७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
स्थापना दिवसका अवसरमा संस्थाले आफ्नो २७ वर्षे यात्रा, उपलब्धि, वित्तीय अवस्था तथा सदस्यप्रतिको प्रतिबद्धता प्रस्तुत गर्दै आगामी दिनमा पनि सदस्य र समुदायको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राखेर गतिविधि अघि बढाउने जनाएको छ।
भक्तपुर : बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ स्थापना दिवस विविध कार्यक्रमसहित शुक्रबार मनाएको छ।
२७ वर्षअघि २८ जना सदस्य र ७ लाख रुपैयाँ बचतबाट सुरु भएको संस्थाले हाल ६ हजारभन्दा बढी सदस्यलाई आबद्ध गर्दै २ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको जनाएको छ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले सदस्य हित र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको बताउनुभयो। सदस्यहरूको आर्थिक तथा सामाजिक हित अभिवृद्धि गर्ने उद्देश्यसहित संस्थाले आफ्ना गतिविधिलाई निरन्तर विस्तार गर्दै आएको उहाँको भनाइ थियो।
संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले बालकुमारी साकोसको २७ वर्षे यात्रा, नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँका अनुसार हाल संस्थामा ६ हजार १६ जना सदस्य आबद्ध छन्। संस्थाको स्थापना र विकासका विभिन्न चरणमा योगदान पुर्याउने सञ्चालक, सदस्य तथा सहयोगीहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा कोषाध्यक्ष सुदीप श्रेष्ठले संस्थाको वित्तीय अवस्थाबारे जानकारी प्रस्तुत गर्नुभयो। उहाँका अनुसार सदस्यहरूको आवश्यकता तथा व्यवसायको प्रकृतिअनुसार संस्थाले ४.९९ प्रतिशतदेखि ७ प्रतिशतसम्मको ब्याजदरमा ऋण लगानी गर्दै आएको छ। प्रस्तुत वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था सुदृढ रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्थाको ‘बालकुमारी साकोस विशेष बुलेटिन’ विमोचन गर्नुभयो। उहाँले सहकारी संस्थाहरू समुदायको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण साझेदार भएको बताउँदै सदस्य तथा समुदायको हितमा सहकारीको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, राष्ट्रिय सहकारी महासंघ नेपाल लिमिटेडका उपाध्यक्ष खेमबहादुर पाठकले बालकुमारी साकोस देशका उत्कृष्ट सहकारी संस्थामध्ये एकका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो।
थोरै कर्मचारीबाट ठूलो परिमाणमा वित्तीय स्रोत परिचालन गर्न संस्था सफल भएको उल्लेख गर्दै उहाँले संस्थाको प्रशंसा गर्नुभयो। सदस्यहरूलाई ४.९९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै उनीहरूको आर्थिक उन्नतिमा सहकार्य गरिरहेको भन्दै उहाँले संस्थाको आगामी यात्रा थप सफल र उपलब्धिमूलक बन्ने शुभकामना दिनुभयो।
सदस्यहरूको उल्लेख्य सहभागितामा सम्पन्न समारोहको अध्यक्षता संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले गर्नुभएको थियो भने उपाध्यक्ष महेन्द्रकुमार जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार