सहकारी पीडितहरु भन्छन्, ‘सहकारी त भाग्यो नै, सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’
काठमाडौं : काठमाडौं महानगर, सहकारी विभाग पहिला बिजुलीबजारमा थियो । ०८० जेष्ठ १ गते त्यहाँबाट सरेर कमलादी गएको छ । कार्यालय सरेको यत्रो समय भएपनि पुरानै ठाउँमा पीडितहरु आफ्नो समस्या बोकेर आइरहेको देखिन्छ ।
सहकारी कार्यालयको पुरानो भवनमा कार्यालय यो ठाउँमा सरेर गएको भनेर सूचना टाँसिएको छैन । न त कुनै सम्पर्क नम्बर नै राखिएको छ । पुरानो कार्यालयसँगै एउटा चियापसल पनि छ । त्यहाँ दिनहुँ सयौं सहकारी पीडितहरु कार्यालय कुन ठाउँ गएको भनेर सोधपुछ गर्न आइपुग्छन् ।
पसले भने कसैलाई कमलपोखरी भन्छ न कसैलाई कमलादी । हिजो दिउँसो १२ बजे सोही चियापसलमा केही पीडितहरु कार्यालय कहाँ सरेर गयो भनेर सोध्न आइपुगे । करिब एक घण्टामा दुई दर्जनबढी पीडितहरु सोध्न आइपुगेका थिए । तर, चिया पसले बोल्न मन लागे मात्र बताउने र बताएपनि कुनैलाई कमलपोखरी र कुनैलाई कमलादी भन्दै थिए ।
त्यहाँ आएका अधिंकाश पीडितको एउटै गुनासो थियो, सहकारी भाग्यो, बचत फिर्ता गरेन । सहकारी त भाग्यो नै सहकारी कार्यालय समेत पहिलाको ठाउँमा नपाएपछि उनीहरुले यो पनि भाग्यो कि भनेर भन्न भ्याए । व्यापारव्यवसायी गर्नेहरु नयाँ ठाउँ आउनु परेमा पुरानो ठाउँमा नयाँ ठेगाना र सम्पर्कनम्बर लेखेर टाँसिदिन्छन् ।
यसले गर्दा सेवाग्राहीलाई सहज र सरल हुन्छ । तर, सरकारी कार्यालयले भने जहिल्यै सेवाग्राहीलाई दुःख मात्र दिने गरेको छ । नयाँ ठाउँ गएपछि न पुरानामा कुनै सुचना टाँसिदिन्छ न सम्पर्कनम्बर नै छोडिदिन्छ ।
बिजुलीबजारस्थित पुरानो सहकारी कार्यालयनजिक चिया पसल थापेका दोलखाका पसले भन्छन्, ‘दिनमा सयौं जना कार्यालय कहाँ सप्यो भनेर सोध्न आइपुग्छन् । अनि आफ्नो काम गर्नु कि उनीहरुलाई बताउनु?’ सहकारी कार्यालय हुँदा त्यो चिया पसल र वरपरका पसलहरुमा राम्रो व्यापार हुन्थ्यो ।
अहिले कार्यालय सरेपछि व्यापार पनि ठप्प भएको छ । जसले गर्दा व्यापारीहरु निराश र आक्रोश भएका छन् । व्यापार सुस्ताएपछि कार्यालय खोज्दै आउने पीडितमाथि व्यवसायीहरु रिस पोख्छन् । यो त एउटा उदाहरण मात्र हो । सरकारी कार्यालयको कमीकमजोरीका कारण जहिल्यै सर्वसाधारण जनताले दुःख, हैरानी भोग्नुपर्छ ।
दुई वर्षदेखि सहकारी कार्यालय, सहकारी विभाग, प्रहरी चौकी, स्थानीय तहलगायतमा सहकारीविरुद्ध उजुरी गर्नेको संख्या बढ्दो छ । मीनभवनस्थित सहकारी विभागमा पीडितहरु त्यत्तिकै संख्यामा उजुरी गर्न आइपुगेका हुन्छन् ।
स्थानीय तह र प्रहरी चौकीहरुमा पनि यस्तै छ । जोकोही सहकारीले भाग्यो, पैसा खाइदियो भन्छन् । कतिपय आफ्नो सहकारी नभागेपछि बचत फिर्ता नगरेको गुनासो गर्छन् । पीडितहरु घरजग्गा बेचेर, व्यापारव्यवसाय गरेर कमाएको, विदेश गएर कमाएको, साग बेचेर कमाएको पैसा सहकारीमा राखेको बताउँछन् ।
सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि करोडसम्म फसेको बताइन्छ । पीडितमध्ये एक थरी भन्छन्, ‘अब हाम्रो पैसा फिर्ता आउँदैन’, अर्कोथरी भन्छन्, ‘सरकारले केही गरेन ।’ पीडितपीडितबीच नै बहस चलेको छ । यता, विज्ञापन बोर्ड वा सरकारी निकायले हालसम्म सहकारीमा पैसा नराख्नुस् भनेर सचेत गराएको छैन ।
सहकारीका कारण करोडौं बचतकर्ताको रुवाबासी भएको छ । खर्बो रकम सहकारीले डुबाएको उनीहरुको दाबी छ । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम डुबाउँदा समेत सरकार मतलब गर्दैन । पीडितहरु भन्छन्, ‘अब कार्यालय तोडफोड गर्नुपर्छ । कार्यालयमा भएको सामान भएपनि बोकेर चित्त बुझनुपर्छ ।’
कतिपय पीडितहरु सहकारीले रकम फिर्ता नगरेपछि आफ्नो साथीभाइले कार्यालय तोडफोड गरी सामान समेत बोकेर ल्याएको बताउँछन् । वडा र नगरपालिकामा सहकारी सञ्चालन गर्न दिएका घरधनीहरु घर खाली गर्न लागिपरेको बुझिएको छ । अहिले घरधनीहरु घर खाली राख्न तयार छन् । तर, बैंक तथा सहकारी सञ्चालन गर्न दिदैंनन् ।
आफ्नो घर तोडफोड, आगजनी हुने डरले सहकारी र बैंकले जति महंगो भाडा लिर्छुभन्दा समेत घरधनीहरु भाडामा दिदैंनन् । पहिला मेनपावर सञ्चालन गर्ने भन्नासाथ घरधनीहरु घर भाडामा दिदैंन थिए । अहिले सहकारी, बैंक, लद्युवित्तलगायत वित्तिय संस्था सञ्चालन गर्ने भन्नेबित्तिकै घरधनीहरु घर भाडामा दिदैंनन् ।
जनता सबैभन्दा ठूलो हुन् । जनताले विश्वास गर्न छोडेमा सरकार पनि ढल्छ । अनि यो सहकारी, बैंक त को हो र ? सर्वसाधारणको बैंक र सहकारीमाथिबाट विश्वास हटिसकेको छ । सहकारीले तीन वर्षदेखि बचत फिर्ता नगर्दा समेत सरकारले मतलब गरेको छैन ।
बचतकर्ताले कुट्ने, पिट्ने, कालोमोसो ढल्ने वा प्रहरी चौकीमा बुझाउने डरले अधिंकाश सहकारीका सञ्चालक र कर्मचारी कार्यालय आउन छोडेका छन् । कतिपय त देशै छोडेर समेत फरार भएका छन् । बाटोमा हिँड्दा सहकारीको बोर्ड देखिन्छ । भित्र जाँदा भने कार्यालयको ढोकामा कि त ताल्चा झुण्डाएको हुन्छ कि कार्यालय नै सरिसकेको हुन्छ ।
बैंक, सहकारी र लद्युवित्त जनताबाट नङग्रिसकेको छ । यी संस्था जनतालाई सेवा दिन नभई ठग्न आएको पुष्टि समेत भइसकेको छ । सहकारीमा त जनताले बचत गर्न छोडिहाले । सँगै बैंक र लद्युवित्तमा पनि जनताले बचत गर्न छोडेका छन् । सहकारी भाग्नुको मुख्य कारण घरजग्गा, गाडी र सेयरको आएको मन्दी भनेर अधिंकाशले थाहा पाइसकेका छन् । अहिले घरजग्गा, गाडी र सेयर लगानीकर्ताको बिजोक छ । तीन वर्षअघि कित्ताको ५५ सय पुगेको सेयर अहिले बेच्दा तीन सय नआउने उनीको दुःखसो छ । त्यस्तै, आनाको ५५ लाखमा किनेको जग्गा अहिले लाखमा बिक्री नभएको पनि मानिसहरु बताउँछन् ।
घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छाएपछि सहकारीको भागाभाग सुरु भयो । बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । मीटरब्याजमा कर्जा प्रवाह गर्नुका साथै तीन किस्ता नतिर्नेबित्तिकै लाखमा करोडौंको धितो पचाएर सर्वसाधारणको उठीबास लगाउने बैंक, सहकारी र लद्युवित्तको बल्ल डुब्ने पालो आएको छ । भनिन्छ नि पाप गरेपछि त्यसको परिमाण पनि भोग्नुपर्छ ।
अब सर्वसाधारण जनताले बचत फिर्ता नपाएपछि सहकारी, बैंक र लद्युवित्तका कर्मचारीलाई कालोमोसो दलेर प्रहरी चौकी बुझाउने छन् । जति महंगो ब्याज दिन्छु भनेपनि बैंक तथा वित्तिय संस्थामा जनताले बचत गर्ने छैनन् । यी संस्था ठग, चोर र दलाल हुन् भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । ढिलै भएपनि सर्वसाधारणको आँखा खुलेको छ ।
रुषा थापा, भक्तपुर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
