२१ भदौ २०८३, आईतवार

गृहिणी सेवा साकोसको १५औं साधारण सभा सम्पन्न

२०८१ भदौ २४, सोमबार
गृहिणी सेवा साकोसको १५औं साधारण सभा सम्पन्न

काठमाडौं : पुरानो नैकाप स्थित गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमको अध्यक्षतामा भएको सभाले विभिन्न प्रतिवेदनहरु उपर छलफल गरी पारित गरेको छ ।

सभामा संस्थाका सचिव कृपा के.सी.ले आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को कार्ययोजना प्रस्तुत गरेका थिईन । त्यस्तै कोषाध्यक्ष सरस्वती घिमिरेले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८१/८२ को अनुमानित आय व्यय प्रस्तुत गरेका थिईन । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक शान्ति पराजुलीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाले पारित गरेको छ ।

आ.व. २०८०/०८१ मा संस्थाको सेयर पुँजी ९७ लाख ४ सय रुपैयाँ रहेको छ । त्यस्तै बचत ५ करोड १२ लाख, लगानी ४ करोड ६१ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ । प्रतिवेदन अनुसार संस्थाले यस अवधिमा ८८ लाख ६० हजार रुपैयाँ आम्दानी गरी ६३ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिमा संस्थाले १२ लाख ५६ हजार मुनाफा आर्जन गरेको छ ।

यस संस्था नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम कब्र्समा आवद्ध छ । संस्थाले बचत तथा ऋणको कारोबारसँगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत गर्दै आएको छ । संस्थाले गत आर्थिक वर्षमा वनभोज, विस्तारित मञ्च, वित्तीय साक्षरता कार्यक्रम, तीज कार्यक्रम, सुत्केरी भेट, नव दम्पत्ति भेट, जेष्ठ सदस्य सम्मान लगायतका सम्मानका कार्यक्रमहरु समेत गर्दै आएको छ ।

सभामा संस्थाकी अध्यक्ष गौतमले भेटघाट र दुःखसुख साटासाट गर्ने मनसायबाट २०६२ सालमा बनेको समूहबाट गृहिणी सेवा साकोस बनेको बताईन । संस्था यस क्षेत्रकै विश्वासिलो र व्यवस्थित सहकारी बन्दै गएको समेत उनले दाबी गरिन् ।

गृहिणी सेवा सहकारी सञ्चालक तथा सदस्यहरु सूक्ष्म रुपले सहकारी विकासमा सहकार्य, इमान्दारिता, ऐक्यबद्धता, प्रतिबद्धता र जवाफदेहितालाई आत्मसात् गर्दै आएको उनको भनाई छ ।

संस्थाकी अध्यक्ष शोभा भट्टको सभापतित्वमा सम्पन्न साधारण सभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरु, चन्द्रागिरि नगरपालिका वडा नं. १३ र १४ को वडा अध्यक्ष लगायतको आतिथ्यता थियो ।

अभिलेख

लोकप्रिय