१० असार २०८३, बुधबार

सहकारी बैंकलाई पूर्ण बैङ्किङ कारोबारका लागि सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड

२०८२ साउन २०, मङ्गलबार
सहकारी बैंकलाई पूर्ण बैङ्किङ कारोबारका लागि सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २३ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस सोमबार विविध कार्यक्रमका साथ मनाएको छ ।

बैंकले स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसर पारेर ‘सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धीकरण निवारण विषयक गोष्ठी’को आयोजना गरेको थियो । काठमाडौंमा आयोजित गोष्ठीमा देशभरका सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।

गोष्ठीमा बैंकको विगत २२ वर्षमा हासिल गरेको महत्वपूर्ण उपलब्धि र भावी दिनमा बैंकबाट सदस्य सहकारी संघ संस्थाले पाउने सेवा सुविधा तथा भावी रणनीति समेटिएको प्रस्तुतीकरण बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यसैगरी सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्सालले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा ग्रे-लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापहरूको विस्तृतीकरण २०८२’ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रवक्ता रविन ढकालले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी नियामकीय मापदण्ड २०८२ तथा प्राधिकरणको अबको कार्यदिशा विषयक प्रस्तुतीकरण गरेका थिए। गोष्ठीमा प्रस्तुत तीन वटै प्रस्तुतिकरणका विषयमा सहभागिहरुले छलफल तथा अन्तरक्रिया गरेका थिए ।

बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले धेरै काम गरेको बताए । उनले सहकारीका समस्या समाधानका लागि छुट्टै कर्जा असुली न्यायाधिकरणको स्थापना, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन, समस्या ग्रस्त सहकारीहरूको बचत फिर्ता नै सहकारी समस्या समाधानको महत्वपूर्ण उपलब्धि भएको बताए।

मन्त्री अधिकारीले केही व्यक्तिको गल्तीले सहकारी क्षेत्र बदनाम भएको उल्लेख गर्दै समग्र सहकारीको मूल मर्म र उद्देश्यलाई बिर्सेर, केही व्यक्ति तथा संस्थाहरूले गरेका अनियमित कार्यका कारण आज यस क्षेत्रले बदमासीको ट्याग बोक्नुपरेको उल्लेख गरेका थिए ।

कार्यक्रममा बैंकका सल्लाहकारहरू केशव बडाल, कमल चौलागाई, लीलामणि पोखरेल, राधा घले, मीनराज कडेलले बैंक स्थापनाकाल देखि हालसम्म बैंकले गरेको गतिविधिको चर्चा गर्दै बैंकलाई अफ्ठयारो अवस्थामा सबैले साथ र सहयोग गर्नुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैङ्किङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरू आफ्ना मूल उद्देश्य र सैद्धान्तिक मार्गदर्शन अनुरूप सञ्चालन हुनु अत्यावश्यक रहेको बताए । ‘हाल केही सहकारी क्षेत्रमा सङ्कट छ, जसलाई यथाशीघ्र व्यवस्थित र समाधान गर्नु आवश्यक छ’, अध्यक्ष शर्माले भने, ‘सहकारी संस्था दर्ता प्रक्रिया सहज बनाउनका लागि सफ्टवेयर विकासको काम भइरहेको छ।’

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिईन । उनले सहकारी अभियानलाई प्रभावकारी बनाउन अभियानले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् ।

May be an image of 6 people and text

बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बैंकको वित्तीय तथा समग्र सूचकहरू सकारात्मक भएकोले दीर्घकालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै सदस्य केन्द्रित सेवा प्रणालीलाई संस्थागत गर्ने दिशामा बैंक अग्रसर भएको बताए । विगतका अनुभवलाई आधार बनाई सहकारी मूल्य र नैतिकताको पालना गर्दै दिगो सहकारी प्रणाली निर्माणमा बैंक निरन्तर प्रतिबद्ध रहने उल्लेख गरेका थिए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र ढकालले नेपालको सहकारी क्षेत्रको दीगोपनको लागि रणनीतिक ढङ्गले अभियानलाई व्यवस्थित र व्यावसायिक बनाउन सहकारी बैंक र केन्द्रीय संघहरुको भूमिका महत्वपूर्ण रहने बताए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन बैंकको सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले गरेका थिए।

२०६० साल असार २० गते स्थापना भई २०६१ साउन १९ गतेदेखि बैंकले कारोबार शुभारम्भ गरेको दिनको स्मरण गर्दै बैंकले हरेक वर्षको श्रावण १९ गते स्थापना तथा कारोबार शुभारम्भ दिवस मनाउँदै आइरहेको छ ।

अभिलेख

लोकप्रिय