२९ असोज २०८३, बिहिबार

चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग

२०८३ असोज २९, बिहिबार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग

काठमाडौं : काभ्रेको बनेपा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा तथा नुवाकोट जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

संस्थाले आफ्ना ११ हजार ५६३ जना सदस्यको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धर र प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबञ्जारद्वारा जारी विज्ञप्तिमा समुदायमा आधारित एवम् सदस्य केन्द्रित संस्थाका रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपत्तिको घडीमा सरकारको आग्रह र पहलमा हातेमालो गरिएको उल्लेख छ।

बाढीबाट प्रभावित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ। विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको भन्दै संस्थाले पीडितप्रति ऐक्यबद्धता जनाएको छ।

चण्डेश्वरी साकोसले बाढीमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, राहत कोषमा सहयोग गर्ने आफ्ना सबै सदस्यप्रति संस्थाले आभार व्यक्त गरेको छ।

अभिलेख

लोकप्रिय