१६ जेठ २०८३, शनिवार

नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभा सम्पन्न

२०८२ पुष ४, शुक्रबार
नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को ३४औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। नियामकीय निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा साधारण सभा ललितपुरको हेरिटेज गार्डेन, सानेपामा सम्पन्न भएको छ।

साधारण सभामा अध्यक्ष ढकालले आर्थिक वर्ष २०८१/८२ मा साकोस अभियानको नेतृत्वको शिलशिलामा सम्पादन गरेका कार्यहरुको प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन पेश गर्दै अध्यक्ष ढकालले सहकारी ऐनको संशोधन बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा नेपाल राष्ट्र बैंक नियामकहरूका लागि मापदण्ड दिन सक्षम भएको छ तर बचत तथा ऋण सहकारी अभियानको अपेक्षा पुरा नभएको बताए। ‘साकोस ऐन हाम्रो आवश्यकता भएकोले प्राप्तीका लागि प्रयास निरन्तर राखिएको छ र रही रहनेछ। बचत तथा ऋण सहकारी अभियानका अबको गन्तव्यको रूपमा अभियानको सञ्जालिकरणलाई राखिएको छ’, उनले भने, ‘सेवाहरूको स्तरीकरणमार्फत सदस्यहरूको बचत सुरक्षा गर्न अभियान सक्षम रहने विश्वास लिइएको छ । कानूनी वातावरण विकासका लागि निरन्तर कार्य गरिनेछ ।’

सदस्यहरूको बचत सुरक्षामा नेफ्स्कून संबेदनशिल रहेको र भबिष्यमा पनि रहने विश्वास अध्यक्ष ढकालले दिलाए। सदस्यहरूमा गएको ऋण भाखा नाघेको कारण लेख्नु परेको खर्च र सम्पत्ति स्वीकार गर्दा लेख्नु परेको जोखिम व्यवस्थापन खर्च अभियानको क्षमता भन्दा टाढाको बिषय भएकोले समयाबधि दिनु पर्ने उनको भनाई थियो।

अध्यक्ष ढकालले थप भने, ‘कडा नियमनको नाममा अभियानलाई डर देखाइएको छ । भाखा नाघेको ऋण बढेको छ । सरकारको संरक्षणात्मक पहल पुगेको छैन । अभियान एक हुँदा यी सबै समस्याको समाधान हुन सक्छ । कुनै पनि संस्था एक्लै छैन । हुनु हुँदैन । समस्याको व्यवस्थापन गर्ने क्षमता र सक्रियता अभियानसँग छ । संबिधानले दिएको एक तिहाइ जिम्मेवारी लिन निष्ठापूर्वक सक्रिय रहन आवश्यक छ । विश्वव्यापी रूपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय क्षेत्र हो । अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि पैरवी हो । उत्कृष्ठ सहकारीता सहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ ।’

सभामा महासचिव घनश्याम अधिकारीले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेफ्स्कूनले बहस तथा पैरवी, साकोस अभियानको वित्तीय स्वस्थता । जोखिम व्यवस्थापन, कार्यक्रम तथा विकास, अभियानमा मानव स्रोत विकास, साकोस अभियानको सुदृढीकरण लगायतमा महत्वपूर्ण प्रगती हासिल गरेको महासचिव अधिकारीले बताए।

संघको विनियम बमोजिम आबद्धता नविकरण नगर्ने सदस्यहरूको आबद्धताको खारेजी प्रक्रिया शुरू भएको उनले बताए । गत आ.व. मा त्यसरी खारेजी गरिएको सदस्य संख्या ३७५ वटा रहेको र चालु आ.व. मा ७ वटा संस्थाको सदस्यता खारेजी गरिएको महासचिव अधिकारीले बताए।

चालु आवको नीति तथा कार्यक्रम एवं योजना प्रस्तुत गर्दै अधिकारीले सम्पूर्ण रणनीतिक कार्यक्रमहरूलाई बृहत रूपमा चारवटा मुख्य क्षेत्रभित्र रहने गरी क्षेत्रहरूको पहिचान गरिएको बताए। बचत तथा ऋण सहकारीहरूमा जिनस्तरमा विश्वासको वातावरण सृजना गरी छवी सुधार गर्न तथा सुरक्षित साकोस अभियानको निर्माणमार्फत सदस्यहरूको जीवनस्तरमा सुधार गर्नका लागि संघले छैठौं योजनाको ध्येय ‘अविचलित साकोस सञ्जाल मार्फत जनजीविका सुधार’ र परिकल्पना ‘स्वस्थ्य र सुरक्षित साकोसहरूको जवाफदेही एकीकृत सञ्जाल’ रहेको उनले बताए।

आर्थिक वर्ष २०८१/८२ को आय व्यय विवरण पेश गर्दै कोषाध्यक्ष दीपक थापाले प्रारम्भिक संस्थाको सुरक्षाले मात्र सहकारी अभियान सुरक्षित हुने र आम सदस्यहरूको पैसाको सुरक्षाको प्रत्याभूति गर्न सकिने विषयलाई आत्मसात गर्दै संघले आफ्नो ऋण लगानीको जोखिम व्यवस्थापनलाई अति उच्च प्राथमिकतामा राखेको बताए । ३२औं वार्षिक साधारणसभा पश्चात् संघको नेतृत्वले भाखा नाघेका ऋणको असूलीलाई नीतिगत रूपमा प्राथमिकतामा राखी सोही बमोजिम व्यवस्थापनलाई कार्यभार सुम्पेको उनले बताए।

‘पहिलो प्राथमिकता नियमित रूपमा ऋण असूली गर्न प्रयास गरिएकोमा आसातित नतिजा प्राप्त भएको छ । नियमित तरताकेता गर्दा समेत ऋण तिर्न बुझाउन आलटाल गर्ने संस्थाको धितो लिलामी प्रकृयाको मार्फत पनि ऋण असूली गरिएको छ’, कोषाध्यक्ष थापाले भने, ‘यद्यपि वित्तीय संकटका कारण संस्था सञ्चालनमा वास्तविक रूपमा कठिनाई परेका संस्थाहरूसँग निरन्तर संवाद गर्ने र सहजीकरण समेत गर्ने गरिएको छ । यसका अलावा संघको खर्च नियन्त्रणको विषयमा अत्यन्तै संवेदनशील भई खर्च कटौती गर्ने नीतिलाई कार्यान्वयनमा ल्याईएको छ ।’

सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य दुर्गा तिवारी संजेलले प्रस्तुत गरेकी थिईन।

सभाले संघको विनियम संशोधन, आन्तरिक कार्यविधिहरु, संकल्पप्रस्ताव लगायतका पूर्वनिर्धारित ११ वटा एजेण्डाहरु उपर छलफल गरी परित गरेको छ।

अभिलेख

लोकप्रिय