२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कूनको सञ्चालक बन्न प्रारम्भिक संस्थामा पदाधिकारी भई काम गरेको हुनुपर्ने

२०८० मंसिर २०, बुधबार
नेफ्स्कूनको सञ्चालक बन्न प्रारम्भिक संस्थामा पदाधिकारी भई काम गरेको हुनुपर्ने

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा यतिबेला चुनावी सरगर्मी बढेको छ । पुष ७ र ८ गतेका लागि तय भएको ३२ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

नेफ्स्कून परिवारमा मात्रै नभएर राजनीतिक दल, अभियानकर्मीहरुमा समेत चुनावी सरगर्मी बढेको छ । आफ्नो पक्षमा नेतृत्व हत्याउन शक्ति केन्द्र धाउने, सदस्यसँग राय सुझाव र भोट माग्ने, अरुलाई कमजोर देखाउने, चुनावको लागि आवश्यक खर्चको चाँजोपाँजो मिलाउन उनीहरु व्यस्त छन् ।

नेफ्स्कूनको विनियम २०५० (संशोधन सहित) अनुसार सभाले १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गर्दैछ । विनियम अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १९ जना सदस्य सञ्चालक समिति रहने व्यवस्था छ । त्यस्तै लेखा समिति संयोजक र २ जना सदस्य रहने व्यवस्था विनियमले गरेको छ । विनियमले उपाध्यक्ष वा बरिष्ठ उपाध्यक्ष मध्ये एक महिला अनिवार्य गरेको छ ।

पछिल्लो समय नेफ्स्कून सञ्चालक समितिको योग्यताको विषयले चर्चा पाएको छ । संघीय सहकारी विभागले कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन पाउने स्पष्ट गरिसकेको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) कार्यान्वयन गर्न विभागले नेफ्स्कूनलाई पत्राचार समेत गरेको छ । कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने विभगले प्रष्ट पारेको छ ।

यति मात्र नभई पदाधिकारी वा लेखा सुपरीवेक्षण समितिको संयोजक हुन नेफ्स्कुनको सञ्चालकमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै नेफ्स्कूनको सञ्चालक वा लेखा समिति सदस्य हुनको लागि प्रारम्भिक संस्था (नेफ्स्कूनको सदस्यता लिएको सहकारी संस्था मात्रै) मा कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको हुनुपर्ने व्यवस्था छ ।

नेफ्स्कूनको पदाधिकारी वा सञ्चालक बन्न कालो सूचिमा नपरेको हुनुपर्ने निर्वाचन निर्देशिका २०७० (संशोधन २०७६) मा उल्लेख छ । यदी कालो सूचिमा परेको भए सूचिबाट हटी सफाई पाएको कम्तीमा ३ महिना पूरा भएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै सहकारी संस्थाबाट लिएको ऋणको भाका ननाघेको समेत हुनुपर्ने व्यवस्था नेफ्स्कुनको निर्वाचन निर्देशिकामा उल्लेख छ ।

अभिलेख

लोकप्रिय