नेफ्स्कून: गतिलो छाता होस् !
भोला खतिवडा
मुलुकभर छरिएर रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था हो, नेफ्स्कुन । २०४५ साल श्रावण ३२ गतेका दिन बचत समूह राष्ट्रिय संघ तदर्थ समिति भएको रहेछ । सोही दिनलाई आफ्नो स्थापना दिवस मानिरहेको छ । उमेरको हिसाबले यो संस्था परिपक्व देखिन्छ । ३६ वर्षे संस्थागत जीवनमा हालसम्म ३२ वटा साधारण सभा सम्पन्न गरिसकेको छ । सहकारी ऐन २०४८ ले सहकारी अभियान वैधानिकता दियो । अहिले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ तयार भई कार्यान्वयनमा आइरहेको छ । मुलुक भर ३० हजारको हाराहारीमा सहकारीहरु दर्ता भएका होलान् ती मध्ये धेरै सहकारीहरु बचत तथा ऋण नै छन् । बचत तथा ऋण सहकारी संस्थालाई छोटकरीमा ‘साकोस’ भन्ने चलन छ । यस संघले संस्थापकदेखि हालसम्म ७ जना अध्यक्ष पाईसकेको छ । संस्थापक अध्यक्ष भोजराज घिमिरे अनी क्रमसः कैलाशभक्त प्रधानाङ्ग, मिनराज कंडेल, ऋषिराज घिमिरे, डिबी बस्नेत, परितोष पौड्यालले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । यस सभाबाट चन्द्र ढकालले जिम्मेवारी पाएका छन् ।
चुनावी सभा
उद्घाटन सत्रमा धेरै लामो नभए पनि जाँगर लगाउने खालको थिएन । हलको क्षमताले छनौट भएका प्रतिनिधि अटाउने कुरा पनि भएन । अन्य साधारण सभामा धेरै आउँदैनथ्ये होलान् । यस पटक चुनाव नै हुन्छ भन्ने हल्ला व्यापक थियो । त्यसैले बाक्लो उपस्थीति थियो । कोचाकोचमा उद्घाटन सत्र चल्यो । निर्वाचनको रौनक चलिरहेको थियो । टिम बनाउने, टिममा अटाउने हटाउने हल्ला चलिरहन्थ्यो । तथापी उद्घाटन सत्र चल्यो । बन्द सत्र सुरु भए । प्रतिवेदनको वाचनको प्रकृया अनी त्यसलाई पारित गर्ने औपचारिकता हुने नै भए ।
दोस्रो दिन, चुनावको दिन । हामी प्रतिनिधिहरु बीच २ वटा समूहको फोटो सहितको रङ्गिन पर्चा आयो । परितोष पोड्याल र चन्द्रप्रसाद ढकालको टिम । ५ जना मुख्य पदाधिकारीसहित १९ जनाको सञ्चालक समिति र संयोजकसहित ३ सदस्य लेखा सुपरिवेक्षण समितिको अलग अलग टिम थियो । पूरै प्यानल थियो । राजनीतिक दलको हिसाब गर्ने हो भने प्रतिपक्ष नेकपा एमालेको एक टिम सत्ता गठनबन्धनवाला दलहरुको अर्को टिम चुनावी मैदानमा उत्रिए । केही स्वतन्त्र उम्मेदवारहरु पनि थिए ।
लाज शरम हराई सक्यो रे !
लामवद्ध भै मत दिन बस्दा कुराकानी रोचक सुनिन्थ्ये । छाता संस्था त हो तर पानी पर्दा छाता भेटिन्न । छाता भेटेर खोली हाले पनि करङ्ग मात्र हु्न्छ । पानी छेक्दैन भन्ने कुरा चले । त्यस्तै लाइनमा बसी रहँदा पालो मिचेर घुस्ने र घुसाउने असाध्यै चल्यो । तपाइ जस्तो प्रतिष्ठीतले पालो मिच्दा सुहाउला त ? भन्ने प्रश्न गरियो । यसो गर्नु राम्रो हैन नी भन्दा थेतर भएर बसे । एक जनाले आफ्नो विश्लेषण सुनाए ‘सहकारीका अगुवा यस्ता भए की शेयर सदस्यले गाली गरेर सवै कुरा पचाउने भैसके, लाज शरम भन्ने हराइ सक्यो रे’ ।
अनुहार र नाम मन पर्नेलाई मत !
सञ्चालक समितिमा उपाध्यक्ष र सञ्चालक ३ पद महिलाकोलागि सुरक्षित थियो । अर्थात आरक्षित थियो । अनी सात प्रदेशबाट एक, एक सञ्चालक भूगोलकालागि सुरक्षित गरेको देखिन्थ्यो । कर्णालीका सञ्चालककालागि कोशीका प्रतिनिधिहरुले पनि भोट हाल्ने व्यवस्था थियो । यो असाध्यै अव्यवहारिक देखियो । जुन भुगोलबाट प्रतिनिधि पठाउने हो त्यही भूगोका प्रतिनिधिहरुले मात्र मत दिने व्यवस्था हुनु पर्ने हो । यो तरिकाले त केन्द्रमा बस्ने जिल्ला जिल्ला घुम्ने मिडियामा छाउनेले मात्र चुनाव जित्ने देखियो । आफ्नो भुगोलमा खट्नेलाई अरु प्रदेशका प्रतिनिधिले कमै चिनेका हुन्छन् ।
भोट हाल्नु पर्ने २२ जनालाई हुन्थ्यो । उनीहरु सवैलाई चिन्ने कमै प्रतिनिधि हुँदा रहेछन् । कसरी भोट हाल्ने ? प्यानलै हालौ भने पनि स्थानीय निर्वाचनमा सात छाप झ्याप झ्याप गरे जस्तो हुदैनथ्यो । मिसमास हुन्थ्यो । लाइन बसेकै बेलामा अर्को एकजनाले आफ्नो तरिका बताए ‘मान्छे चिनेका जतीलाई हाल्ने, वाँकी आफ्नो थर मिल्नेलाई नछुटाउने अनी अनुहार र नाम मन परेकोलाई हाल्ने’ ।
सायद भोट हाल्नकै लागि ६ घण्टा भन्दा समय खर्च गर्नु परेको थियो । व्यवस्थापकीय ध्यान नपुर्याउँदा कठिनाइ भैरहेको देखिन्थ्यो । नाम भिडाउने क्रममा एकले अर्कोको नाममा सहि गरेर हिडेको समेत भेटियो । राती अबेरसम्म भोट हाल्ने काम चलिरह्यो । मध्यरातमा चुनावी नतिजा सार्वजनिक भयो । प्यानलै जित र हार भएनछ । पौडेल समूहको अधिकांश विजय भए तर अध्यक्ष र कोषाध्यक्ष ढकाल समूहकाले जितेछन् । स्वतन्त्र उठ्नेको जित हुने संभावना यो निर्वाचनले टारिदिएछ । २ हजार २ सय ४९ मत खसेछ । अध्यक्ष चन्द्र प्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव घनश्याम अधिकारी र कोषाध्यक्ष दिपक थापा र १४ जना सञ्चालक चयन भए । त्यसै गरी इन्द्रराज ज्योती पौडेलको संयोजक ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको पाइयो ।
यस पटक नेतृत्व चयनको सन्दर्भमा निर्विरोध वा सहमती भन्ने शव्दावली सुन्न पाइएन । सहकारीका शेयर सदस्य अनुसारको समावेशी अवस्था पनि देखिएन । सहकारी अभियान भनेको लिङ्ग, भुगोल, वर्गिय, जातीय र शारिरीक अवस्था समेतको आधारमा समावेशी छ । त्यो रुप छाता संस्था नेफ्स्कुनमा पनि देख्ने चाहान धेरैको छ तर वैधानिक व्यवस्था नहुँदा आकासको फल नैं हुने भयो ।
यसो गरे कसो होला?
संघमा प्यानलै बनाएर निर्वाचनमा भिड्ने चलन अब चलि गयो । अबको निर्वाचनमा यती धेरै प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला गर्ने पद्धती फेर्नु पर्ने देखिन्छ । नीति तथा कार्यक्रममा चासो नहुने चुनावमा मात्र केन्द्रीत हुन थाल्यो । त्यसैले नीति सभा र निर्वाचन पद्धतीलाई अलग अलग बनाउनु सान्दर्भिक हुन्छ । नीति साधारण सभामा जिल्लागत रुपमा प्रतिनिधिहरु चयन गरी प्रतिनिधिमूलक गराउने अनी निर्वाचनमा चाँही हरेक जिल्लामा गराउने प्रकृया थाल्दा राम्रो हुनसक्नेछ । हरेक जिल्लामा नसकिए प्रदेश स्तरमा गर्दा पनि हुने थियो । यती धेरै प्रतिनिधि काठमाडौंमा भेला गराएर गर्ने काम भनेको त्यही भोट हाल्ने जस्तो मात्र देखियो । अहिलेको यो प्रकृया सङ्घीयताको मर्म पनि होइन । मूलुकभरबाट आएका प्रतिनिधिहरुको खर्चको भार सहकारी अभियानमा पर्ने नैं भयो । यसको मतलब शेयर सदस्यहरुको रकमबाट खर्च हुने त हो ।
जालो फराकिलो पारौं
जालो अझै ठुलो पार्नु आवश्यक छ । १३ हजार भन्दा बढि साकोस होलान् । त्यसमध्ये ४ हजार ६ सय ६० नेफ्स्कुनमा आवद्ध भएका रहेछन् । २ हजार ६ सय ४८ बटा साकोस नविकरण भएछन् । मतदान २ हजार २ सय ४९ ले गरेछन् । किन यस्तो भयो? गम्भिर समिक्षा गर्न जरुरी छ । यस सभामा आएका कतिपय प्रतिनिधिहरुले यस संघको सदस्यता त्याग्ने निर्णय गर्नु पर्यो भनेको पनि सुनियो । सदस्य हुँदा र नहुँदाको भिन्नता के हुन्छ? भन्ने कुरा महशुस हुने काम भएको रहेनछ भनेर बुझ्न सकिन्छ । जालो साँगुरो भएर नै होला सरकारी निकायले नटेरेको हो की? सञ्जाल फराकिलो हुन जरुरी छ । छाता खोज्दै ओत लगाउन आउने बनाउनु पर्दछ । साकोसहरु संघ खोज्दै आउने वातावरण तयार गर्न सक्नु पर्दछ । अहिलको युगमा तागत वा शक्ति दुई कुरामा देखिन्छ । एक पैसामा दोस्रो संगठनमा । यी दुबै कुरा सहकारी अभियानमा छ । यसको सदुपयोग गर्न सक्नु पर्दछ नेफ्स्कुनले ।
मूल मर्ममा ध्यान जाओस्
अरुले गर्न नसक्ने तर नेफ्स्कूनले मात्र गर्न सक्ने काममा बढि ध्यान दिनु पर्दछ । अरुले पनि गर्न सक्ने कामलाई सहायक मात्र बनाउनु पर्दछ । नेफ्स्कुनले पैरवीमुखी काम गर्नु पर्दछ । त्यो अरुले गर्न सक्दैन । पैसाको व्यापार त अरुले पनि गर्दछन् । त्यसैले यसलाई सहायकमा राख्नु पर्दछ । साकोस अभियानलाई उत्पादनमुखी, उद्यमशिलतामा लैजानमा क्षमता विकासमा काम गर्नु पर्दछ । धेरै साकोसहरु बैंकक जस्ता देखिएका छन् । सहभागीतामूलक हुन सकेका छैनन् । सहकार्यको मर्म भाग्दैछ । सहकारीका साधारण सभाहरु कर्मकाण्डी मात्रै भैरहेका छन् । सहकारीका साधारणसभा भनेको खाजा खर्च बुझ्ने दिन भनेर चिनिँदै छ । सहकारी ‘भागे’ भन्ने भाष्य निर्माण भैरहेको छ । अभियान कहिल्यै भाग्दैन । केही सिमित सञ्चालकले गरेको गल्तीको कारण अभियान नैं बद्नाम हुँदैछ । सचेत हुनु पर्ने छ ।
सहकारीको मर्म अनुसार नचलेका र चल्न नसक्ने साकोसलाई कारबाहीको वातावरण तयार गर्न संघ डराउनु हुँदैन । एक कुहिएको आलुले बोराभर नोक्सानी पुर्याउनु हुन्न । सकेसम्म कुहिएकोलाई उपचार गर्ने तर नसक्ने नैं अवस्था छ भने त्यसलाई फाल्नु पर्ने पनि हुनसक्छ । सहकारी ऐनमा लेखिएका साकोस अभियानलाई हित हुने विषयहरु कार्यान्वयनमा आएका छैनन् । खास गरी करको सन्दर्भमा ऐनमा भएको व्यवस्था र व्यवहारमा फरक भैरहेको छ । त्यसमा छाता संस्थाले भूमिका खेल्नु पर्दछ । प्रतिनिधिहरुले भने झै छाता खोल्दा करङ्ग मात्र देखिने पानी नछेक्ने हुनु भएन । अनी छाता सधैं चाहिने पनि हैन । चुनौतीको बेलामा चाहिने हो । छाता साथमा छ भने आत्मबल वढ्छ । काममा जोश जाँगर थपिन्छ । ‘कानून राम्रो भए कार्यान्वयन गर, छैन भने बनाउ, राम्रो छैन भने सच्याउ’ भन्नु पर्दछ । यसमा नेतृत्व पनि गर्नु पर्दछ । तब, सहकारी अभियान तपाइको साथमा रहनेछ । करङ्ग मात्र भएको छातामा कोही पनि ओत लाग्न आउँदैनन् । ‘नेफ्स्कून’ ओत लाग्न लायक छाता बन्न सकोस् । शुभकामना ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार