२२ कात्तिक २०८३, आईतवार

क्रेडिट यूनियन फाउन्डेशनको अध्यक्षमा डी.बी. बस्नेत

२०८१ पुष १८, बिहिबार
क्रेडिट यूनियन फाउन्डेशनको अध्यक्षमा डी.बी. बस्नेत

काठमाडौं : क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा डि.बी. बस्नेत चयन भएका छन् । फाउन्डेशनको बिहीबार सम्पन्न ७ औं वार्षिक साधारण सभाले बस्नेतको नेतृत्वमा सात सदस्यीय कार्यसमिति २ वर्षको लागि चयन गरेको हो ।

बस्नेत नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष हुन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्याम बहादुर श्रेष्ठ, सचिवमा दीपक पनेरु, कोषाध्यक्षमा शिव अधिकारी रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा अर्जुन पुडासैनी, न्हुच्छे नारायण श्रेष्ठ र शुभद्रादेवी महतो रहेकी छिन् । यस अघि फाउण्डेशनको अध्यक्षमा ऋषिराज घिमिरे थिए ।

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८०/८१ सम्मको वित्तीय तथा प्रगति समीक्षाको प्रस्तुति गरिएको थियो। नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सदस्य विस्तार तथा नवीकरणका सम्बन्धमा आवश्यक निर्णयहरु भएका छन्। साथै, संस्थाका भावी नीतिहरू तर्जुमा गर्न जिम्मेवारी समेत तोकिएको छ ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा संस्थाको विकास र सदस्यहरूको हितमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको प्रगति यात्रा सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताए। उनले सबै पदाधिकारी, व्यवस्थापन टिम र उपस्थित सदस्यहरूलाई धन्यवाद दिँदै आगामी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले संस्थाको प्रगति र विकासमा नयाँ कार्यसमितिले उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरेका थिए ।

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल २०६८ सालमा स्थापित यस फाउण्डेशन जिल्ला प्रसाशन कार्यालय, काठमाडौँमा दर्ता भएको गैरनाफामूलक संस्था हो । यस संस्थामा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सञ्चालक र पूर्व प्रमुख कार्यकारी अधिकृत सदस्य रहने व्यवस्था छ।

बचत तथा ऋण सहकारी संस्था तथा अभियानलाई सवल तथा सुदृढ बनाई दीगो विकासका टेवा पुर्याउने उद्देश्यले गठित राष्ट्रिय स्तरको एक मात्र गैर नाफामूलक संस्था हो ।

अभिलेख

लोकप्रिय