१७ जेठ २०८३, आईतवार

सहकारी महासंघको विज्ञ समूहको बैठकमा के भयो छलफल?

२०८१ पुष ४, बिहिबार
सहकारी महासंघको विज्ञ समूहको बैठकमा के भयो छलफल?

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा गठित विज्ञ समूहको पहिलो बैठक २०८१ पौष ४ गते महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न भएको छ ।

महासंघको सचिवालयले २०८१ जेष्ठ १५ गते बसेको बैठकको निर्णयअनुसार महासंघको इतिहासमा पहिलो पटक सहकारी क्षेत्रका चुनौतीहरू पहिचान गर्दै समाधानका उपायहरूबारे सल्लाह सुझाव लिने उद्देश्यले विज्ञ समूह गठन गरिएको हो ।

बैठकको शुरुआत गर्दै महासंघकी अध्यक्ष मल्लले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका चुनौती र त्यसलाई समाधान गर्न आवश्यक पहलबारे जानकारी गराएकी थिईन । साथै, महासंघले अहिलेसम्म गरेका बहस, पैरवी र अन्य क्रियाकलापका विषयमा चर्चा गर्दै, यी प्रयासहरूलाई थप प्रभावकारी बनाउन विज्ञ समूहको भूमिका महत्वपूर्ण हुने बताईन । बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल स्वागत मन्तव्य राखेका थिए।

बैठकमा सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशीराज दाहाल, अधिवक्ता हिमा बस्नेत भट्टराई, राष्ट्रिय किसान आयोगका पूर्व सदस्य रविन्द्र केसी, नेपाल सरकारका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र शंकर पाण्डे, अर्थविद् डा. चन्द्रमणि अधिकारी र सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीले सहभागिता जनाएका थिए । विज्ञहरूले महासंघले आगामी दिनमा अवलम्बन गर्नुपर्ने कदमबारे सुझाव प्रस्ताव गरेका थिए ।

महासंघले सहकारी अभियानको उद्देश्य, प्राथमिकता र भावी योजनाबारे स्पष्ट पोजिसन पेपर तयार गरी सार्वजनिक गर्नुपर्ने सुझाव विज्ञ समूहबाट प्राप्त भएको छ । सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समयसापेक्ष ऐन, नियम र नीतिहरूको संशोधन र कार्यन्वयनका लागि बहस र पैरवी गर्नुपर्ने, सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्ने, देशका ठूला सामाजिक, आर्थिक समस्याहरू समाधान गर्न सहकारीले खेल्न सक्ने भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिइएको थियो ।

महासंघकक उपाध्यक्ष खेम पाठकले विज्ञ समूहबाट प्राप्त सुझावहरूलाई महासंघको भावी कार्ययोजनामा समावेश गरी प्रभावकारी कदम चालिने प्रतिवद्धता जनाए।

उपाध्यक्ष डिबी बस्नेत तथा सञ्चालक टेकप्रसाद चौलागाईको उपस्थिति थियो । महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको हालको अवस्था र गतिविधिहरूबारे प्रस्तुति दिँदै महासंघको सुदृढीकरणका लागि थप पहल आवश्यक रहेकोमा जोड दिईन।

विज्ञ समूहको यो बैठकले सहकारी क्षेत्रका विविध चुनौतीहरूको पहिचान र समाधानका उपायबारे ठोस मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ ।

अभिलेख

लोकप्रिय