८ जेठ २०८३, शुक्रबार

सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना

२०८३ जेठ ८, शुक्रबार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना

काठमाडौं : मोरङ जिल्लाको पथरी शनिश्चरेमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले हालसम्मकै अत्यन्तै न्यून ब्याजदरमा ऋण योजना सार्वजनिक गरेको छ।

संस्थाले कृषि तथा व्यवसाय क्षेत्रमा संलग्न सदस्यहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण ‘कृषि ऋण’ र ‘व्यवसाय समृद्धि ऋण’ योजना सार्वजनिक गरेको हो। उत्पादन वृद्धि, व्यवसाय विस्तार तथा सदस्यहरूको आर्थिक समृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले योजना ल्याइएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार कृषि ऋणमा वार्षिक ४.४९ प्रतिशत तथा व्यवसाय समृद्धि ऋणमा ४.९९ प्रतिशत ब्याजदर कायम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक अधिकारीले जानकारी दिनुभयो ।

संस्थाका अनुसार कृषि ऋणअन्तर्गत तरकारी खेती, धान-गहुँ खेती, फलफूल खेती, पशुपालन, फूलबारी तथा अन्य कृषि व्यवसायमा संलग्न सदस्यहरूले अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्। उक्त ऋणको अवधि अधिकतम चार वर्षसम्म रहनेछ।

त्यसैगरी व्यवसाय समृद्धि ऋणअन्तर्गत व्यवसायी तथा उद्यमी सदस्यहरूले अधिकतम ३५ लाख रुपैयाँसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। यस ऋणको अवधि अधिकतम १० वर्षसम्म तोकिएको सीईओ अधिकारीले बताउनुभयो ।

संस्थाले सरल प्रक्रिया, छिटो स्वीकृति, सहज किस्ता योजना तथा भरपर्दो सेवामार्फत सदस्यहरूको व्यवसाय र कृषि क्षेत्रलाई सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

कम ब्याजदरमा ऋण उपलब्ध हुँदा व्यवसाय विस्तार, नयाँ लगानी तथा उत्पादन वृद्धि गर्न सहज हुने संस्थाको भनाइ छ । यसबाट साना तथा मध्यम व्यवसाय सञ्चालन गर्ने सदस्यलाई आर्थिक दबाब कम भई व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै, कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण उपलब्ध हुँदा कृषकले आधुनिक प्रविधिमा लगानी गर्न, उत्पादन बढाउन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अधिकारीले बताउनुभयो । न्यून ब्याजदर र सहज किस्ता व्यवस्थाले कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन टेवा पुग्ने तथा स्थानीय स्तरमा रोजगारी र उत्पादन वृद्धि हुने उहाँको भनाइ छ ।

२०८३ वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको शेयर पूँजी ६ करोड १४ लाख ४४ हजार ८ सय रुपैयाँ पुगेको छ भने जगेडा कोष ६ करोड ३ लाख २२ हजार ३ सय ५० रुपैयाँ छ। विभिन्न कोषहरूमा २ करोड ३९ लाख २० हजार ५ सय १६ रुपैयाँ सञ्चित रहेको संस्थाले जनाएको छ।

त्यसैगरी संस्थाको कुल संस्थागत पूँजी ६ करोड ८ लाख १४ हजार ३ सय ७७ रुपैयाँ रहेको छ। लगानीमा रहेको ऋण ४४ करोड १९ लाख २६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ भने कुल बचत ५१ करोड १५ लाख ७८ हजार ८ सय २६ रुपैयाँ छ।

संस्थाको कुल सम्पत्ति ६६ करोड ६६ लाख ६४ हजार ८ सय ४३ रुपैयाँ पुगेको छ। तरलता रकम २० करोड ७६ लाख ५६ हजार ८ सय ३९ रुपैयाँ रहेको छ भने कुल तरलता प्रतिशत ४०.५१ रहेको विवरणमा उल्लेख गरिएको छ।

संस्थामा हाल १ हजार ८ सय १० जना बाल बचतकर्ता, १ हजार ३ सय ८८ जना ऋणी सदस्य तथा ७ हजार ७ सय ९३ जना शेयर सदस्य आबद्ध छन्।

अभिलेख

लोकप्रिय