१ असोज २०८३, बिहिबार

दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल

नेफ्स्कूनले सुनायो अन्तर्राष्ट्रिय उपलब्धि

२०८३ असोज १, बिहिबार
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं : नेपालको बचत तथा ऋण सहकारी अभियानले अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ । एशियाली ऋण महासंघ (अकू) को क्वालालम्पुरमा सम्पन्न ४५औँ साधारणसभा तथा अकू फोरम २०२६ बाट नेपालका दुई साकोसले अन्तर्राष्ट्रिय एक्सेस ब्राण्ड प्राप्त गरेका छन् भने नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल अकूको द्वितीय उपाध्यक्षमा चयन हुनुभएको छ ।

नेफ्स्कूनले केन्द्रीय कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी मलेसियाको क्वालालम्पुरमा सम्पन्न एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभा तथा अकू फोरम २०२६ मा नेपालले प्राप्त गरेका उपलब्धिबारे जानकारी गराइएको थियो।

May be an image of dais and text that says 'NEFSCUN'

सेप्टेम्बर ७ देखि १३ सम्म मलेसियामा भएको कार्यक्रममा एसियाका २२ देशबाट करिब ६ सय प्रतिनिधि सहभागी भएका थिए । नेपालबाट सहभागी जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक्सेस सिल्भर र मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक्सेस ब्रोन्ज स्तर प्राप्त गरेका हुन् ।

अकूको ४५औँ साधारणसभाले आगामी सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ नेतृत्व चयन गरेको हो । सेप्टेम्बर १३ मा सम्पन्न निर्वाचनबाट नेफ्स्कून अध्यक्ष ढकाल द्वितीय उपाध्यक्षमा चयन हुनुभएको हो । नेपालको साकोस अभियानको प्रतिनिधित्व गर्दै ढकाल अकूको नेतृत्व तहमा पुग्नुभएको हो ।

सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालका चन्द्रप्रसाद ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् । समितिको सचिवमा फिलिपिन्सका रे डी. लाबासानो र कोषाध्यक्षमा ताइवानका लियो चुन फोङ निर्वाचित भएका छन् । त्यसैगरी, इन्डोनेसियाका डा. वारे साबोर डोमिनिकस प्रथम वैकल्पिक सञ्चालक र श्रीलंकाका एल. बी. देसनायके द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित भएका छन् ।

कार्यक्रममा महासचिव घनश्याम अधिकारीले स्वागत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालको साकोस अभियानका अन्तर्राष्ट्रिय उपलब्धिबारे प्रस्तुति दिनुभएको थियो ।

सीइयो सापकोटाले एक्सेस कार्यक्रममार्फत नेपाली साकोसमा भइरहेको संस्थागत गुणस्तर सुधार, वित्तीय अवस्था, सुशासन, सदस्य सेवा, अन्तर्राष्ट्रिय सहकार्य तथा आगामी कार्यदिशाबारे जानकारी दिनुभएको थियो । नेपालको साकोस अभियान संस्थागत क्षमता र गुणस्तर सुनिश्चितताका साथै अन्तर्राष्ट्रिय नेतृत्वमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै गएको उहाँले बताउनुभएको थियो ।

बाढी प्रभावित साकोसका लागि ५० हजार डलर सहयोग

यसैबीच, रसुवाको भोटेकोशी बाढीबाट प्रभावित साकोसको पुनःस्थापना र पुनरुत्थानका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघले ५० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अकूको साधारणसभासँगै भएको एक कार्यशालामा सहभागी सात देशका ३२ जनाले समेत बाढी प्रभावित साकोसका लागि सहयोग रकम संकलन गरेका थिए । संकलित रकम नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटालाई हस्तान्तरण गरिएको थियो । संकलित रकम सरकारको कोषमा जम्मा गरिसकेको सीईओ सापकोटाले बताउनुभयो ।

बाढी प्रभावित साकोसको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ, विश्व ऋण परिषद्लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाबाट समेत सहयोग जुटाउने पहल भइरहेको नेफ्स्कूनले जनाएको छ ।

के हो एक्सेस ब्राण्ड ?

नेफ्स्कूनले अकूको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएको एक्सेस कार्यक्रम साकोसको संस्थागत क्षमता र गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम हो । यसले वित्तीय अवस्था, सुशासन, सदस्य सेवा, आन्तरिक प्रक्रिया तथा संस्थाको सिकाइ र वृद्धिलगायत पक्षलाई मूल्याङ्कन गर्छ ।

कार्यक्रमअन्तर्गत विभिन्न ८६ वटा सूचकका आधारमा साकोसको मूल्याङ्कन हुने नेफ्स्कूनले जनाएको छ । यस वर्ष जनउत्थानले सिल्भर र मध्यनेपालले ब्रोन्ज स्तर प्राप्त गरेका हुन् ।

रुपन्देहीस्थित जनउत्थान साकोसको कुल सम्पत्ति करिब ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । संस्थामा ४४ हजारभन्दा बढी सदस्य र ९९ कर्मचारी छन् । शुद्ध संस्थागत पुँजी ८.७४ प्रतिशत रहेको संस्थाको कुल बचतमा नियमित बचतको हिस्सा ४३.६७ प्रतिशत रहेको छ । संस्थाका ११ हजार ४९६ सदस्यले ऋण सेवा लिइरहेका छन्, जुन कुल सदस्यको २५.८८ प्रतिशत हो ।

नवलपुरस्थित मध्यनेपाल साकोसको कुल सम्पत्ति १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी रहेको छ । संस्थामा ३३ हजारभन्दा बढी सदस्य र ४७ कर्मचारी छन् । यसको शुद्ध संस्थागत पुँजी ७.५३ प्रतिशत रहेको छ । संस्थाका ३ हजार ४१६ सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन्, जुन कुल सदस्यको १०.१३ प्रतिशत हो ।

नेपालमा एक्सेस कार्यक्रम सन् २००६ देखि अभ्यासमा ल्याइएको हो । अहिले करिब ७५ वटा बचत तथा ऋण सहकारी संस्था यस कार्यक्रममा आबद्ध भएर अभ्यास गरिरहेका छन् । वित्तीय अनुशासनसँगै व्यवस्थापकीय क्षमता, सुशासन, प्रविधि, सुरक्षा तथा नियामकीय व्यवस्थाको कार्यान्वयनसमेत मूल्याङ्कन हुने भएकाले कार्यक्रमले साकोसको संस्थागत क्षमता र गुणस्तर सुधारमा सहयोग पुर्‍याउने नेफ्स्कूनले जनाएको छ ।

अभिलेख

लोकप्रिय