२७ जेठ २०८३, बुधबार

डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित

२०८३ जेठ २७, बुधबार
डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित

काठमाडौं : किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा एसिया महादेशका मुलुकहरू मध्येबाट नेपालका खेम बहादुर पाठक दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

केन्याको राजधानी नैरोबीमा आयोजना भएको डब्लुएफओको साधारण सभा तथा वार्षिक बैठक (८–११ जुन २०२६) अन्तर्गत भएको निर्वाचनबाट पाठक आगामी २ वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

पाठकले नेपालको ग्रामीण क्षेत्रको आर्थिक-सामाजिक रूपान्तरण, गरिबी निवारण तथा साना किसानहरूको हकहितका लागि पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै एसिया महादेशका देशहरुले उहाँलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित गरेका हुन् ।

केन्याको नैरोबीमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि विश्वभरका विभिन्न ७ महादेशीय कृषि सहकारी तथा किसान संगठनका नेतृत्वकर्ताहरू समेटेर नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा केन्याका डा. ड्यानियल म्वेन्डाह एम’माइलुथा (Dr. Daniel Mwendah M’Mailutha) र उपाध्यक्षमा अष्ट्रेलियाकी फियोना सिम्पसन (Fiona Simson) निर्वाचित हुनुभएको छ ।

यसैगरी सञ्चालक समिति सदस्यहरूमा एसिया क्षेत्रबाट नेपालका खेम बहादुर पाठक सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै अफ्रिका क्षेत्रबाट मौरिससका गुनशाम सीबोरुन, युरोप क्षेत्रबाट बेल्जियमका पिटर भेरहेलेट र उत्तर अमेरिका क्षेत्रबाट वेस्ट भर्जिनिया, अमेरिकाका रोब लारेउ, ल्याटिन अमेरिकाबाट इलोइसा फ्रेडकिंग सञ्चालक समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

पाठक यसअघि सन् २०२४ मा पनि एसिया महादेशका मुलुकहरूको प्रतिनिधित्व गर्दै डब्लुएफओको बोर्ड सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका मुख्य सल्लाहकार र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठक नेपालको सहकारी आन्दोलनका अगुवा व्यक्तित्व हुनुहुन्छ ।

उहाँ नेपाल सरकारबाट ‘प्रबल जनसेवा श्री चतुर्थ’, नेपाल सरकारबाट ‘सहकारी पुरस्कार’ र अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) एसिया–प्रशान्त क्षेत्रबाट ‘प्रेरणादायी सहकारी नेता’ जस्ता प्रतिष्ठित सम्मानबाट सम्मानित भइसक्नुभएको छ । उहाँकै नेतृत्वमा कृषि केन्द्रीय संघले सन् २०२३ मा रोममा एफएओ (FAO) पार्टनरसिप अवार्ड समेत प्राप्त गरेको थियो ।

विश्वभरका ९० भन्दा बढी देशका १ हजार भन्दा बढी किसान अगुवा, नीति निर्माता र कृषि विज्ञहरूको सहभागिता रहेको थियो।

अभिलेख

लोकप्रिय