१ असोज २०८३, बिहिबार

चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२०८३ असोज १, बिहिबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मन्थली (रामेछाप) : चिसापानी गढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय बाल दिवसको अवसरमा ‘सहकारी शिक्षा कार्यक्रम तथा बाल समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न गरेको छ ।

बालबालिकामा सहकारी, बचत, आर्थिक अनुशासन, सहकार्य तथा सकारात्मक सोचसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रममा सहकारी तथा वित्तीय शिक्षासम्बन्धी जानकारी प्रदान गर्नुका साथै विद्यार्थीहरूको ज्ञान, प्रतिभा र आत्मविश्वास अभिवृद्धिका लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो।

सहकारी शिक्षा कार्यक्रमको सहजिकरण गोविन्दप्रसाद घिमिरेले गर्नुभएको थियो । उक्त कार्यक्रममा करिब ८५ जना विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका-८, चिसापानीका वडा अध्यक्ष एवं मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बालबालिकाको ज्ञान, क्षमता र प्रतिभा विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक तथा वित्तीय ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका विद्यालय निरीक्षक अधिकृत विष्णु अधिकारी, मन्थली नगरपालिका ज्येष्ठ नागरिक, महिला तथा बालबालिका शाखा प्रमुख सरिता बुढाथोकी, मन्थली नगरपालिका-८ का पूर्व वडा अध्यक्ष राजकुमार श्रेष्ठ, श्री विद्याश्रम आधारभूत विद्यालय, जाखिनटारका प्रधानाध्यापक दिपा थापा, श्री भीमेश्वर रुद्र माध्यमिक विद्यालयका प्रधानाध्यापक देव कुमार श्रेष्ठ , श्री जगदम्बा आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश ढुंगेलको सहभागिता थियो।

त्यसैगरी विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा चिसापानी गढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार श्रेष्ठले सहकारीको भूमिका बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई शिक्षा, सामाजिक विकास, आर्थिक अनुशासन, संस्कृति, वातावरण तथा समुदायको समग्र विकाससँग जोडिनुपर्ने बताउनुभयो।

अध्यक्ष श्रेष्ठले संस्थाले स्थापना कालदेखि नै एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र तथा छात्रालाई सम्मान गर्दै उनीहरूको शैक्षिक प्रगति र उज्ज्वल भविष्यका लागि प्रोत्साहन गर्दै आएको जानकारी दिनुभयो। साथै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोर व्यवस्थापनका लागि आवश्यक स्थानमा डस्टबिनको व्यवस्था, प्रतीक्षालय निर्माण, तीज विशेष कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान तथा महिला र बालबालिकासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा चिसापानी गढी संरक्षण तथा विकास समाजले कार्यक्रम सफल बनाउन सहकार्य गरेको थियो भने श्री विद्याश्रम आधारभूत विद्यालय, जाखिनटारले कार्यक्रमको व्यवस्थापन तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

हाजिरीजवाफ प्रतियोगितामा श्री भीमेश्वर रुद्र माध्यमिक विद्यालय प्रथम, श्री जगदम्बा आधारभूत विद्यालय द्धितिय र श्री विद्याश्रम आधारभूत विद्यालयले तृतिय स्थान हासिल गरेको थियो । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण शिक्षक तुला घिसिङले गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि संस्थाले सदस्यहरूको आर्थिक समृद्धिसँगै शिक्षा, वातावरण, संस्कृति, सामाजिक सद्भाव तथा समुदायको समग्र विकासमा योगदान पु¥याउने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले विद्यार्थीहरूमा सहकारी तथा वित्तीय शिक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा समेत योगदान पु¥याएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय