२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
काठमाडौं : सप्तरीको राजविराजस्थित आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको छ। २०५६ सालमा स्थापना भएको संस्था साउन १९ गतेबाट औपचारिक रूपमा २८औँ वर्षमा प्रवेश गरेको हो। स्थापना दिवसको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमबीच स्थापना दिवस मनाईएको छ।
स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष गणेश आशले संस्थाको सफल यात्रामा साथ, सहयोग, विश्वास र मार्गदर्शन गर्ने सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक, शुभचिन्तक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार गुणस्तरीय, विश्वसनीय तथा सदस्यकेन्द्रित सेवा प्रवाहमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष आशले विगत २७ वर्षको यात्रामा संस्थाले अनेकौं चुनौती र अप्ठ्याराहरू पार गर्दै सदस्यहरूको विश्वास, साथ र सहयोगकै बलमा सप्तरीका प्रभावशाली सहकारी संस्थामध्ये आफ्नो स्थान स्थापित गर्नुका साथै राष्ट्रिय स्तरमा समेत छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो। प्रारम्भमा ४२ जना सदस्यबाट सुरु भएको संस्था अहिले १८ हजार ६ सय ११ जना सदस्य रहेको सुदृढ सहकारी संस्थाका रूपमा विकास भएको उहाँले जानकारी दिनुभयो। सेवा विस्तारसँगै राजविराजस्थित केन्द्रीय कार्यालयका अतिरिक्त पातो र हनुमाननगर सेवा केन्द्रमार्फत सदस्यलाई निरन्तर सेवा प्रदान गरिँदै आएको उहाँको भनाइ छ।

संस्थाले पछिल्ला वर्षहरूमा सेवा प्रवाहलाई डिजिटल प्रविधिसँग जोड्दै कागजरहित (पेपरलेस) प्रणालीलाई प्राथमिकता दिएको छ। आइडियल स्मार्ट एपमार्फत सदस्यहरूले मिस्ड कल बैंकिङ, इन्टरनेट बैंकिङ, जुनसुकै बैंक खातामा रकम स्थानान्तरण (फन्ड ट्रान्सफर), ई–सेवा तथा खल्ती वालेट लोड, साथै एटीएम कार्डमार्फत भारतमा समेत रकम झिक्न सक्ने सुविधा उपलब्ध गराइएको अध्यक्ष आशले बताउनुभयो। प्रविधिमैत्री सेवाले सदस्यलाई छिटो, सहज र सुरक्षित सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।
संस्थाका व्यवस्थापक विनोदकुमार साफीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको सेयर पूँजी १२ करोड ५६ लाख ७ हजार ६ सय रुपैयाँ, साधारण जगेडा कोष १३ करोड ४८ लाख २२ हजार २ सय ४५ रुपैयाँ, विभिन्न कोष २ करोड ७ लाख ६३ हजार ९ सय ६१ रुपैयाँ तथा कुल संस्थागत पूँजी १४ करोड १८ लाख ९० हजार ३ सय २९ रुपैयाँ पुगेको छ।
त्यसैगरी संस्थामा १ अर्ब २० करोड २ हजार ६ सय ९४ रुपैयाँ बचत संकलन भएको छ भने ७५ करोड ३ लाख ३६ हजार २ सय ८० रुपैयाँ कर्जा लगानी रहेको उहाँले जानकारी दिनुभयो। संस्थासँग ६ करोड ७० लाख ९१ हजार ९ सय ६६ रुपैयाँ तरलता रहेको छ भने तरलता अनुपात ५५.७५ प्रतिशत कायम रहेको छ।
असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति १ अर्ब ५८ करोड १२ लाख ४९ हजार ५ सय ४ रुपैयाँ पुगेको छ भने १ हजार ७१ जना ऋणी सदस्य रहेका छन्।
अध्यक्ष आशले हजार रुपैयाँको बचतबाट सुरु भएको अभियान आज करोडौं रुपैयाँको वित्तीय कारोबार गर्ने संस्थामा रूपान्तरण हुनुमा शेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको समर्पण र सदस्यहरूको अटल विश्वास नै सबैभन्दा ठूलो पूँजी रहेको बताउनुभयो।
सहकारी क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको वर्तमान अवस्थामा पनि आइडियल साकोसले सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवालाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा समयको माग र सदस्यहरूको आवश्यकताअनुसार सेवा विस्तार गर्दै संस्थालाई अझ आधुनिक, सबल र विश्वासिलो सहकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार