१८ साउन २०८३, सोमबार

श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा

२०८३ साउन १८, सोमबार
श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा

काभ्रेको बनेपा/धुलिखेल क्षेत्रमा बसेर जब सहकारी क्षेत्रका सफलताको कथा सुनिन्छन् र सुनाइन्छन्, त्यहाँ एउटा नाम अवश्य सुनिन्छ- के.बी. लामा । एउटा साधारण गाउँले जीवन, विद्यालय र कलेजको औसत विद्यार्थी, आज एउटा सहकारी संस्थाको नेतृत्व गरेर देशमै सफल सहकारी बनाउनु त्यति सहज थिएन । तर, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर लामाले संस्थामात्रै होइन, सदस्यको पनि सदा शिर ठाडो पारे ।

२०२८ साल साउन ३ गते सिन्धुलीको तामाजोरमा जन्मिएका के.बी. लामाको बाल्यकाल अभाव र संघर्षले भरिएको थियो । बुबा सलामसिं स्याङ्तान र आमा सञ्चकुमारी स्याङ्तानको पाँचौं सन्तानका रूपमा जन्मिएका उनी परिवारका माइला छोरा हुन् ।

त्यो समय गाउँमा शिक्षा भनेको विलासिता जस्तै थियो । विद्यालय १० किलोमिटर टाढा, बाटो उकालो-ओरालो र सवारीसाधन शून्य । तर, अभावले कहिल्यै उनको आकांक्षालाई बाँध्न सकेन । खरको छानोमुनि, मकैको खोस्टोबाट बनेको चकटीमा बसेर ‘अ’ र ‘क’ सिक्ने त्यो बालकभित्र एउटा अदृश्य ज्वाला बलिरहेको थियो- केही बन्ने, केही गर्ने ।

यद्यपि, उनको शैक्षिक यात्रा त्यति सहन भने थिएन । कहिले दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्नु, कहिले बिरामी भएर पढाइ छोड्नु उनको जीवनका अविस्मरणीय घटनाहरू बने । तर, ती घटनाले उनलाई मजबुद बनायो । केही गर्नुपर्छ भन्ने पाठ सिकायो ।

सानै कक्षामा प्रथम हुने पहिचान बनाएका उनले एसएलसी (हालको एसईई)मा अपेक्षित नतिजा ल्याउन सकेनन् । दुई अंक कमले उनी दोस्रो श्रेणीमा पास भए । तर, उनले हार मानेनन्, थप संघर्ष र मिहिनेत गर्नुपर्छ भन्ने आभास उनलाई भयो ।

राति कलेज, दिउँसो काम

आर्थिक अभावले उनलाई गाउँबाट काठमाडौं ल्यायो । बौद्धमा सानो कोठामा बसेर दिनमा काम र रातमा अध्ययन गर्न थाले । उनको दिनचर्या यही बन्यो । पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा उनले जीवनको कठोर यथार्थलाई नजिकबाट बुझे ।

‘मनमा पढ्नुपर्छ भन्ने थियो । तर, जिल्लामा एकमात्र क्याम्पस थियो । त्यहाँ पढ्न जान टाढा भएकोले सम्भव थिएन,’ विगत स्मरण गर्दै उनले भने, ‘२०४८ सालमा काठमाडौं गएँ, दिउँसो श्रमिकको काम गर्ने र राति पशुपति बहुमुखी क्याम्पस चाबहिल काठमाडौंमा पढ्न थालियो ।’

त्यो समय उनी केवल विद्यार्थीमात्र थिएनन्, उनी श्रमिक थिए, संघर्षरत युवा पनि थिए । र, आफ्नो भविष्य आफैं निर्माण गर्ने शिल्पी पनि थिए । आईकम जसोतसो पास गरे । अब बीकममा भर्ना भए । स्नातकमा पढ्दै गर्दा उनलाई एक जना सरले बोर्डिङ स्कुलमा शिक्षक चाहिएको र काम गर्न सुझाव दिए । उनी उत्साहित हुँदै काठमाडौंबाट काभ्रे फर्किए । यसले पढाइमा थप प्रभाव पर्यो । केही समयपछि अर्थात् २०५१ सालमा उनले काभ्रेकै काभ्रे बहुमुखी क्याम्पसमा केही कक्षा पढाउने अवसर पाए । त्यहीबेला स्नातक पनि उत्तीर्ण गरे ।

विद्यालयमा अतिरिक्त क्रियाकलापको इन्चार्जको जिम्मेवारीसँगै भाइस प्रिसिन्पलको जिम्मेवारी पनि उनले पाए । उनको शिक्षण पेसाकै कारण पढाइमा खासै ध्यान नगएको उनी बताउँछन् ।

शिक्षण पेसा, विद्यालयको प्रशासनिक जिम्मेवारीसँगै उच्च शिक्षाको प्रयासलगायत यी सबैबीच उनले जीवनलाई सन्तुलनमा राख्न खोजे । यद्यपि, स्वास्थ्य र जिम्मेवारीका कारण पढाइलाई उनले निरन्तरता दिन सकेनन् । तर, त्यसले उनको आत्मबललाई कहिल्यै कमजोर बनाएन ।

घरजग्गा जमानत राखेर व्यवस्थापक

जीवनमा कहिलेकाहीँ संयोग नै नियति बन्छ । पनौतीको मकर मेलामा स्वयंसेवकको रूपमा काम गर्दा उनले सहकारीको मानवीय पक्ष नजिकबाट देखे । त्यही अनुभवले उनको मनमा सहकारीप्रतिको बिउ रोप्यो । वि.सं. २०५८ साल कात्तिक १ गते बिन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा व्यवस्थापकको रूपमा नियुक्ति पाउनु उनको जीवनको निर्णायक मोड बन्यो ।

तर, त्यो नियुक्ति सहज थिएन । स्थानीय नभएको कारण उनलाई जिम्मेवारी दिन सञ्चालकहरू हिच्किचाए । अन्ततः साथीहरू र शुभेच्छुकहरूको जमानतमा उनले काम गर्ने अवसर पाए । त्यो अवसर केवल एउटा जागिर थिएन । त्यो उनको जीवन बदल्ने ढोका थियो । अहिले उनी सोही सहकारीको सीईओ भएर काम गरिरहेका छन् । साढे दुई दशकदेखि उनी सहकारी र सदस्यहरूको हितका लागि खटिरहेका छन् ।

उसो त सुरुवाती दिनहरूका चुनौती उनको मानसपटलमा अहिले पनि घुमिरहन्छन् । राजनीतिक द्वन्द्वरत पक्षबाट संस्थाको कार्यालय तोडफोड, लुटपाट र आगजनी, सहकारीमा आयकर ऐन, २०५८ लागू, सरकारी र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू सञ्चालक बस्न नपाउने जस्ता व्यवस्थाको सामना गर्नुपर्ने बाध्यता, सञ्चालक समितिबीच द्वन्द्व र राजनीतिक द्वन्द्वका कारण साधारणसभा र निर्वाचन गर्न नसक्ने बाध्यात्मक अवस्था झेल्नु उनका लागि ठूलो संघर्ष र चुनौती नै बने । त्यही चुनौतीले उनलाई थप परिपक्व बनाउँदै लग्यो ।

उनको सहकारीमा व्यवस्थापक नियुक्तिको विषय पनि रोचक छ । व्यवस्थापन विषय पढेकै कारण वित्तीय क्षेत्रमा काम गर्ने सोच थियो उनको । बैंक तथा वित्तीय संस्थामा कर्मचारी कसरी नियुक्ति गरिन्छ ? विज्ञापन कहिले खुल्छ ? भन्ने विषयको भेउ पाएका थिएनन् उनले । भाग्यवश विन्ध्वासिनी बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापक पदमा विज्ञापन खुलेको बनेपा जनागालका सयपत्री युवा क्लबको अध्यक्ष स्व. कृष्णकुमार केसीले उनलाई जानकारी गराए । त्यतिखेर स्व. केसी कृषि विकास बैंकमा कार्यरत थिए ।

‘मैले व्यवस्थापक पदमा दरखास्त दिएँ, लिखितमा पनि पास भएँ । तर, म स्थानीय नभएकोले वित्तीय कारोबार गर्ने संस्थामा नियुक्ति गरी व्यवस्थापकजस्तो पदको जिम्मेवारी दिन सञ्चालकहरू तयार भएनन् । कृष्णकुमार केसीले मेरो मिहिनेत र संघर्ष देख्नु भएको थियो,’ व्यवस्थापकमा नियुक्ति हुँदाका दिनहरू स्मरण गर्दै लामाले भने, ‘उहाँले व्यक्तिगत जमानत दिने प्रतिबद्धता गर्नुभयो । सञ्चालकहरू त्यसमा पनि सहमत हुन सकेनन् । पछि मोहन विष्ट, रामबहादुर श्रेष्ठलगायतले घरजग्गा धितो जमानत दिने व्यवस्था गरेपछि पाँच लाख रुपैयाँबराबरको घरजग्गा धितो रोक्का गरी जमानत दिनु भएपछि सञ्चालक समिति मलाई व्यवस्थापक बनाउन तयार भयो ।’

के.बी. लामाको नेतृत्वशैली कुनै किताबबाट सिकिएको सिद्धान्तमात्र होइन, यो जीवनबाट सिकिएको व्यावहारिक ज्ञान हो । उनलाई विश्वास छ कि संस्था केवल नीतिले होइन, मानवीय सम्बन्धले पनि चल्छ । उनी कर्मचारीलाई आदेश दिने होइन, प्रेरणा दिने पक्षमा विश्वास गर्छन् ।

उनका लागि नेतृत्व भनेको अनुशासनमा बस्नु र अरूलाई पनि बस्न प्रेरित गर्नु हो । समानता र न्याय सुनिश्चित गर्नु हो । अनि क्षमता र दक्षताको आधारमा अवसर दिनु पनि हो । उनी भन्छन्, ‘संस्थाभित्र ‘हामी’को भावना विकास गर्नुपर्छ । जब म भन्ने भावना राखियो नेतृत्व सफल बन्न सक्दैन ।’

उनी सहकारीलाई केवल वित्तीयसंस्था होइन, सामाजिक परिवर्तनको माध्यमका रूपमा हेर्छन् । उनको नेतृत्वकालमा सहकारीले अनेकौं संकट झेल्यो । राजनीतिक द्वन्द्व, कार्यालयमा आक्रमण, आर्थिक चुनौती, नियामकीय दबाब । तर, यी संकटहरूमा उनी पछि हटेनन् । भन्छन्, ‘संकटमा म अघि हुन्छु, नेतृत्वको यही मूल मन्त्र हो ।’
वि.सं २०७२ सालको भूकम्प होस् वा कोभिड–१९ महामारी, उनले संस्थालाई केवल बचाएनन्मात्रै सदस्यहरूको जीवनमा आशाको किरण बने । राहत वितरण, ऋण पुनर्संरचना, स्वास्थ्य सहयोग । यी सबै कार्यहरूले सहकारीलाई समुदायको भरोसाको केन्द्र बनायो ।

उत्कृष्ट व्यवस्थापक, सफल सहकारी

लामाको नेतृत्वमा बिन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ठूलो सफलता प्राप्त गरेको छ । स्थानीय तहमामात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि यो सहकारीले आफूलाई स्थापित र सफल संस्थाको रूपमा चिनाएको छ । सन् २०१० मा यस सहकारीले अकुबाट सीयूएमआई पफर्मेन्स अवार्ड, सन् २०१२ र २०१६ मा अकुबाट एक्सेस ब्रोन्ज, सन् २०१६ र २०१९ एक्सेस सिल्भर अवार्ड प्राप्त गरेको थियो भने सन् २०२१ मा अकुबाट नै सीयू एक्जिक्युटिभ आउटस्टाडिङ अवार्ड प्राप्त गरेको थियो ।

त्यस्तै, यस सहकारीले वि.सं २०६६ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड (नेफ्स्कुन)बाट पहिलो सर्वोत्कृष्ट साकोस पुरस्कार प्राप्त गरेको थियो भने नेफ्स्कुनबाट नै २०७४ र २०७९ मा लामाले राष्ट्रिय उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गरेका थिए ।

यस सहकारीले वि.सं २०६७ सालमा राष्ट्रिय सहकारी बैंकबाट पनि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, बागमती प्रोस्कुनबाट २०८० मा उत्कृष्ट सहकारी पुरस्कार र २०८१ मा लामाले उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गरेका थिए ।

उनले सहकारीमा पारदर्शी वित्तीय प्रणाली, प्रतिस्पर्धात्मक खरिद प्रक्रिया, नियमित लेखा परीक्षण र सदस्य–केन्द्रित सेवा प्रवाह गरेर सदस्यको मात्रै मन जितेनन्, सहकारीका छाता संस्थाहरूबाट पनि प्रशंसा र सम्मान पाइरहे ।

समयसँगै परिवर्तन हुनुपर्छ भन्ने मान्यतामा उनी दृढ छन् । उनको नेतृत्वमा सहकारीले एटीएम, मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, अनलाइन सेवाजस्ता डिजिटल प्रणालीहरू अपनाएको छ । यसले सहकारीलाई आधुनिक वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ ।

उनका लागि सहकारी केवल आर्थिक संस्था होइन; यो सामाजिक परिवर्तनको माध्यम हो । सदस्यहरूका लागि स्वास्थ्य शिविर, वित्तीय साक्षरता, उद्यमशीलता विकास र राहत कार्यक्रमलगायत गतिविधिहरूले सहकारीलाई समाज र सदस्यहरूसँग जोडेको छ ।

उनी भन्छन्, ‘सहकारी सफल हुनु भनेको समाज सफल हुनु हो ।’ उनी आगामी १० वर्षभित्र १ लाख ३५ हजार सेयर सदस्य र १२ अर्ब ५० करोड सम्पत्ति र २०० जना कर्मचारी कार्यरत सहकारी संस्थाको स्थानमा पुर्याउन लक्ष्य लिएको बताउँछन् ।

‘सहकारी अभियानको भविष्य सुन्दर देखेको छु, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने माध्यम भनेको सहकारीमात्र हो, अहिले केही समस्या देखिए पनि कालान्तरमा सहकारीको विकल्प छैन,’ उनी भन्छन्, ‘नयाँ पुस्तालाई सहकारीमा जोड्न स्कुल/कलेजमा सहकारी शिक्षा, सिद्धान्त, मूल्य मान्यता र मर्मका साथै यसको सौन्दर्यताबारे शिक्षा प्रदान गर्नु आवश्यक छ ।’

त्यसका साथै प्रतिस्पर्धी डिजिटल बैंकिङ सेवा, गैरवित्तीय कार्यक्रम र समाज परिवर्तनमा सहकारीको भूमिका स्पष्ट गराउनुका साथै विनियममा व्यवस्था गरी युवाहरूलाई निश्चित संख्यामा आरक्षण पदको व्यवस्था गरेका सहकारीमा युवालाई आकर्षित गर्न सकिने उनको बुझाइ छ ।

कामको व्यस्तताबीच पनि आफ्नो व्यक्तिगत जीवनलाई सन्तुलित राख्न योगमा ध्यान दिने गरेको उनी सुनाउँछन् । हरेक बिहान योग र ध्यान, परिवारसँग समय, संगीतप्रतिको रुचिले शरीरलाई सन्तुलित राख्न मद्दत मिलेको उनी बताउँछन् ।

उनी संस्थाको नेतृत्वले विभेदरहित सर्वसुलभ सेवा र सामाजिक संस्कारसँगै आचार निर्माणमा पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनी सेयर सदस्य, समिति तथा उपसमिति र कर्मचारीहरूको नियमित दक्षता अभिवृद्धि र वृत्ति विकासमा नेतृत्वले ध्यान दिनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘सेयर सदस्य, समिति, उपसमिति र कर्मचारीहरूको संस्थाप्रति सकारात्मक धारणाको विकास गराउँदै संस्थागत छवि निर्माण र यसको निरन्तरता दिन सकेमा सदस्य तथा कर्मचारीको सन्तुष्टि बढ्नुका साथै प्रतिस्पर्धी प्रतिफल पनि प्राप्त गर्न सकिन्छ, संस्थागत संस्कारको विकास र जनशक्तिको स्वफूर्त परिचालन हुन्छ ।’

अभिलेख

लोकप्रिय