३ वैशाख २०८३, बिहिबार

सुयोग्य साकोसको १८ औं साधारण सभा सम्पन्न, अध्यक्षमा टेक बहादुर लिम्बु

२०८२ असोज ४, शनिवार
सुयोग्य साकोसको १८ औं साधारण सभा सम्पन्न, अध्यक्षमा टेक बहादुर लिम्बु

काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष पम्फा न्यौपानेको अध्यक्षतामा भएको सभाको उद्घाटन संस्थाकी प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहाङ सुब्बा र अध्यक्ष न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।

सभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले केही सहकारी संस्था सहकारीको मर्म विपरित सञ्चालन भएका कारण यो क्षेत्रले निकै चुनौतीपूर्ण र तरलता अभावको सामना गर्नुपरेको बताइन् । उनले सुयोग्यले भने सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै वित्तीय अनुशासन पालना गरी अगाडि बढेकाले कुनै समस्या नआएको बताइन् ।

सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा पनि संस्थाप्रति सदस्यहरुको दरिलो साथ र व्यवस्थापन समुहको अथक मेहनतले वित्तीय रुपमा संस्था बलियो भएर गएको जानकारी दिइन् । संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता राखेर अगाडि बढेको समेत सभा उनले उल्लेख गरिन् ।

संस्थाले ऋण लगानी र असुलीलाई विशेष सावधानीका साथ अगाडि बढाएको भन्दै आर्थिक मन्दीका कारण अपेक्षाकृत रुपमा ऋण लगानी गर्न नसकेको समेत उनले जानकारी दिइन् ।

संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता, लिडरशीप बुट क्याम्प र बार्षिक योजना तथा बजेट निमार्ण तालिम आयोजना गरिएको अध्यक्ष न्यौपानेले सभामा उल्लेख गरिन् । संस्थाले सदस्य हित कार्यक्रममार्फत घातक रोग लागेमा उपचार खर्च, महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र सदस्यको मृत्यु भएमा श्रद्धाञ्जली व्यक्त गर्दै काजकिरिया खर्च उपलब्ध गराउँदै आएको छ ।

यस आर्थिक बर्षमा संस्थाले डिजिटल सेवा प्रयोग गने सदस्यहरुको संख्या बढाउन कक्षा सञ्चालन गर्ने, सदस्य शिक्षा, वित्तीय साक्षरतालाई निरन्तरता दिने, स्थानीय संघ संस्थाको सहकार्यमा सामुदायिक कार्य गर्ने र शेयर पुँजी वृद्धि गर्न सदस्यहरुलाई न्युनतम ५ हजारको शेयर खरिद गर्न प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष न्यौपानेले बताईन ।

लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै समितिका संयोजक प्रकाश रेग्मीले समितिले दिएको सुझावहरु सञ्चालक समितिले क्रमश पालना गर्दै लगेको बताए ।

आर्थिक बर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ८७ लाख ६० हजार, बचत संकलन ३४ करोड ३ लाख ३३ हजार, ऋण लगानी २५ करोड ४ लाख ४९ हजार गरी ५३ लाख ८७ हजार मुनाफा आर्जन गरेको छ । गत बर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गरेको छ ।

संस्थामा १ हजार ५७० सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ४१ करोड ९२ लाख ४८ हजार पुगेको छ । संस्थाको जगेडा कोषमा २ करोड ४० लाख रकम रहेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुलाई बचत र ऋणको कारोबारको आधारमा फिर्ता दिने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा कुल सम्पत्तिमा २६ प्रतिशत, बचत र ऋणमा २२ प्रतिशत, जगेडा कोषमा १२ प्रतिशत र शेयरमा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

आर्थिक मन्दीका कारण ऋणको मागमा आएको कमी र ऋण असुलीमा समस्या भएको कारण गत बर्षको तुलनामा संस्थाको नाफमा केही कमी आएको भए पनि यस आबमा ४९ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको उनले सभामा जानकारी दिए ।

संस्थाले नियमित बचत गर्ने सदस्यलाई कार्ड वितरण गर्ने र त्यसैको आधारमा सेवा सुविधा दिने भन्दै सबै सदस्यलाई नियमित बचत गर्न सिईओ कार्कीले आग्रह गरे । सभामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो भने सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सभामा प्रमुख सल्लाहकार थाम्सुहाङ सुब्बाले साधारण सभा सदस्यहरुको सभा भएकाले त्यस अवधिभर सक्रिय सहभागिता जनाएर आफ्ना राय सुझाव प्रदान गर्न आग्रह गरिन् ।

संविधानले नै अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको भन्दै मुलुकको दुरदराजमा समेत सहकारी विस्तार भई आर्थिक सामाजिक रुपान्तरणको काम हुँदै आएको बताइन् । सुयोग्यमा किन आवद्ध भएको र संस्थामा आवद्ध भएपछि आफ्नो आर्थिक तथा सामाजिक रुपान्तरण भयो कि भएन भन्ने मुल्याङकन आफै गर्न समेत सदस्यहरुलाई उनले आग्रह गरिन ।

सहकारीमा ससानो रकम बचतको रुपमा जम्मा गरी आवश्यकता पर्दा संस्थाबाट ऋण लिई उद्यम व्यवसाय मार्फत् जीवनस्तर बदल्न सकिने उनले बताइन् । संस्थाबाट सदस्यले सहज रुपमा चाहे अनुसारको सेवा पाएको छ कि छैन भन्ने कुराको मनन गर्न र आवश्यक सुझाव दिन उनले आग्रह गरिन् । संस्थाले नीति तथा कार्यविधि बनाएर सेवा प्रवाह गदै आएको जानकारी दिँँदै उनले सदस्यको विश्वासले संस्थाको वित्तीय कारोबार बढेर गएको बताइन् ।

अध्यक्षमा टेक बहादुर लिम्बु
साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी चार वर्षको लागि सात जना सञ्चालक समिति र ३ जना लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको अध्यक्षमा टेक बहादुर लिम्बु, उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यहरुमा तामलाल भुसाल, श्रीचन्द्र तण्डुकार, खुशमाया श्रेष्ठ, भगीमाया थाम्सुहाङ र देउ प्रसाद लिम्बु चयन भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ओमकृष्ण श्रेष्ठ र सदस्यहरुमा रोशन खड्का र सोनी अधिकारी चयन भएका छन् ।

अभिलेख

लोकप्रिय