२३ कात्तिक २०८३, सोमबार

कोशी प्रदेशको ४ बुँदे निर्देशन: सहकारी सञ्चालकले सम्पत्ति र ऋणको विवरण पेश गर्नुपर्ने

२०८० मंसिर १८, सोमबार
कोशी प्रदेशको ४ बुँदे निर्देशन: सहकारी सञ्चालकले सम्पत्ति र ऋणको विवरण पेश गर्नुपर्ने

सुनसरी : प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशले सहकारी संस्थालाई ४ बुँदे निर्देशन जारी गरेको छ । निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले आईतबार नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ/संस्थाहरुको लागि निर्देशन जारी गरेका हुन् ।

संघीय सहकारी विभागले कात्र्तिक २४ गते जारी गरेको निर्देशनकै आधारमा कार्यालयले क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थालाई निर्देशन जारी गरेको हो ।

संघीय सरकारले सबै प्रदेश र पालिकाहरुलाई निर्देशन जारी गर्न पत्राचार गरेको थियो । सोही आधारमा प्रदेश रजिष्ट्रार कार्यालयले निर्देशन जारी गरेको हो ।

निर्देशन अनुसार सबै सहकारी संघ/संस्थाहरुले २०८० मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ती लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गर्नुपर्ने भएको छ ।

त्यस्तै २०८० चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना २०८० साल पौष मसान्तभित्र पेश गर्ने जनाएको छ ।

२०८० साल पौष मसान्तभित्र संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण तथा ऋणको विवरण छुट्टा छुट्टै पेश गर्नुपर्ने जनाएको छ । पदाधिकारी,कर्मचारीले लिएको ऋणको विवरण समेत पेश गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

त्यसैगरी सबै सहकारी संघ/संस्थाहरुले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा तोकिए बमोजिमका विवरण प्रविष्टी गर्नुपर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय