पटकपटक धाकधम्की आउँदथ्यो । त्रास देखाउँथे । तर उनले कहिल्यै एक पैसा चन्दा दिनु भएन । यो त भयो राजनीतिक दबाब र तनाव ।

अर्को थियो संस्थागत परिवारभित्रको दबाब । त्यो के भने सीमित बचत हुन्थ्यो । पैसा कम जम्मा हुन्थ्यो, ऋण माग धेरै हुन्थ्यो, त्यहाँ पनि द्वन्द्व हुन्थ्यो, त्यसलाई पनि उनले सहजै व्यवस्थापन गरे ।

‘समुदायमा बसेर काम गर्न त्यति सजिलो थिएन । नकारात्मक सोच र विकृत मानसिकता भएकाहरूबाट पनि धेरै पटक दुःख पाइयो’, उनले तीं दिन सम्झिए, ‘सहकारीको लेखा परीक्षणमा देखिएको जगेडा कोषको रकम यिनीहरूले रिपोर्टमा मात्र देखाएका हुन्, वास्तविकतामा यो रकम छैन । भन्दै अख्तियारमा मुद्दा लगाउनेसम्मका हर्कत भए । सधारणसभा स्थगित गराएर पुनः सधारणसभा गर्नुपर्ने अवस्थासमेत सिर्जना गराए ।’

त्यो बाहेक पनि ऋण लिने, नतिर्ने अनि ऋण तरताकेतामा जाँदा कुटपिट गर्नेसम्मका घटनाहरू उनले भोग्नु, देख्नु पर्यो । तैपनि सीईओ ठकुरीले इमान्दारिता छाडेनन् । धैर्य चाहिन्छ, न्याय पाइन्छ भन्ने सकारात्मक भावमा अघि बढिरहे । सहकारीका मुख्य मालिक सदस्य हुन् । उनीहरूलाई कुरा बुझाउन सकेपछि भयो पनि त्यही ।

त्यसबाहेक नियामकीय निकायको अनुगमनदेखि अख्तियारको कडाइसँग पनि आफूले राम्ररी सामना गरेको अनुभव उनैसँग छ । ‘हामीकहाँ जम्मा दुईवटा सघन अनुगमन भयो, संयोगवश दुबै अनुगमन सहकारी विभाग र राष्ट्र बंैंकको संंयुक्त अनुगमन भएको थियो । नियतवश कुनै गल्ती कमजोरी थिएन, बरु धेरै कुराको सिकाइ त्यो अनुगमनका क्रममा भएको थियो,’ उनले अनुभव सुनाउँदै भने, ‘अख्तियारमा मुद्दा लगाएको बेलामा चाहिँ त्यतिबेलाका तत्कालीन डिभिजन प्रमुखले भने पटकपटक रकम मागेर दुःख दिन खोजे । तर एक पैसा पनि रकम दिने काम भएन । गल्ती थिएन । जित हाम्रै भयो ।’

यी सबै परिस्थितिले उनलाई एउटा कुराको भने गहिरो गरी ज्ञान भयो । त्यो के भने सार्वजनिक पद धारण गरेपछि अनेकन आलोचना खेप्नै पर्नेरहेछ । सुन्ने र सामान्य रूपमा ग्रहण गर्ने हो । निष्ठा र इमानमा चलिएको छ भने त्यस्ता आलोचनाको जवाफ समयले नै दिने रहेछ भन्ने उनलाई ज्ञान भयो । जीवनका असफलताहरूले भने उनलाई एउटा गहिरो दर्शन सिकाएर गयो, त्यो के भने– कसैलाई पनि आवश्यकताभन्दा बढी विश्वास गर्न नहुने रहेछ ।

संस्थामा प्रविधि र सुशासन
सँस्थालाई समयानुकूल प्रविधियुक्त र सुशासनको मार्गमा हिँडाउन स्रोत र विवेकले भ्याए जति गर्नु उनको कार्यकौशलता नै हो । समयसापेक्ष प्रविधिको गरेर संस्थाको सेवालाई छरितो र छविलाई अझ स्वच्छ बनाउने काममा सीईओ ठकुरी सधैं संंवेदनशील छन् ।

संंस्थाको पारदर्शिता बनिरहोस् भनेर उनले संस्थामा सूचना अधिकारी एक जना, गुनासो सुनुवाइ अधिकारी एक जना तोकेका छन् । सदस्यको घरदैलोमा पुगेर हुन्छ कि संंस्थामा आमन्त्रण गरेर सदस्य जागरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । उनी आफैं पनि हरेक दिन समय मिलाएर सदस्यहरूसँग भेटघाट गरी सल्लाह सुझाव लिने, गुनासाहरू सुन्ने काम गर्छन् । यसले संस्थालाई तत्काल र दीर्घकालका लागि सकारात्मक उपाय र ऊर्जा मिल्ने गरेको उनले सुनाए ।

यो सबै गर्न सीईओ आफैं सक्रिय हुनैपर्ने उनको मत छ । पद पाउँदैमा ठूलो मान्छे बनिँदैन भन्ने सोच राख्ने ठकुरी पद जुनसुकै भए पनि आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारिताका साथ पूरा गरेमा कालान्तरमा त्यसको फल आफैंलाई प्राप्त हुनेमा विश्वास राख्छन् । संस्थाको अगुवा भएकाले पनि नीति विधि पालना गरी सुशासन कायम गर्न सीईओ आफैं अग्रसर हुनुपर्ने उनको मत छ ।

आगामी पाँच वर्षको योजना
आफूले सधैं परिमाणमा भन्दा गुणस्तरलाई बढी प्राथमिकता दिएको सुनाउँदै सीईओ ठकुरीले अबको पाँच वर्षमा संस्थाले समयसापेक्ष सम्पूर्ण प्रविधियुक्त सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आउँदो पाँच वर्षभित्र संस्थाको आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने उनले योजना सुनाए ।

‘आगामी पाँच वर्षसम्म हामीसँग सचेत र गुणस्तरीय ४० हजार सदस्य हुनेछन् । संस्थाको कुल सम्पत्ति ५०० करोड हुनेछ’, उनले भने, ‘संस्था रोजगारी, स्वरोजगार र उद्यमशीलता विकासको केन्द्रको रूपमा स्थापित भएको हुनेछ ।’

यसो भने पनि नेपालको सहकारी अभियानले थुप्रै आरोह अवरोह भोगेको उनले आफै भोग्नु र देख्नु भएको छ । अहिले अभियानमा भएका विकृति र विसंगति सबै बढारिने चरणमा भएकाले केही आशा जगाएको छ । ‘अब असली सहकारीहरूको मात्र उपस्थिति रहनेछ’, उनले भने, ‘सहकारी यस्तो क्षेत्र हो जहाँ हरेक व्यक्तिले समानता र समतामूलक ढंगबाट लाभ प्राप्त गर्न सक्दछन् । तसर्थ फेरि सहकारी अभियान चम्किनेछ ।’

त्यसका लागि आगामी दिनमा राज्यसमेतको सहयोगमा अभियानले मिलेर सहकारी सचेतनालाई बढाउनुपर्ने उनको मत छ । अहिले पनि सहकारीमा युवा पुस्ताको आकर्षण भए पनि प्रायः युवाहरू विदेशी भूमिमा नै आफ्नो भविष्य खोज्ने संंस्कार विकास भएको छ । युवाहरू देशमा बस्ने वातावरण बनाउन राज्यले कोसिस गर्ने हो र सहकारीमा भएका गलत क्रियाकलाप रोकेर सुधार भरिने हो भने नयाँ पुस्ता स्वतः सहकारीमा आकर्षित हुने वातावरण निर्माण हुने उनी विश्वस्त छन् ।

अविस्मरणीय घटना

एउटै संंस्थामा २० वर्षभन्दा बढी बस्नु हुँदैन, उमेर छँदै फरक काम गर्नुपर्छ भनेर उनले राजीनामा दिने योजना बताए । संंस्थाले निकै अनुरोध गरेपछि थप दुई वर्ष जति त्यहीँ काम गरे । फेरि पनि बस्नुपर्छ भन्ने दबाबकै बीच उनी संस्थाबाट बिदा भए ।

२–४ महिनापछि अत्यन्त घनिष्ठ साथीहरूबाट उनले थाहा पाए कि ‘उनलाई संंस्थाले आन्तरिक रूपमा कारबाही गरेर निकालेको रे ।’ सहकारी अभियान र उनको आफ्नै समुदायमा पनि यस्तो अफवाह फैलाइएको रहेछ । केही पत्रकार साथीहरूले पनि ‘‘तपाईँ त सञ्चालकसँग कुरा नमिलेर छोड्नु भएको रे नि’’ भनेर सोध्नुभयो । त्यतिबेला त उनीसँग दिने जवाफ नै भएन ।

संस्थाको मानो सकिएको रहेनछ, संयोगवश १७ महिनापश्चात् उनी फेरी सोही संंस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा फर्किए । उनलाई लाग्यो– हरेक कुराको जवाफ समयले नै दिने रहेछ र मिलाएर नै दिने रहेछ वश आफूले असल नियत र इमान्दारिताका साथ काम गर्नुपर्ने रहेछ ।

व्यक्तिगत पक्ष

कामबाहेक निजी समय कसरी बिताउनुहुन्छ ?
अधिकांश समय कामरपेशामै समर्पित रहेको छ । फुर्सद हुँदा गीत, संगीत सुन्ने, सिनेमा हेर्ने, घुम्न निस्कने, साथीभाइ भेटघाट गर्नेमा समय बित्ने गरेको छ ।

मनपर्ने पुस्तक, व्यक्तित्व वा मन्त्र ?
बुद्धिसागरको कर्णाली ब्लुज । यो पुस्तकले मेरो बुवाप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिएको छ ।

दबाब र तनाव व्यवस्थापन कसरी गर्नुहुन्छ ?
सर्वप्रथम दबाब र तनावलाई मानसिक रूपमै सामान्यीकरण गर्ने प्रयास गर्दछु । सकेसम्म यस्तो बेलामा एक्लै बस्दिनँ ।

नयाँ सहकारी नेतृत्वलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
लाभ र सम्मानका लागि आउनु भएको हो भने सहकारी तपाईंको लागि होइन ।

सफल प्रमुख कार्यकारी अधिकृत हुनुको वास्तविक अर्थ के हो ?
सफल सञ्चालक, सफल कर्मचारी र सफल संंस्था ।

तपाइँ सफल प्रमुख कार्यकारी अधिकृत कि असल ?
असल बाटोमा हिँडिरहेको संंघर्षशील ।

संंस्थागत उपलब्धि र सफलता
– जिल्ला सहकारी संघ लि., काभ्रेबाट समुदायमा आधारित उत्कृष्ट सहकारी संस्था पुरस्कार तथा सम्मान २०६५ ।
– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट मध्यमाञ्चल उत्कृष्ट सहकारी पुरस्कार तथा सम्मान २०६७ ।
– एसियाली ऋण महासंघबाट २०६९ सालमा पहिलो पटक एक्सेस ब्रोन्ज तहको ब्रान्ड प्राप्त
– राष्ट्रिय सहकारी महासंघ लि. नेपालबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार तथा सम्मान २०७० ।
– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. बाट संंस्थाका व्यवस्थापकलाई साकोस अभियानको उत्कृष्ट ब्यवस्थापक पुरस्कार २०७२ ।
– एसियाली ऋण महासंघ ९ब्ऋऋग्० बाट २०७३ सालमा एक्सेस सिल्भर तहको ब्रान्ड प्राप्त
– डिभिजन सहकारी कार्यालय काभ्रेबाट ६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट संस्था सम्मान २०७३ ।
– नेपाल सरकारबाट नवौं गणतन्त्र दिवसको अवसरमा संस्थाका अध्यक्ष रामहरि केसी. प्रबल जनसेवाश्री पदकबाट विभूषित ।
– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.बाट नेफ्स्कुन सर्वोत्कृष्ट संस्था सम्मान २०७४ ।
– संस्थाले हालसम्म चार पटक ब्रोन्ज तहको ब्रान्ड र एक पटक सिल्भर तहको ब्रान्ड प्राप्त गर्न सफल भएको छ ।
– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. बाट नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान २०८२ ।
– बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(प्रोस्कुन) बाट अध्यक्ष कैलाश के.सी. उत्कृष्ट पदाधिकारी तथा अध्यक्ष पुरस्कारबाट सम्मानित २०८२ ।

अभिलेख

लोकप्रिय