२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी महासंघद्वारा नीति तथा कार्यक्रमको स्वागत, पर्याप्त बजेट विनियोजन गर्न माग

२०८१ जेठ २, बुधबार
राष्ट्रिय सहकारी महासंघद्वारा नीति तथा कार्यक्रमको स्वागत, पर्याप्त बजेट विनियोजन गर्न माग

काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रमको स्वागत गरेको छ ।

संघीय संसदको मंगलबारको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेकोमा महासंघले नेपाल सरकारप्रति आभार समेत प्रकट गरेको छ ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै लामो समयको प्रतिक्षापछि सहकारी क्षेत्रले उठाएका चासोलाई सरकारले ल्याएका नीति तथा कार्यक्रममा गम्भीरतापूर्वक सम्बोधन भएकोमा खुशी व्यक्त गरेको छ ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी आर्थिक वर्षमा पछिल्लो समयमा देखा परेका चुनौतीहरू सामना गर्न सहकारीको सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत निकायको स्थापना गर्ने नीतिले नेपालको सहकारी अभियानलाई दिगो, मर्यादित र सहकारी अभियानको सुशासनलाई सुदृढ पार्ने अपेक्षा राखेका छौं । साथै, सरकारले सहकारी क्षेत्रका लागि यस वर्षको थीम सहकारीमा सुशासनः प्रविधि र एकीकरण लाई सराहनीय रूपमा सम्बोधन गरेको छ । सहकारीको बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र जस्ता प्रमुख संयन्त्रहरूको स्थापना गर्ने तथा बचत तथा ऋणका सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने नीतिहरूले सहकारी क्षेत्रको वित्तीय स्थायित्व र लचिलोपनलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धतालाई महासंघ हार्दिक स्वागत गर्दछ ।’

साथै, सहकारी नीतिलाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने सरकारको प्रतिबद्धता यसको उत्तरदायित्व र दूरदर्शिताको प्रमाण हो भन्ने अभियानको बुझाई रहेको समेत विज्ञप्तिमा जानकाएको छ ।

महासंघले सहकारी अभियानकोतर्फबाट नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग अपिल समेत गरेको छ।

अभिलेख

लोकप्रिय