२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: त्रिदलीय गठबन्धनबीच पद बाँडफाँड टुङ्गोमा

२०८० पुष ५, बिहिबार
नेफ्स्कून निर्वाचन: त्रिदलीय गठबन्धनबीच पद बाँडफाँड टुङ्गोमा

काठमाडौं : नेफस्कूनको आगामी आइतबार हुने निर्वाचनका लागि त्रिदलीय गठबन्धन सहमति भएसँगै पद बाँडफाँडको विषय पनि लगभग टुङ्गो लागेको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट सहकारीकर्मीबीच गठबन्धनको साझा उम्मेदवारको रुपमा अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाललाई अघि सार्ने सहमति आज भएको थियो । सोही सहमति लगत्तै तीनै दलका प्रतिनिधिहरुबीच पदको छिनोफानो पनि भएको श्रोतले जानकारी गराएको छ । तीनै दलबीच भोली (बिहीबार बिहान ९ बजे एक कार्यक्रमबीच) साझा उम्मेदवारको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

सहमती पत्रमा हस्ताक्षर गरेसँगै दल निकटका सहकारीकर्मीहरु उम्मेदवार छनोटमा व्यस्त छन् । सहकारी खबरलाई प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र लेखा समिति संयोजक पाउने सहमति भएको छ । त्यस्तै सञ्चालकमा ६ जना पाउने आन्तरिक सहमति भएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा समिति सदस्य १ र सञ्चालक सदस्य पाउने भएको छ । यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कोषाध्यक्ष, लेखा समिति सदस्य १ र सञ्चालक ३ पाउने सहमति भएको छ । त्यस्तै नेपाल मदजुर किसान पार्टी निकट सहकारीकर्मीको लागि १ जना सञ्चालक छुट्याईएको छ ।

यस्तै, स्वतन्त्र रुपमा आउनेलाई नेपाली कांग्रेसको कोटाबाट १ सञ्चालन दिने बुझिएको छ । स्रोतका अनुसार भोलि बिहान ९ बजे अध्यक्ष पदको उम्मेदवारको मात्रै घोषणा गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सबै दल निकट सहकारीकर्मीलाई बोलाईएको छ । भोली दिउँसोसम्म सम्पूर्ण उम्मेदवारको नाम टुंग्याई बेलुकासम्ममा उम्मेदवारको नाम सार्वजनिक गरिने छ । उम्मेदवारको परिचयात्म कार्यक्रम पनि भोलीनै राखिने छ । शुक्रबार नेफ्स्कूनको साधारण सभा नै भएका कारण भोलि बेलुकासम्म सम्पूर्ण नाम टुंगोमा पुर्याई चुनावी प्रचारप्रसारमा उत्रिने तयारी रहेको बुझिएको छ ।

विनियम अनुसार नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एक/एक जना चुनिन्छन्  । वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित हुन्छन् । सञ्चालक समितिमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य समितिमा आउनुपर्छ । चार जना सञ्चालक खुलाबाट निर्वाचित हुन्छन् भने तीन जना सञ्चालक महिलाका लागि आरक्षण गरिएको छ । त्यस्तै तीन सदस्यीय लेखा समितिमा एक जना महिला अनिवार्य गरिएको छ ।

साथै सहकारी ऐन २०७४ ले सञ्चालक समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

अभिलेख

लोकप्रिय