३ वैशाख २०८३, बिहिबार

सहकारी क्षेत्रको सुधारमा नियमन र स्व:अनुशासनको अपरिहार्यता

२०८० मंसिर १४, बिहिबार
सहकारी क्षेत्रको सुधारमा नियमन र स्व:अनुशासनको अपरिहार्यता

– डा. दामोदर रेग्मी

सहभागितामूलक विकास र समुदायमा अधारित विकासलाई सार्थकता प्रदान गर्ने व्यवहारिक अभ्यासमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । स्थानीय रुपमा छरिएर रहेका पूँजीको परिचालनद्वारा स्थानीय साधन स्रोत र प्रविधिको परिचालन गरि स्थानीय आवश्यकताको सम्बोधन गर्न सहकारी क्षेत्रको सदा सर्वदा महत्वपूर्ण योगदान रहदै आएको छ । देशको  सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको छ । सहकारी बिस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको छ। मानव विकास सूचांकमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको छ । सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पुर्याएको छ । स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको छ । सहकारीको माध्ययबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन पनि सहकारीले भूमिका खेलेको छ।

अर्थतन्त्रमा सहकारी बलियो खम्बा र सुखी नेपाल सम्मृद्ध नेपाल निर्माणमा महत्वपूर्ण टेवा पुगेको छ । दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी रहेको देखिन्छ । सहकारी क्षेत्र सामजिक अर्थतन्त्रको सवलीकरणद्वारा राष्ट्रिय अर्थतन्त्रको सवलीकरण गर्ने र सामाजिक न्यायको प्रबर्ध्दन गर्ने सामर्थ्य राख्ने बलियो संयन्त्र पनि हो । यसर्थ यो सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्र निर्माण गर्ने संयन्त्र पनि हो ।

सहकारी क्षेत्रले विकासका नवीनतम अवधारणा विशेष गरि दिगो विकास लक्ष्य प्राप्ति र यसको स्थानीयकरण तथा आन्तरिकीकरणमा समेत महत्वपूर्ण योगदान दिने सामर्थ्य राख्दछ ।

यस क्षेत्रले वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको छ । समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । तर, पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । सहकारी क्षेत्रको आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबार गर्दछ । बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबारकै प्राधान्यता रहेको छ ।  यस्ता कारोवारको   जोखिम न्यूनीकरणका उपकरणहरुको प्रयोग हुन नसक्नु  अर्को  कमजोरीको क्षेत्र हो । नियमन पक्ष कमजोर र आन्तरिक अनुशासनको परिपालनामा सजगता नदेखाउने सहकारी संस्थाहरुको सहकारी मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएको देखिएको छ ।

सहकारी संस्थाहरुमा स्व अनुशासनको परिपालना हुन नसकेको क्षेत्र एकै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन नसक्ने प्राबधानको पूर्ण कार्यान्वयन हुन नसक्नु पनि हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५)  कार्यान्वयन गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई सहकारी विभागले परिपत्र गरेको छ । उक्त दफामा एउटै व्यक्ति सहकारी संघ/संस्थाको दोहोरो पदमा बस्न नपाउने व्यवस्था छ ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’भन्ने व्यवस्था रहेको छ । यस प्रावधानको परिपालना गराउन हालै सहकारी विभागले सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वत: नरहने व्यहोराको निर्देशन जारी गरेको छ ।यसको परिपालना सहकारी संस्था र सञ्चालकहरुबाट हुनु जरुरी छ ।

केही सहकारी संस्थाहरुमा कायम हुन नसकेको संस्थागत र स्व अनुशासनको कारणले समग्र सहकारी अभियानमा जसरी प्रश्न उठेको छ यसमा सहकारी संस्था र संचालकहरु तथा नियामक निकायहरु संवेदनशील बन्नु अपरिहार्य छ । यसका लागि  सहकारी संघ/संस्थाहरूको सुसंचालन तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप सहकारी आन्दोलनलाई सशक्त बनाउँदै सहकारी संस्कृतिको निर्माण तथा उद्देश्य प्राप्तिका लागि बल पुर्याउन संघ/संस्थाको पदीय दायित्वमा रहने समिति/उपसमितिका सदस्यहरू, साधारण सदस्यहरू र कर्मचारीहरूको क्रियाकलापलाई जिम्मेवारीपूर्ण इमान्दार, अनुशासित, पारदर्शी सुशासन एवं मर्यादित बनाउन तयार गरिएको आचार संहिता र सहकारीमा सुशासनको अवधारणाको पूर्ण परिपालना हुनु आवश्यक छ । यसरी पालना गरिनु पर्ने क्षेत्रहरु निम्नानुसार रहेका छन् ।

सहकारिताका मूल्य, मान्यता र सिद्धान्तहरूलाई व्यवहारमा उतार्न र सहकारी संघ/संस्थालाई सशक्त रूपमा सुसंचालन गर्दै सहकारी आन्दोलनलाई प्रभावकारी र आदर्श बनाउने,

  सहकारी संघ/संस्थामा आवद्ध सदस्यहरूको व्यक्तिगत एवं सामाजिक क्रियाकलापलाई मर्यादित एवं आदर्श युक्त बनाउने,

  संघ/संस्थाका क्रियाकलापलाई नियमित, व्यवस्थित, अनुशासित एवं पारदर्शी बनाउदैं सुशासन र सहकारी संस्कृतिको निर्माण गर्ने ,

  सदस्य तथा पदाधिकारीहरूको काम कारवाही उत्तरदायी एवं जवाफदेही बनाउने,

  संघ/संस्थाको व्यवसायिक कारोवार तथा व्यवस्थापनमा सुधार ल्याउने ।

  सहकारी संघ/संस्थामा पदिय दायित्व वहन गर्ने सदस्यहरूलेसहकारी मूल्य, मान्यता, सिद्धान्तहरू तथा सहकारी ऐन, नियम, विनियम, नियमावली, निर्णय र सम्झौताको अनिवार्य पालना गर्नुपर्ने,

  दलगत राजनीति, धर्म, जात, जाति, लिंग, वर्ण, भाषा आदिका आधारमा भेदभाव रहित व्यवहार गर्नु पर्ने,

  संस्थाको व्यवसायिक कारोवारको सिलसिलामा कुनै किसिमको उपहार, दान, दातव्य, घुस, चन्दा आदि लिन÷दिन नहुने,

  संघ/संस्था तथा अन्य सरोकारवाला व्यक्तिहरूको स्वाभिमान तथा आदर्शको सम्मान गर्दै निस्पक्ष एवं समानताको आधारमा नम्र व्यवहार गर्नु पर्ने,

  नियम विपरित काम गराउनका लागि भनसुन गर्न, दवाव दिन र दवाव स्वीकार गर्न नहुने,

  आफ्नो दायित्व इमान्दारीपूर्वक समयमानै सम्पन्न गर्नु पर्ने र सम्बन्धित पक्ष/व्यक्ति/समूहलाई सहयोग गर्नु पर्ने,

  आफ्नो पदीय दायित्वको दुरूप्रयोग गरी व्यक्तिगत लाभ लिन वा दलगत राजनैतिक स्वार्थ पूर्ति गर्न नहुने,

  संघ/संस्थाको उद्देश्य अनुरूप कार्य योजनाहरूको तर्जुमा गरी कार्य संचालन गर्नु गराउनुपर्ने,

  जानी जानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संघ/संस्थाको आदर्श तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न हुन नहुने,

  संघ/संस्थासँग कुनै पनि प्रकारको सापटी लिन नहुने, बुझाउनु पर्ने पेश्की, ऋण/किस्ता समयमानै चुक्ता गर्नु पर्ने र कुनै पनि प्रकारको हिनामिनामा संलग्न हुन नहुने,

  संघ/संस्थासँग नियमित कारोवार गर्नु तथा सम्भव भएसम्म संघ/संस्थाबाट उत्पादित वस्तु र सेवाहरूको प्रयोगमा प्राथमिकता दिने,

  संघरसंस्थाको अहित हुने गरी प्रतिस्पर्धी हुने खालको कुनै व्यक्तिगत व्यवसाय वा कारोवार संचालन गर्न नहुने,

  साँस्कृतिक एवं पारिवारिक रितिरिवाज अनुसार सम्पन्न गरिने सामाजिक व्यवहारलाई शिष्ट, सामान्य र मितव्ययी बनाई समाजमा नमुनाको रूपमा रहन प्रयत्नशिल रहने,

  व्यक्तिगत लाभ आर्जन हुने गरी आफु आवद्ध रहेको संघ/संस्थासंग कुनै प्रकारको शर्त, सम्झौता, करार गरी कुनै ठेक्का, पट्टा वा योजना संचालन गर्न नहुने,

  राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघहरू तथा राष्ट्रिय सहकारी बैंकको पदिय दायित्वमा रहेको सदस्यहरूले आफु सम्बद्ध रहेको संघबाट व्यक्तिगत ऋण लिन नहुने,

  पदीय दायित्व वहन गर्ने सदस्यहरूले कुनै बैंक, वित्तीय संस्था तथा सहकारी संघ/संस्थामा भाखा नघाई ऋण नतिर्ने ऋणीहरूको सूचीमा सुचिकृत हुनु नहुने ।

  सहकारी संघ/संस्थाका सदस्यहरूले सहकारीका मूल्य, मान्यता, सिद्धान्त तथा सहकारी ऐन, नियम, विनियम, नीति निर्णयहरूको पूर्ण पालना गर्नु पर्ने,

  संघ/संस्थाको साधारण सभा तथा अन्य कार्यक्रमहरूमा सकृयतापूर्वक सहभागिता जनाउनु पर्ने,

  संघ/संस्थामा नियमित कारोवार गर्ने तथा संघ/संस्थाको व्यवसायिक कारोवारमा क्षमता अनुसार सहभागिता जनाउने,

  संघ/संस्थाको हैसियत प्रयोग गरी नाजायज फाईदा लिन नहुने,

  संघ/संस्थालाई बुझाउनु पर्ने पेश्की, ऋण, किस्ता तथा आफुले बुझाउन कवुल गरेको रकम तोकिएको समयमा नै भुक्तानी गर्नुपर्ने,

  सेवाग्राही सदस्य समेतलाई धर्म, जात, जाती, लि, वर्ण, भाषा, दलगत राजनीति आदिका आधारमा भेदभाव गर्न नहुने र हरेक व्यक्तिसंग नम्रता तथा आदरपूर्वक व्यवहार गर्नुपर्ने,

  प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संघ/संस्थाको उद्देश्य तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न हुन नहुने,

  संघ/संस्था बाट संचालन गरिन सामुदायिक विकास निर्माणका कार्यहरूमा आवश्यकता र निर्णय अनुसार सहयोग प्रदान गर्ने,

  सहकारी संघ/संस्थाबाट प्रदान गरिने सेवाहरू तथा उत्पादित वस्तुहरूको प्रयोग गर्ने बानी बसाल्ने ।

  वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले परम्परागत बैंकिंग अवधारणा अनुरुपको कार्य नगरी विशिष्ट बैंकिंग अवधारणा अनुरुपको कार्यमात्र गर्ने ।

  वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले सम्पत्ति शुध्दीकरणका संभावित जोखिम नियन्त्रण गर्न आवश्यक सचेतना अपनाउने ।

  सहकारी संस्थामा आन्तिरक नियन्त्रणको प्रभावकारी व्यवस्था मिलाउने ।

  सहकारी संस्थामा संस्थागत सुशासनको व्यवस्था मिलाउने ।

 

नेपाल सरकार अन्तरगतको सहकारी विभाग, प्रदेश र स्थानीय तहका सहकारी क्षेत्र हेर्ने निकायले सहकारी क्षेत्रलाई अनुशासनयुक्त र विश्वासिलो संस्था बनाउनमा आवश्यकता अनुसार नियमन र सहजीकरण गर्नु आवश्यक देखिन्छ । अर्थतन्त्रको एउटा खम्बा समुदाय सशक्तिकरणको प्रखर संभावना बोकेको र सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्रको धरोहरको रुपमा रहेको सहकारी अभियान समक्ष अब अभियानमा  भित्रिएका विकृतिहरुको नियन्त्रण गरि यसको साख र भूमिकालाई पुनर्जीवन दिनु आवश्यक छ । सहकारी संस्थाहरु र सञ्चालकहरु अनुशासनको आयाममा आफै अग्रसर र अनुकरणीय बन्नु आवश्यक छ। जसरी शरीर सफा राख्न टाउको देखिनै नुहाउनु पर्दछ त्यसरी नै नेतृत्वबाटै सदाचारितार अनुशासनको परिपालनाको शुरुवात हुनु आवश्यक छ साथै नियामक निकायहरुको पनि नियमन र अनुगमन क्षमता प्रभावकारी हुनु आवश्यक छ ।

(डा. दामोदर रेग्मी अर्थ र प्रशासनविद् तथा गीतकार हुन् )

 

 

 

 

अभिलेख

लोकप्रिय