सहकारी काण्डमा एमालेका नेता तथा युवा संघका उप-महासचिव कारागार चलान
कास्की : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय उप-महासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित सूर्यदर्शन सहकारीका सञ्चालक भविश्वर अर्याललाई थुनामा पठाउन आदेश भएको बताए । उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका दुवै जना मंगलबार अदालतमा हाजिर भएका थिए ।
गुरुङ स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए । कास्की मादी गाउँपालिका वडा नम्बर १० स्थायी घर भएका ३९ वर्षीय गुरुङ हाल पोखरा महानगरपालिकाको वडा नं. १२ मा बस्दै आएका थिए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् । उनले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० घर भएका सञ्चालक समिति सदस्य अर्याल सूर्यदर्शनकै आइटी प्रमुख हुन् ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरू पुर्पक्षका लागि जिल्ला कारागार चलान भइसकेका छन् । सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा अझै १५ जना फरार छन् ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीवी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढा मगरविरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
