२२ कात्तिक २०८३, आईतवार

दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष सुरु

२०८१ पुष १७, बुधबार
दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष सुरु

काठमाडौं : आजबाट सन् २०२५ आरम्भ भएको छ । नयाँ वर्ष आरम्भसँगै संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी)-२०२५ पनि सुरु भएको छ ।

संयुक्त राष्ट्र संघले ११ जुन २०२४ मा सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो ।

नोभेम्बर २५ देखि ३० सम्म भारतको नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी वर्ष २०२५ को औपचारिक एवम् विधिवत् शुभारम्भ गरेका थिए । यसअघि संयुक्त राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो ।

सहकारी वर्ष सुरु भएसँगै आधिकारिक वेवसाईट (www.2025.coop) को समेत लञ्च गरिएको छ । उक्त वेवसाईट १६ भाषामा उपलब्ध छ । सहकारी वर्षको नारा ‘सहकारीले राम्रो विश्व निर्माण गरौँ’ रहेको छ ।

सन् २०२५ भर नेपाल लगायत विश्वभर सहकारीसम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालन गरिनेछन् । राष्ट्र संघले सन् २०३० का लागि तय गरेको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि सहकारी महत्वपूर्ण ‘एक्टर’ भएको बताउँदै यो क्षेत्रबाट थप योगदानको विश्वास लिदै आएको छ ।

सहकारी क्षेत्रको विकास र प्रवर्धनसँगै पिछडिएको समुदायको सामाजिक आर्थिक लगायत बहुआयामिक विकासका लागि विश्व समुदायमा यसको उपादेयता झल्काउने यो अर्को महत्वपूर्ण अवसर हुनेछ ।
संयुक्त राष्ट्र संघले विश्वका १ सय ९३ सदस्य राष्ट्र भएको राष्ट्र संघ सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च हो । राष्ट्र संघले सहकारी क्षेत्रलाई दिएको यो उच्च मान्यता हो । यसले विश्व सहकारी अभियानलाई थप सशक्त बनाउने अपेक्षा र विश्वास गर्न सकिन्छ ।

विश्व सहकारी समुदायले प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय वर्ष पुगेको ऐतिहासिक अवसरमा राष्ट्र संघले सन् १९९५ देखि प्रत्येक जुलाई महिनाको पहिलो शनिवारलाई संयुक्त रष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

अभिलेख

लोकप्रिय